Logo

कर्पोरेट-बजार

निगम सुधार्न फर्किँदैछन् सुगतका सारथी राजु केसी


appharu
   २१ असार २०७५, बिहिबार


काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले नयाँ जहाज खरिद गरेसँगै निगम व्यवस्थापन अब यथास्थितिमा चल्न सक्दैन भन्नेमा सबैजसो सहमत छन् । यसैले जहाज ल्याएसँगै निगमले जहाज चलाएर उँभो लाग्ला र ? भन्ने संशय माथिल्लो निकायदेखि नै व्यक्त गरिँदै आएको छ ।

हुन त विगतमा भाडामै जहाज ल्याएर पनि जापान र युरोपसम्म निगमका जहाज उडाएर आफ्नो दक्षता प्रमाणित गरिसकेको निगमका लागि पछिल्ला दिनको तिब्र प्रतिस्पर्धा, सेवाग्राहीको छनोटका अवसर तथा विकसित प्रविधिलाई आत्मसात गर्ने व्यवस्थापन चाहिएको छ ।

निगमका पुराना अनुभवी कर्मचारीहरु उमेर हद र सेवा अवधिका कारण अधिकांश घर फर्किसकेकाले यसमा केही समस्या भने छ । निगमको रणनीतिक साझेदारका रुपमा वाह्य कम्पनी भित्र्याउन प्रयाश पनि तत्काल सफल हुने देखिएको छैन । यसैले वाइड बडी जहाजपछि निगमले व्यवस्थापनलाई साथ सहयोग र सल्लाह दिने उपयुक्त व्यक्ति खोजिरहेको थियो ।

निगमलाई जहाज खरिदमा तत्कालीन कार्यकारी अध्यक्ष तथा हालका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलाई सँधै साथ दिएका कर्मचारीमध्ये सिनियर व्यक्ति थिए तत्कालीन नायब महाप्रबन्धक– राजु केसी ।

 

 

हो, निगममा सुगतका सारथि यीनै राजु केसी फेरि निगममै फर्किँदैछन्– सल्लाहकारका रुपमा । कंसाकारले यस विषयमा निर्णय गरिसकेका छन् र केसी फर्किन तयार पनि देखिएका छन् ।

सम्भवतः एक साताभित्रै केसीको पदबहाली हुने निगम स्रोतले जनाएको छ । प्रबन्ध निर्देशकको सल्लाहकारका रुपमा उनी रहने र उनको नियुक्ति डिएमडीसरह रहने सहमति भएको छ ।

लामो समय डिएमडी रहेका केसी आफैंले पनि निगमको केही समय नेतृत्व गरेका थिए–कामु एमडीका रुपमा । निगमबाट सेवानिवृत्त भएपछि निजी क्षेत्रको हिमालय एयरलाइन्स पुगेका केसीलाई निगमको व्यवस्थापन र कर्मचारी जोड्ने बलिलो पुलका रुपमा पनि हेर्ने गरिन्छ ।

यतिमात्र नभै निगमभित्रका हरेक समस्याको सुक्ष्म व्यवस्थापनमा माहिर केसी तत्कालीन समयमा जहाज खरिद प्रकरणका कंसाकार नेतृत्वलाई साथ दिएको आरोपमा अख्तियारबाट मुद्दा लागेकाले केही समय निलम्बनमा पनि परेका थिए । पछि विशेष अदालतबाट निर्दोष सावित केसी जहाज खरिदलाई विवादरहित गर्न सिधै एयरबससँग डिल गर्नुपर्छ भन्ने मान्यतामा थिए ।

अदालतले यस मुद्दामा निगमका कंसाकार र केसीसहित गणेश ठाकुर, मयुरशमशेर राणा, ज्ञानेन्द्रपुरुष ढकाल र केशवराज शर्मालाई पनि सफाइ दिएको थियो ।

केसी निगमका सम्पत्ति भएको र उनलाई निगम फर्काउने निर्णय अत्यन्त उपयुक्त रहेको भन्दै निगमका कर्मचारीहरुले पनि कंसाकारको प्रशंशा गरेका छन् । उनको अनुभव र क्षमताले नयाँ जहाजहरुको व्यवस्थापन गर्न सहज हुने उनीहरुको अपेक्षा छ ।

प्रकाशित : २१ असार २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह