Logo

Banner-news

चीनसँगको सीमा विवाद नयाँ मोडमा, सरकारप्रति कांग्रेसको शंका !


GDP Nepal
   ९ आश्विन २०७७, शुक्रबार


काठमाडौं । सरकारको चीनपरस्त नीतिप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसले एक विज्ञप्ति जारी गरेर परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले हतारमा टिप्पणी गरेको भन्दै आशंका व्यक्त गरेको छ ।

हुम्लामा नेपाल र चीनबीचको सीमा मिचिएको हो वा होइन भन्नेबारे सरकारले हतारमा टिप्पणी गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनले स्थलगत अध्ययनको विवरण आउनुपूर्व नै सरकारले यसबारे टिप्पणी गरेको बताएका हुन् ।

‘हुम्ला जिल्लास्थित नेपाल र चीनको सीमासम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेको प्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ,’ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेनासमेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनुपूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत नदेखिएको कांग्रेसको आरोप छ ।

अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षपछि सीमा मिचिएको होरहोइन भन्ने बारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई पनि सरकारले हेक्का नराखेको प्रवक्ता शर्माले बताएका छन् ।

सीमासम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चार माध्यमसमेतको ठोस अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु जिम्मेवार र परिपक्व हुने आफूहरुको बुझाइ रहेको कांग्रेसले बताएको छ ।

‘बिहीबार साँझसम्म स्थलगत अध्ययन टोली सीमाबाट हुम्लाको सदरमुकाम फर्किएपश्चात सीमा मिचिएको ठहर भए चीन सरकार समक्ष कडा विरोध जनाउादै संवादको कूटनीतिक प्रक्रियामार्फत् समाधानमा पुग्न सरकारलाई प्रतिपक्षी दलका तर्फबाट सचेत गराउँदछौं,’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्थलगत अध्ययनको धारणा आउनुपूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको पनि कांग्रेसले आरोप लगाएको छ ।

बुधबार परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनबीच सीमा समस्या नभएको बताएका थिए । हुम्लामा नेपाली भूमि मिचेर चीनले भौतिक संरचना निर्माण गरेको भनेर आएका समाचारप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै मन्त्री ज्ञवालीले त्यसमा सत्यता नभएको बताएका थिए ।

प्रकाशित : ९ आश्विन २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह