Logo

कर्पोरेट-बजार

नेपालको हवाई क्षेत्रलाई इयूको कालोसूचीबाट मुक्त गराउछौं: मन्त्री तामाङ


GDP नेपाल
   ९ बैशाख २०८१, आइतबार


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले इयूको कालोसूचीबाट नेपालको हवाई क्षेत्रलाई मुक्त गराउन आफूले छलफल गरिरहेको बताएका छन् ।

‘नेपालको विमानलाई सिधै इयूमा प्रवेश गराउने गरी कार्ययोजना बनाउनुपर्छ भनेर सन्देश दिने हिसाबले मैले मन्त्रालयमा आउँदा बोलेको थिए । त्यसमा म अडिग छु । निजी क्षेत्रसँग सल्लाह सुझाव लिएका छौं । विज्ञहरुसँग पनि कुराकानी गरि सम्बन्धीत र सम्बद्ध सस्थाका पदाधिकारीसँग पनि कुराकानी गर्छौ,’ उनले भने ।

उनले इयूको कालोसूचीबाट नेपाली हवाई क्षेत्रलाई खुला गर्न नसके त्यसले सामरिक, आर्थिक र अन्य हिसाबले नकारात्मक असर पार्ने धारणा राखे ।

मन्त्री तामाङले मन्त्रालयमा विभिन्न व्यक्तिहरु भेटघाटको नाममा बजेटका लागि धाउने गरेकाले आर्थिक वर्ष ०८१।०८२ को बजेट निर्माणमा त्यसले प्रभाव पारेको पनि बताए ।

आइतबार मन्त्रालयमा पत्रकारसँग कुराकानी गरेका मन्त्री तामाङले आउने आर्थिक वर्षको बजेट निर्माणमा काम गरिरहेको बताए पनि मन्त्रालयले कार्ययोजना बनाउन नभ्याएको बताएका बताए ।

उनले बजेट निर्माणको पूर्वसन्ध्यामा सत्ता समीकरण फेरिएपछि प्रधानमन्त्री र केही मन्त्रीबाहेक अधिकांशजसो नयाँ मन्त्रीहरु आएकाले सिंहदरबारमा मन्त्रीसँग योजना लिएर बजेट माग्न आउनेको भीड लागेको बताए ।

मन्त्री तामाङले मन्त्रालयको कार्यक्षेत्र धेरैतिर फैलिएको (भेग) भएको उल्लेख गर्दै विभिन्न विभागहरुसँग बजेट निर्माणबारे प्रत्यक्ष अप्रत्यक्ष रुपमा नीतिगत र आवश्यक छलफल गरिरहेको जानकारी दिए ।

उनले भने, ‘पछिल्लो चरणमा प्रधानमन्त्री र केही मन्त्रीहरुबाहेक अरु सबै मन्त्रीहरु परिवर्तन भएको र तिनलाई भेटघाट गर्ने एवम बधाई दिने हिसाबले सिंहदरबारमा भीडभाड अलि बढ्यो । त्यही बिचमा बजेट माग गर्नेहरुको पनि भिडभाड बढिराखेको थियो। यी दुवै कारणले गर्दा भिडभाडमै हराउने खालको व्यस्तता बन्यो । जसका कारण योजना निर्माणको कुरालाई त्यसले प्रभाव पारेको छ ।’

मन्त्री तामाङले जेठ १६ गते प्रधानमन्त्रीलाई नै सगरमाथाको आधार शिविरमा पुर्याएर सगरमाथा दिवस मनाउने तयारी मन्त्रालयले गरिरहेको बताए ।

प्रकाशित : ९ बैशाख २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह