Logo

Banner-news

शेखरको पक्षमा माहोलः पूर्वअध्यक्षहरुको लिखित सुझाव, भवानी पनि गोल्छाकै पक्षमा


GDP Nepal
   १ आश्विन २०७६, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी अध्यक्षबाट शेखर गोल्छालाई रोक्ने पूर्वअध्यक्ष चण्डीराज ढकालसहित केही उपाध्यक्षहरुको चलखेलमा धक्का लागेको छ । गोल्छाले अढाई वर्षअघिको निर्वाचनबाटै आगामी अध्यक्षका लागि मत पाइसके पनि षडयन्त्रमूलक ढंगले उनलाई रोक्न विधान संशोधनको प्रस्ताव अघि बढाएका पूर्वअध्यक्ष ढकालको हर्कतविरुद्ध सबैजसो पूर्वअध्यक्षहरु एकजुट भएका छन् ।

महासंघका सात जना पूर्व अध्यक्षले विधान संशोधनका सम्बन्धमा लिखित सुझाव पेश गर्दै वरिष्ठ उपाध्यक्ष गोल्छालाई अध्यक्ष बनाएर अर्को कार्यकालमा मात्र प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्न सुझाएका हुन् ।

पूर्वअध्यक्षको क्लबमा नरहेका निवर्तमान अध्यक्ष पशुपति मुरारका पनि यही पक्षमा छन् भने वर्तमान अध्यक्ष भवानी राणाले समेत गोल्छालाई नै अध्यक्ष बनाउन आफू प्रतिबद्ध रहेको आफूनिकट व्यवसायीलाई बताउँदै आएकी छन् ।

राणा निकट एक व्यवसायी भन्छन्– अध्यक्ष ज्यू शेखर गोल्छालाई नै जसरी पनि अध्यक्ष बनाउने प्रयाशमा हुनुुहुन्छ र गोल्छालाई अध्यक्ष बन्नबाट रोकियो भने त्यो सबैभन्दा ठूलो दुर्भाग्य हुन्छ भनिरहनुभएको छ ।

महासंघमा एक दशकदेखि हालीमुहाली गर्दै आएका पूर्वअध्यक्ष चण्डीराज ढकाललाई रोक्न पूर्वअध्यक्षहरुले विशिष्ठ सदस्यको पद नै खारेजीको प्रस्ताव गरेका छन् । यो पद ढकालका लागि महासंघ छिर्ने लुपहोलजस्तै भएको थियो । जसको दुरुपयोग गर्दै उनले आफूलाई मर्यादाक्रममा निवर्तमान अध्यक्षभन्दा माथि राख्न दबाब दिँदै आएका छन् ।

कात्तिक २९ गते हुने विशेष साधारणसभामा विधान संशोधनका लागि पूर्व अध्यक्षहरुले संशोधनको प्रस्तावसहित निवेदन दिएका छन् । तर, ढकाललाई उपाध्यक्षद्वय किशोर प्रधान र उमेशलाल श्रेष्ठसहित धेरै जिल्लानगर उद्योग वाणिज्य संघको साथ रहेकाले उनले यसलाई स्वीकार गर्लान् भन्नेमा भने धेरैलाई विश्वास छैन ।

यद्यपि, ढकालले गोल्छालाई रोक्न खोजेको अस्वीकार गर्दै आएका छन् । जानकारहरुका अनुसार ढकाल गोल्छासँग केही आर्थिक लाभका अतिरिक्त आफ्नो विशिष्ठ सदस्य पद सुरक्षित हुने शर्तमा सघाउन तयार रहेको उनीनिकटका केही व्यवसायीले संकेत गरेका छन् ।

अधिकांश व्यवसायी भने ढकाललाई फेरि महासंघ छिर्ने छिद्र दिइए महासंघको शाख झन गिर्नसक्ने भन्दै चिन्तित छन् । तर, महासंघमा जिल्लानगर उद्योग वाणिज्य संघहरुको मतभार बढी रहेको र धेरैजसो जिल्लानगर ढकालकै पक्षमा रहेकाले स्थिति भने त्यति सहज नरहेको जानकारहरुको भनाइ छ ।

अर्कोतर्फ विधान संशोधनसम्बन्धी प्रस्तावमा पूर्वअध्यक्षहरुले सल्लाहकार समितिमार्फत आफ्नो भूमिकासमेत खोजेका छन् । महासंघको राजनीतिमा पूर्वअध्यक्षहरुको भूमिका यसअघि पनि विवादित हुँदै आएको थियो । यद्यपि, महासंघको राजनीतिबाट बाहिरिइसकेका विनोद चौधरीबाहेक सबै पूर्वअध्यक्षहरु एकै ठाउँमा आउनुलाई भने सकारात्मक रुपमा हेरिएको छ ।

प्रकाशित : १ आश्विन २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह