Logo

मुख्य समाचार

‘प्लाष्टिकलाई निरुत्साहित गर्दै स्वदेशकै फुल प्रयोग गर्नुपर्छ’


GDP नेपाल
   ७ कार्तिक २०८१, बुधबार


नर्सरी व्यवसायी संघका चारवटा विधा छन् । पुष्प, फलफुल, जडीबुटी र कृषिबनमा नर्सरी व्यवसायीहरु आवद्ध हुनुहुन्छ ।

तिहार चाँही फुलैफुलको पर्व भएको हुनाले यसलाई पुष्पलक्षित बनाउने गरेर नर्सरी व्यवसायी संघ नेपालले ‘तिहार फ्लोरा एक्स्पो’ गर्दैछ । यो काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । एक्सपोमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने हाम्रो मुख्य उद्देश्य हो ।

तिहारमा मखमली, सयपत्री, गोदावरीलगायत फुलहरु प्रयोग हुने हुनाले एक्सपोमा समेत किसानले उत्पादन गरेका फुलहरु प्रदर्शनमा राखेर तिमध्ये उत्कृष्ट भएका तीन जनालाई सम्मान र कदर पत्र प्रदान गर्दै आएका छौं । यस बर्ष यसलाई निरन्तरता दिन्छौं ।

सरकारले नर्सरी क्षेत्रका चारवटै विधाका वस्तुहरुको उत्पादनमा त्यति ध्यान दिएको छैन् । प्रदेश सरकारले केही हदसम्म प्रवद्र्धन गरेको छ । प्रदेशको वन मन्त्रालयले व्यवसायीहरुलाई तालिमका कार्यक्रम संचालन गर्ने गरेको छ । जसमा नर्सरी एसोसिएसनले कार्यक्रमहरुको आयोजना गर्ने र व्यवसायीहरुलाई तालिम दिने पनि भनिएको थियो । तर, हामी त्यसको कार्यान्वयनको प्रक्रियामा पुगिसकेका छैनौं । संघीय सरकार अन्तर्गतका मन्त्रालय र अन्य संघसंस्थाबाट कुनैपनि प्रकारको सहयोग पाएका छैनौं । नर्सरी व्यवसायको प्रवद्र्धन र वजारीकरणमा हामी आफैं क्रियाशील छौं ।

कृषि मन्त्रालयले समेत यस विषयमा खासै चासो देखाएको छैन । म केही दिन पहिले प्रदेश कृषि मन्त्रालयमा गएको थिएँ । केही कार्यक्रम दिन्छौं भन्नुभएको छ । तिहारपछि सूचना निस्किन्छ र त्यसमा सहभागी गराउँछौं भनेर मौखिक कुराकानी भएको छ । अन्य त्यस्तो कुनै पनि सहयोग पाइएको छैन ।

नर्सरी पुष्प व्यवसायीहरुले अहिले ब्यहोरिरहेको मुख्य समस्या भनेको सहरमा जग्गा पाउन नसक्नु हो । नर्सरी व्यवसाय सहर केन्द्रित हुनुपर्ने भएकाले जग्गाको अभाव व्यहोरिरहेका छौं । गत वर्षपनि सरकारी स्वामित्वमा रहेको जग्गाहरु लामो समयसम्मका लागि नर्सरी व्यवसायीहरुलाई भाडामा उपलब्ध गराउन भनेका थियौं । तत्कालिन सरकारका कृषि मन्त्रीले पनि पहल गर्छु भन्नुभएको थियो । तर जताततैबाट आश्वासन मात्र आउने तर आवश्यक सहयोग नहुने देखिएको कारणले हामी समस्यामा परेका छौं ।

नर्सरी व्यवसायीहरुका लागि स्थानीय तहमा समेत खासै कार्यक्रमहरु पुगेको पाइदैन । नर्सरी व्यवसायीहरु कार्यक्रमका लागि आवश्यक कागजपत्र मिलाउन नसक्ने र यसको फाइदा अरु कसैले उठाइरहेको पाइन्छ । नर्सरी व्यवसायीका लागि भनेर माथिबाट बजेट गएपनि स्थानीय तहले कार्यक्रम भने सञ्चालन गर्दैन् ।

हामीले सदाबहार प्रयोग हुने जडीबुटीका बेर्नाहरु सकेसम्म नेपालकै प्रयोग गर्न भनेका छौं र गरिरहेका छौं । त्यस्तै हाइब्रिड जातका र सिजनल बिउहरु भने विदेशबाटै आयात हुन्छ । हलल्याण्ड, जापान लगायतका देशबाट बिउ बेर्नाहरु मगाउने गरेका छौं ।

पुष्प व्यवसायमा आत्मनिर्भर हुनका लागि सबैभन्दा पहिले त बिउ उत्पादक कम्पनीहरु नेपालमा हुन आवश्यक छ । बिउ नै नभएपछि त बाहिरबाट ल्याउन परिहाल्यो । नेपालमा बिउ उत्पादक कम्पनी नभएकै कारणले सिजनल बिरुवाको बिउ समेत छिमेकी भारतलगायतका देशरुबाट ल्याउनुपर्ने वाध्यता छ ।

तिहार आउन लागेको छ । यस्तो महान पर्वमा प्लास्टिकको फुल सकेसम्म प्रयोग नगर्न हामी सबैमा आग्रह गर्न चाहन्छौं । तैपनि कतिपय मानिसले प्लास्टिकका फुलहरु प्रयोग गरिहेका हुन्छन् । प्लास्टिकको फुल प्रयोग गर्न निरुत्साहित गर्नुपर्छ । स्वदेशी उत्पादन वा स्वदेशमा पाइने फूलहरुलाई चाँही सरकारी तवरबाट सहयोग हुन जरुरी छ । नर्सरीवालाहरुलाई प्राविधिक लगायतका सहयोगहरु भयो भने हामी आत्मनिर्भरतर्फ उन्मुख हुन्छौं ।

जग्गा उपलब्ध गराउने विषयमा समेत हामीले पटक पटक सरकारको ध्यानाकर्षण नगराएको होइन तर उहाँहरुले गरेका प्रतिवद्धताहरु कार्यान्वयन नहुँदै सरकार परिवर्तन भइदिन्छ । अहिले पछिल्लो समय धेरै सरकारी जग्गाहरु देखिरहेका छन् । ति जग्गाहरुमा चाँही भाडामा उपलब्ध गराउने हो भने लामो समयसम्म लगानी गर्न पाए उत्पादन राम्रो र आत्मनिर्भर बन्न सहज हुनेथियो ।

नर्सरी व्यवसायी संघ नेपालमा दुई सयको संख्यामा किसानहरु आवद्ध रहनुभएको छ । नर्सरी व्यवसायीहरुको लागि संघले संस्थागत रुपमा पनि राम्रो पहल गरिरहेको छ । गत वर्षका असोजमा स्थापना गरिएको संस्थाले गत वर्ष नै तिहार फ्लोरा एक्स्पो आयोजना गरेका हौं । त्यस्तै नर्सरी बाटिका निर्माण र त्रिखोला बाटिका निर्माणका लागि वृक्षारोपणसहितका कार्यक्रमहरु गरिसकेका छौं । पुष्प, फलफुल, जडीबुटी र कृषिबनका क्षेत्रमा काम गर्ने संघ एक्लो संस्था भएका कारण काम गर्नका लागि कुनैपनि समस्या छैन ।

म फेरिपनि के सुझाव दिन चाहन्छु भने तिहारमा प्लास्टिकको फुलहरु प्रयोग नगर्नुहोला । जुन माला प्रयोग गर्दै हुनुहुन्छ त्यो माला कहाँ, कसरी उत्पादन भयो भन्ने विषयमा ख्याल गर्नुपर्ने हुन्छ । धेरैभन्दा धेरै नेपाली माला प्रयोग गर्न आग्रह गर्दछु ।

हाम्रो तिहार फ्लोर एक्स्पो यही कात्तिक ९ गतेदेखि १३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । मेलामा हामी २० हजार अवलोकनकर्ता ६० लाखको फलफुलको व्यवसायको अपेक्षा गरेका छौं । त्यहाँ हाम्रो चारवटै विधाका समग्रीहरु त्यहाँ उपलब्ध हुनेछन् । उत्कृष्ट फलफुल, उत्कृष्ट, मखमली, उत्कृष्ट सयपत्री समेत राख्नेछौं । फुलको प्रयोग गाउँको तुलनामा सहरमा धेरै हुन्छ । तर विस्तारै गाउँमा पनि फुलको प्रयोग बढ्दै गइरहेको छ । विदेशी फुल र मालामा लामो समय टिकाइ राख्नका लागि विषाधीको समेत प्रयोग भएको हुनाले सजग रहन आग्रह गर्दछु ।

प्रकाशित : ७ कार्तिक २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह