काठमाडौं। नेपालका लागी थाइल्याण्डका नवनियुक्त राजदुत सुवापोङ सिरिसोर्नलाई नेपाल थाइल्याण्ड चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजसम्बद्ध व्यवसायीले काठमाडौँमा स्वागत गरेका छन् ।
व्यवसायीले एक कार्यक्रमका बिच राजदूत सुवापोङ र दुतावासका कर्मचारीलाई पुष्पगुच्छा र मायाको चिनो दिएर स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा नेपाल थाइल्याण्ड चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजका अध्यक्ष अजय मुडभरीले नेपाली व्यवसायीले थाइल्याण्डका अवसरर सदुपयोग गर्नसक्ने गरी सम्भावना खोजिरहेको बताउँदै नवनियुक्त राजदुतलाई सो कार्यमा सहयोग पुर्याउने आग्रह गरे ।
उनले नेपाल र थाइल्याण्ड बिचमा सुमधुर दौत्य सम्बन्ध रहेको चर्चा गर्दै नवनियुक्त राजदुतले सो सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने विशवास व्यक्त गरे ।
अध्यक्ष मुडभरीले हालै मात्र नेपालमा कार्यकाल सकेर स्वदेश फर्केका पूर्व राजदुत थाइ सरकारको विदेशमन्त्री भएको उल्लेख गर्दै यसले दुई देश बिचको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा सहयोग पुग्ने बताए ।
त्यसैगरी राजदुत सुवापोङले प्राकृतिक सुन्दरताले भरिएको नेपालको आफ्नो कार्यकाल उत्साहजनक रहने बताए ।
“मैले राष्ट्रपति ज्यूलाई भेटे, उहाँले नेपाल सुन्दर छ भन्नुभएको थियो, मैले देखेका ठाउँहरु त्यसै सुन्दर छन्,” उनले भने ।
राजदुतले आफ्नो कार्यकालमा सक्नेजति सहयोग गर्न सधै तत्पर रहने भन्दै व्यवसायीलाई आश्वस्त पनि पारे । कार्यक्रममा नेपाल थाइल्याण्ड चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजसम्बद्ध करिब ४० व्यवसायी सहभागी थिए ।
प्रतिक्रिया