Logo

अन्तर्वार्ता

प्रविधिमैत्री युवा जनशक्तिलाई राष्ट्रिय आर्थिक विकासमा समाहित गर्न नीतिगत पहल गर्ने योजना छ: घिमिरे


GDP नेपाल
   १० चैत्र २०८२, मंगलबार


काठमाडौँ । आगामी चैत २९ र ३० गते नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचन हुँदैछ। यस निर्वाचनले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ। विधान अनुसार अध्यक्षमा वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ हुने निश्चित छ। तर वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष तथा कार्यकारिणी सदस्यहरूमा भने प्रतिस्पर्धा हुने देखिएको छ। विशेषगरी वस्तुगत संघको उपाध्यक्ष पदमा को निर्वाचित होला भन्ने चासो व्यवसायी वृत्तमा बढ्दो छ।


यही सन्दर्भमा हिजो मात्रै शिवप्रसाद घिमिरे समूहले उम्मेदवारी घोषणा गर्दै महासंघभित्र वस्तुगत संघहरूको अस्तित्व र आत्मसम्मानको मुद्दालाई प्रखर रूपमा उठाएको छ । के महासंघ साँच्चै व्यवसायीहरूको घाम–पानी छेक्ने भरोसायोग्य छाता बन्न सक्छ ? के वस्तुगत संघहरूले अब नीति निर्माणमा सार्थक सहभागिता पाउन सक्छन् ? यिनै गम्भीर प्रश्नहरूको उत्तर खोज्दै, महासंघलाई वास्तविक शक्ति केन्द्र बनाउने प्रतिबद्धतासहित उपाध्यक्ष पदको चुनावी दौडमा उत्रनुभएका घिमिरेसँग गरिएको यो विशेष अन्तरवार्ता:

तपाईंको उम्मेदवारी किनरु अरूभन्दा तपाईं के कुरामा फरक हुनुहुन्छ ?

मेरो उम्मेदवारी पदका लागि होइन, महासंघलाई केही दिनका लागि हो । म व्यवसायमा स्थापित छु, अब मेरो अनुभव र समय महासंघलाई बलियो बनाउन खर्चन चाहन्छु । म बोलेर होइन, परिणाम देखाउने नेतृत्वमा विश्वास गर्छु ।


वस्तुगत संघहरूले महासंघमा आफ्नो उपस्थिति कमजोर भएको महसुस गरिरहेका छन्, यसलाई कसरी सुधार्नुहुन्छ ?

वस्तुगत संघहरू महासंघका मुटु हुन् । म वस्तुगत परिषद्लाई नीति निर्माणको केन्द्र बनाउनेछु र सदस्य संघका समस्या समाधान गर्न एउटा ‘एकीकृत इकाई’ (Unit) स्थापना गर्नेछु । नीति निर्माण प्रक्रियामा वस्तुगत परिषद्को अनिवार्य सहभागिता सुनिश्चित गर्न सरकारसँग पहल गर्नेछु ।


अहिलेको मुख्य समस्या बैंकको ब्याजदर र तरलता हो, यसमा तपाईंको योजना के छ ?

हामी कर घटाउने मात्र होइन, करको दायरा विस्तार गर्ने र पूर्वानुमानयोग्य कर प्रणालीको वकालत गर्नेछौँ । साना तथा मझौला उद्योग (SMEs) र कृषिजन्य कच्चा पदार्थ प्रयोग गर्ने उद्योगलाई सहुलियतपूर्ण कर्जा दिलाउन म निर्णायक पैरवी गर्नेछु ।


नेपाल LDC बाट स्तरोन्नति हुँदैछ, यसले साना उद्योगलाई पार्ने प्रभावबारे तपाईं कत्तिको सचेत हुनुहुन्छ ?

यो निकै गम्भीर विषय हो। स्तरोन्नति हुँदा SMEs लाई आउने चुनौती सामना गर्न हामीले समयमै उपयुक्त रणनीति बनाउनुपर्छ । आत्मनिर्भर हुन सक्ने उद्योग पहिचान गरी विशेष औद्योगिक नीति ल्याउन हामी सरकारलाई दबाब दिनेछौँ ।


स्टार्टअप र युवा उद्यमीका लागि तपाईंसँग के ठोस योजना छ ?

युवा नै समृद्धिको आधार हुन् । हामी ‘जेन-जी’ र युवा उद्यमीका लागि व्यावसायिक सुरक्षा र प्रोत्साहनमूलक वातावरण बनाउनेछौँ । प्रविधिमैत्री युवा जनशक्तिलाई राष्ट्रिय आर्थिक विकासमा समाहित गर्न आवश्यक नीतिगत पहल गर्ने मेरो योजना छ ।


कृषि र उद्योगको सम्बन्धलाई कसरी जोड्नुहुन्छ ?

हामी किसान, सहकारी र उद्योगबीच बिचौलियाविहीन ‘एकीकृत मूल्य शृङ्खला’ (Value Chain) निर्माण गर्नेछौँ । स्वदेशी कृषि उत्पादनको लागत घटाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन विशेष अभियान चलाइनेछ ।


पर्यटन क्षेत्रका व्यवसायीले के आशा गर्ने ?

पर्यटनलाई कृषि, स्वास्थ्य र शिक्षासँग जोडेर ‘एकीकृत विकास मोडेल’ मा लैजानेछौँ । हवाई टिकट कर, पर्मिट शुल्क र अन्य अव्यावहारिक नीतिहरू सुधार गर्न सरकारसँग सशक्त पैरवी गरिनेछ ।


महासंघ सचिवालयको कार्यशैलीप्रति धेरैको गुनासो छ, यसलाई कसरी बदल्नुहुन्छ ?

सचिवालयलाई आधुनिक, दक्ष र सदस्य-केन्द्रित Center Of Excellence बनाइनेछ । कर्मचारी भर्ना र मूल्याङ्कन पूर्ण रूपमा व्यावसायिक र पारदर्शी हुने प्रणाली हामी लागू गर्नेछौँ ।


निजी क्षेत्रमाथि हुने धरपकड र सुरक्षाको विषयमा तपाईंको अडान के हो ?

निजी क्षेत्रको सम्मान र सुरक्षामा आँच आउँदा महासंघ मौन बस्नु हुँदैन । हामी सरकार र नियामक निकायसँग बराबरीको हैसियतमा उभिएर व्यवसायीको हक-हितका लागि लड्ने साहस राख्छौँ ।


मतदाताले तपाईंलाई नै किन भोट हाल्नेरु अन्तिम सन्देश के छ ?

मेरो प्रतिवद्धता कामको कसम हो । म महासंघलाई केही व्यक्तिको स्वार्थ पूरा गर्ने ठाउँ होइन, सबै व्यवसायीको ‘वास्तविक छाता’ बनाउन चाहन्छु । मलाई विश्वास गर्नुहोस्, तपाईंको एउटा मतले सुरक्षित निजी क्षेत्र र सशक्त महासंघको ग्यारेन्टी गर्नेछ ।

प्रकाशित : १० चैत्र २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह