काठमाडौं । सरकारले मस्यौराको गुणस्तर मापदण्ड निर्धारण गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बनाएको यो मापदण्ड सोमबार राजपत्रमा प्रकाशित भएको छ ।
सोमबार प्रकाशित यो मापदण्ड नेपाल राजपत्रमा प्रकाशन भएको मितिले एकानब्बेऔं दिनबाट लागू हुने मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले जानकारी दिएका छन् ।
‘मस्यौरा’ दुई वा सोभन्दा बढी बस्तु मिसाएर बनाइने तरकारीजन्य खाद्य पदार्थ हो । यसलाई तयार गर्दा मास (कालो दाल) वा अन्य दलहनलाई भिजाएर त्यसको बोक्रा पूर्ण वा आंशिक रूपमा हटाई पिसेर लेदो बनाई बनाउनु पर्नेछ ।
जसमा बोक्रा हटाई स–सानो पारिएको पिँडालु, कर्कलो, तरुल, आलु, कुभिण्डो, तरकारी तथा सागपात लगायतका खाद्य पदार्थ मिसाई वा नमिसाई टुक्रा स–सानो गोलो डल्लो वा अन्य आकारको बनाई प्राकृतिक फरमेसन (किण्वन) हुन दिनुपर्ने मापदण्डमा उल्लेख छ ।
तयार भएको मस्यौरालाई घाम, सोलार ड्राईङ वा मेकानिकल ड्राइङ लगायतमा प्रयोग गरी सुकाएर तयार गर्न सकिने जनाइएको छ ।
मस्यौरामा मसलाजन्य पदार्थ मिसाएको वा नमिसाएको हुनसक्छ । तर, मस्यौरामा अन्न, भटमास वा सोबाट बनेका उत्पादनहरूको प्रयोग गर्न पाइने छैन ।
मन्त्रालयका अनुसार मस्यौरा स्वच्छ र सफा भई चारित्रिक स्वाद र बासना भएको हुनु पर्नेछ । यसमा ढुसी तथा किरा लागेको, सडेको तथा ओसिएको हुनु हुँदैन ।
मस्यौरामा सम्मिश्रण बाहेकका कुनै किसिमको जैविक तथा अजैविक बाह्य पदार्थको उपस्थिति हुनु हुँदैन तथा बाह्य रङ्गको प्रयोग गर्न पाइने छैन ।
मस्यौरामा केही चारित्रिक गुणहरू हुनैपर्ने मापदण्ड राखिएको छ । जसमा जलांश बढीमा ११ प्रतिशत, कुल भष्म प्रतिशत सुख्खा तौलको आधारमा बढीमा ४ प्रतिशत तथा डाइलुट हाइड्रोक्लोरिक एसिडमा नघुल्ने भष्म प्रतिशत सुख्खा तौलको आधारमा बढीमा ०.१५ प्रतिशत मात्र हुनुपर्ने उल्लेख छ ।
यसबाहेक कुल प्रोटिन, प्रतिशत सुख्खा तौलको आधारमा घटीमा १५ प्रतिशत हुनुपर्ने उल्लेख छ ।
यस्तै, कुल प्रोटिनमा नाइट्रोजन प्रतिशतको ६.२५ गुणा हुनैपर्ने जनाइएको छ ।
मस्यौरामा अजैविक बाह्य पदार्थ हुनु हुँदैन । अजैविक बाह्य पदार्थ भन्नाले ढुङ्गा, बालुवा, काँच (सिसा), प्लाष्टिक वा सोको टुक्राहरू, माटो, धातुका टुक्रा जस्ता अखाद्य पदार्थलाई सम्झनु पर्छ ।
मस्यौरामा हुन नहुने जैविक बाह्य पदार्थमा कपाल, रौं, भुस, चोकर, परालका टुक्रा, अखाद्य दाना, जिउँदो वा मरेको कीरा तथा मुसा सोको अंश र पशुजन्य अन्य फोहोर तथा अन्य फोहोर लगायतका पदार्थ रहेका छन् । जसलाई अखाद्य पदार्थ भनिएको छ ।
कन्टामिनेन्ट्स, टक्सिन्स तथा अवशेषतर्फ मस्यौरामा कन्टामिनेन्ट्स जस्तैः जीवनाशक विषादीको अवशेष, हेभी मेटल्स, सुक्ष्म जीवाणुहरू तथा टक्सिन्स लगायत अन्य हानिकारक तत्वका अवशेषहरूको अधिकतम मात्रा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तोके बमोजिम हुनेछ ।
मस्यौराको उत्पादन, प्याकेजिङ, ह्याण्डलिङ, भण्डारण तथा ढुवानीमा स्वच्छता तथा गुणस्तर कायम गर्ने सम्बन्धी नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तोके बमोजिम हुने उल्लेख छ ।
मस्यौरालाई सफा र सुख्खा खाद्य ग्रेडको प्याकेजिङ सामग्रीमा सिलबन्द गरी प्याकेजिङ गर्नु पर्नेछ । प्याकेजिङ गरिएको मस्यौराको लेबलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले तोके बमोजिमको विवरण उल्लेख गर्नु पर्नेछ ।
लेबलमा मस्यौरा तयार गर्न प्रयोग गरिएको सम्मिश्रणको विवरण स्पष्ट रूपमा देखिने गरी उल्लेख गर्नु पर्ने जनाइएको छ ।










प्रतिक्रिया