Logo

कर्पोरेट-बजार

व्यापार, लगानी प्रवर्द्धनका लागि जीटुजी स्तरमा नियमित संवाद गर्न आवश्यकः पूर्वअध्यक्ष राणा


GDP नेपाल
   ८ जेष्ठ २०८१, मंगलबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले व्यापार, लगानी प्रवर्द्धनका लागि नीतिगत सुधारका लागि जीटुजी स्तरमा नियमित संवाद हुन आवश्यक रहेको बताएकी छिन् ।

सोमबार काठमाडौंमा भएको बिमस्टेक क्षेत्रको विकास र समृद्धिको लागि क्षेत्रीय तालमेल विषयमा बिमस्टेकका महासचिवसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् । उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास भएको भन्दै यसले नेपाल, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्याण्ड र भारतलाई व्यापार, उद्योग र पारस्परिक हितका क्षेत्रमा सहकार्यका लागि ल्याउँने दाबी गरिन् ।

पूर्वअध्यक्ष राणाले विगत पाँच वर्षमा बिमस्टेक सदस्य राष्ट्रहरूले कोभिड–१९ महामारीले ल्याएको आर्थिक झट्कामा चुनौतीको सामना गरिरहेको बताइन् । उनले बिमस्टेक देशहरूमा भारत बलियो अर्थतन्त्रको रूपमा रहेको भन्दै बिमस्टेक सदस्यहरू सदस्य राष्ट्रहरूको व्यापार र आर्थिक अवसरहरूको दोहन गर्ने ’प्राकृतिक प्लेटफर्म’ मा परिणत भई सहजीकरण, समन्वय, लगानी र व्यापार अन्वेषण गर्ने सम्भावित देश हुन सक्ने बताइन् ।

उनले बिमस्टेक देशहरूबीचको क्षेत्रीय सहयोग र एकीकरणलाई गति दिन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् । बिमस्टेकलाई स्वतन्त्र व्यापार क्षेत्र बनाउन सबै सदस्य राष्ट्रले भने पनि यस सम्बन्धमा के प्रगति भयो निजी क्षेत्रले थाहा पाउन नसकेको बताइन् । राणाले सदस्य राष्ट्रहरूको हितका लागि स्वतन्त्र व्यापार क्षेत्र बनाउनलाई तीव्रता दिनु पर्ने बताइन् । उनले सदस्य राष्ट्रहरूले बिमस्टेक क्षेत्रभित्र आफ्ना वस्तु तथा सेवाहरू सहज रूपमा निर्यात गर्न नसकेमा निजी क्षेत्रका लागि दीर्घकालीन फाइदा नहुने बताइन् ।

राणाले नेपालको झण्डै दुई तिहाई व्यापार भारतबाट हुने र कोलकाता, हल्दिया, विशाखापट्टनम लगायत विभिन्न बन्दरगाहबाट नेपाललाई व्यापार सहजीकरणका लागि भारतले पनि सहयोग गर्दै आएकोले व्यापार तथा पारवहन सहजीकरणका लागि भारत अगाडि बढ्नुपर्ने बताइन् ।

उनले कार्गो आगमनमा शुल्क र ढिलाइ अझै अवस्थित रहेको भन्दै सही काम गर्न आवश्यक रहेको बताइन् । उनले बिमस्टेक क्षेत्रीय समूहमा भुटान र नेपाल बाहेक अन्य सबै देशहरू समुद्री मार्ग र लेनहरूबाट सीधा जोडिएकाले द्विपक्षीय वा त्रिपक्षीय सम्झौता गर्न आवश्यक रहेको बताइन् । नेपालले आफ्नो ऊर्जा उत्पादन बढाइरहेको छ । यो उदीयमान सम्भावित उत्पादन सदस्य राष्ट्रहरूलाई सौहार्दपूर्ण सम्झौतामा बेच्न सकियो भने यो क्षेत्रको आर्थिक समृद्धिको लागि सम्भावित गेम चेन्जर साबित हुने धारणा उनको छ ।

उप–क्षेत्र भित्र व्यापारको सहज प्रवाहको लागि यातायात जडान अर्को क्षेत्र भएको भन्दै सडक सञ्जालमार्फत नेपालको दक्षिणपूर्वी एसियासँगको सम्पर्क सदस्य राष्ट्रहरूबीच ठूलो सम्भावना रहेको उल्लेख गरिन् । उनले व्यापार, लगानी प्रवद्र्धनका लागि बिमस्टेक चेम्बर अफ कमर्सको स्थापना गर्न जरुरी रहेको बताइन् ।

उनले बिमस्टेक चेम्बर अफ कमर्सको स्थापनासँगै सदस्य देशहरुमा व्यापार र लगानी प्रवर्द्धनमा चेम्बरले सहजीकरण गर्ने उल्लेख गरिन् ।

प्रकाशित : ८ जेष्ठ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह