Logo

अर्थनीति

मार्सी भातमा बिक्यो समाजवाद, क्रोनी क्यापिटलिजम अबको अर्थनीति


appharu
   २५ असार २०७५, सोमबार


काठमाडौं । तत्कालीन नेकपा एमाले अध्यक्ष केपी ओली र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भक्तपुरस्थित एक रहस्यमय र विवादास्पद व्यापारीको घरमा सँगै खाना खाएको तस्बिर अहिले पनि भाइरल भइरहेको छ ।

 

तस्बिरमा घरधनी तथा उक्त भेटघाटमा सूत्राधार भनिने दुर्गा प्रसाईं पनि सँगै छन् । देशमा २ सर्वाधिक शक्तिशाली व्यक्तिको सम्बन्ध चिसिएका बेला आफ्नै घरमा मार्सी चामलको भातसहित अग्र्यानिक ब्यञ्जन खुवाउने यी प्रसाई अहिले चर्चामा छन् ।

प्रसाईको प्रस्तावित बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन ओली र दाहालले आफ्नो राजनीतिक जीवन नै दाउमा राखेका छन् । आफूलाई माओवादी युद्धमा सहभागी भएको दाबी गर्ने प्रसाई खासमा भने रहस्यमय ढंगले उदाएका व्यापारी हुन् । उनको नाममा देखिएको हालको अर्बौं सम्पत्ति माओवादी नेताहरुले नै विगतमा युद्धकालमा बैंक लुटेको तथा चन्दा संकलनको हो भन्ने गरिन्छ भने कतिपयले सत्तामा आएपछि संकलित रकममध्येकै लगानी हो पनि भन्ने गरिन्छ ।

नेपालमा सत्तानिकट व्यक्तिहरुले जतिसुकै रकम परिचालन गरे पनि जहाँ जेजति लगानी गरे पनि खोजिनीति गर्ने चलन छैन । सम्पत्ति शुद्धीकरण कानुन त छ तर यसको कार्यान्वयनका लाथि तिनै सत्ताधारी नेताहरुको ग्रीन सिग्नल चाहिन्छ ।

प्रसाई पनि यसरी सत्ताधारीबाटै संरक्षित व्यापारी हुन् । मेडिकल कलेजमा एउटै विद्यार्थीाट करोड रुपैयाँसम्म संकलन गरेर रातारात धनी हुने सपना पाल्नेमा प्रसाईमात्र छैनन् । नेपालकै अति धनाढ्य मानिएका उपेन्द्र महतोदेखि तत्कालीन एमाले नेता राजेन्द्र पाण्डेसम्म मेडिकल कलेजका लागि मरिहत्ते गर्नेमा पर्छन् ।

प्रसाईको झापामा रहेको प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन दिन तथा महतो र पाण्डेको लगानी सुरक्षित गर्नमात्र नभइ पार्टीनिकटका बसुरुद्धिन अन्सारीको घट्टेकुलोमा बिक्री नभएको अपार्टमेन्टमा ब्यानरमात्र टाँगिएको नेशनल मेडिकल कलेज नाउँको टहरोलाई अनुमति दिनु यतिबेला सत्ताधारीको प्रमुख उद्देश्य बनेको छ ।

दुर्गमको जुम्लामा मेडिकल कलेज खुल्नुपर्छ र चिकित्सा शिक्षा सुधारका लागि नियमन र अनुगमनको भरपर्दो कानुन नभइ अन्यत्र सम्बन्धन दिनु हुँदैन भनेर अनसन बसेका प्रा. डा. गोविन्द केसी भने खलनायक भएका छन् र प्रसाइहरु नायक । यसको मलजल स्वयं

प्रधानमन्त्री केपी ओलीदेखि गृहमन्त्री रामबहादुर थापासम्मले गरिररहनु झनै रमाइलो छ ।

यसरी, नेपालमा सत्ताधारी निकट व्यवसायीलाई पोस्ने क्रोनी क्यापिटलिजम खुलेआम फस्टाइरहेको छ भने जीवनभर समाजबादका लागि लडेको भनिएको केपी ओली र पुष्पकमल दाहालको समाजवाद भने एक थाल मार्सी भातमै विक्री भएको छ । नेपाललाई त्यसै भनिएको हैन– सतीले सरापेको देश ।

प्रकाशित : २५ असार २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह