काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्रीको मौनताप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेकी छन् । उनले संसद्को पहिलो अधिवेशनदेखि हालसम्म प्रधानमन्त्रीको आवाज सुन्न नपाइएको उल्लेख गर्दै चुनावपछि जनतालाई धन्यवाद दिन र परिवर्तनबारे सम्बोधन गर्नुपर्ने दायित्व पूरा नभएको बताएकी छन् ।
प्रधानमन्त्रीले संसदमा नबोली अधिवेशन अन्त्य गरेकोप्रति पनि उनले आपत्ति जनाएकी छन् ।
बमले ‘कुरा कम, काम बढी’ भन्ने व्यक्तिगत धारणा मात्र पर्याप्त नहुने भन्दै लोकतान्त्रिक व्यवस्थामा संसदमार्फत राष्ट्रलाई सम्बोधन गर्नु नेतृत्वको अनिवार्य कर्तव्य भएको स्पष्ट पारेकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, संसद्को पहिलो अधिवेशनदेखि आजसम्म हामीले देशका प्रधानमन्त्रीको आवाज सुन्न पाएका छैनौं । चुनाव जितिसकेपछि जनतालाई धन्यवाद दिन पनि तपाईंले बोल्नुपथ्र्यो। यो परिवर्तनलाई स्वीकार्दै जनतालाई सम्बोधन गर्नु तपाईंको जिम्मेवारी थियो। तर तपाईंले संसदमा नबोली अधिवेशन सक्नु भयो। हामी तपाईंको आवाज सुन्न चाहन्छौं। “कुरा कम, काम बढी” भन्ने धारणा तपाईंको व्यक्तिगत विश्वास होला तर संसद मार्फत राष्ट्रलाई संबोधन गर्नु पनि तपाईको कर्तव्य हो ।
लोकतान्त्रिक शासन व्यवस्थामा नेताको निजी स्वभाव वा शैलीभन्दा पनि लोकतान्त्रिक मूल्य–मान्यता र अभ्यासले राज्य शासन व्यवस्थालाई र जनतालाई सम्बोधन गरिनु पर्दछ।जनतालाई आफ्ना समस्याहरूको प्राविधिक समाधान मात्रै होइन, नेतृत्वको मनोवैज्ञानिक साथ पनि चाहिने गर्दछ।उनका अनुसार जनतालाई प्राविधिक समाधान मात्र नभई नेतृत्वको मनोवैज्ञानिक साथसमेत आवश्यक हुन्छ ।’
उनले प्रधानमन्त्रीलाई निजी शैलीमा शासन सञ्चालन गर्न नखोज्न सुझाव दिँदै आमनिर्वाचनबाट प्राप्त अवसरलाई संकुचित सोचले सीमित नगर्न आग्रह गरेकी छन् । साथै, आफूलाई असीमित ठान्ने विगतका नेतृत्वको गल्ती नदोहोरÞ्याउन पनि चेतावनी दिएकी छन् ।
उनले थप लेखेकी छन्, ‘यदि तपाईंले आफ्नै निजी शैलीमा शासन चलाउने सोच्नु भएको छ भने, पहिलो खुड्किलाबाटै फर्किनुस् र पछिल्लो आमनिर्वाचनले दिएको यो उत्कृष्ट लोकतान्त्रिक अवसरलाई संकुचित सोच र सीमित शैलीमा प्रयोग गरेर उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरालाई सच्याउनुस्। तपाईं सक्षम हुन सक्नुहुन्छ, सबल हुन सक्नुहुन्छ। तर यससँगै बिर्सनै नहुने कुरा, तपाईं एक व्यक्तिका हिसाबले सीमित पनि हुनुहुन्छ। पुरानाहरू जस्तै आफूलाई असीमित ठान्ने भूल नदोहोर्याउनु होला।’









प्रतिक्रिया