Logo

Banner-news

प्रधानमन्त्रीलाई राजेशकाजी श्रेष्ठको आग्रहः फलाम तातेको छ, आकारमा ढाल्नुस् !


GDP Nepal
   २६ चैत्र २०७७, बिहिबार


आधुनिक नेपालको इतिहासमा सात दशकसम्म निरन्तर सक्रिय र आर्थिक सामाजिक रुपान्तरणका लागि सरकारसँग सधैं हातमा हात मिलाएर अघि बढिरहेको निजी क्षेत्रको गौरवमय संस्था नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारण सभामा यहाँहरू सबैलाई हार्दिक स्वागत अभिभादन गर्न चाहन्छु ।

प्रधानमन्त्री केपी ओलीसँग चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ

आजको दिन आफैंमा ऐतिहासिक पनि छ । हाम्रा अग्रजहरूले सात दशकअघि जुन परिकल्पनाका साथ चेम्बर स्थापना गर्नुभएको थियो, त्यसलाई मूलमन्त्र मानेर हामी अघि बढिरहेका छौं । नेपाल सरकार, नेपाली जनता तथा देश विदेशबाट हामीलाई प्राप्त स्नेह, सद्भाव तथा विश्वासको जगमा हामी आज सिंगो मुलुकले गर्व गर्न लायक संस्थाका रुपमा स्थापित भएका छौं ।

निजी क्षेत्रको धरोहरका रुपमा रहेको नेपाल चेम्बर अफ कमर्स अहिले सरकारका लागि विश्वासिलो साझेदार तथा नेपाली जनताका लागि उन्नत भविष्यको सारथिका रुपमा पहिचान बनाएको सुनाउन पाउँदा हामीलाई गर्व महशुस हुन्छ ।

सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको अभियान मूलतः नेपाल चेम्बर र चेम्बरजस्तै संस्थाहरूसँगको सहकार्यबिना पूरा हुन सक्दैन । त्यसैले आजको दिनमा निजी क्षेत्र र सरकारबीच कुनै सीमारेखा कोरिरहनु आवश्यक छैन भन्ने हाम्रो बुझाइ हो ।


सम्माननीय प्रधानमन्त्रीज्यू,
मुलुकको अर्थतन्त्र यतिबेला सन्तोषजनक अवस्थामा छैन । कोभिड संकट सुरु भएको एक वर्षभन्दा बढी समय भइसकेता पनि अर्थतन्त्रको गति र दिशा अझै अन्योलग्रस्त छ । पर्यटन लगायतका कतिपय क्षेत्रमा भएको खर्बौं लगानी जोखिममा परेको छ भने अलिअलि सुधार भएका क्षेत्रको विस्तार पनि त्यति सुखद् छैन ।

विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालू वर्षमा २.७ प्रतिशत हुने अनुमान गरेबाट नै हाम्रो अर्थतन्त्रका आगामी केही दिन अझै त्यति सुखद् छैन भन्ने देखिन्छ । यतिमात्र हैन, हाम्रै केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांक अनुसार आर्थिक वृद्धि करिब २ प्रतिशतले ऋणात्मक भएको देखाएको छ ।

३९ खर्ब ४३ अर्बको हाम्रो अर्थतन्त्रको आकार आफैंमा त्यति ठूलो नभएकाले अर्थतन्त्रलाई कोरोना र यस्तै महामारीबाट जोगाउन साधन स्रोतको अभावभन्दा पनि इच्छाशक्ति जरुरी देखिन्छ । विगतमा सरकारले बजेट तथा मौद्रिक नीतिबाट ल्याएका केही राहत सम्बन्धी व्यवस्थाका कारण अर्थतन्त्रले थप क्षति बेहोर्नु नपरे पनि पुनरुत्थानको बाटोमा अझै हिँड्न सकेको छैन ।

यसैले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष म यो आग्रह गर्न चाहन्छु कि कोरोना महामारीपछि चाँडो रिकभर भएको अर्थतन्त्रका रुपमा नेपालको नाउँ सारा विश्वले चिन्नसक्ने अवस्था सिर्जना गर्न सकौं, यसका लागि हामी निजी क्षेत्र सरकारलाई हरतरहले साथ दिन तयार छौं । सरकारले ठूलो लगानी गर्नुभन्दा पनि केही नीतिगत सहजीकरण मार्फत यसो गर्न सक्छ भन्ने हाम्रो विश्वास छ ।


नेपाल चेम्बर अफ कमर्सले स्थापनाकालदेखि नै सरकारसँग सहकार्य गर्दै आइरहेको छ र भोलिका दिनमा पनि यसलाई निरन्तरता दिने नै छ । हाम्रा सल्लाह र सुझावहरू सरकारका ऐन, कानुन, नीति तथा कार्यक्रममा केही न केही समेटिएको अवस्था छ । यसका लागि नेपाल सरकारलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छौं र भविष्यमा पनि सहकार्यको अपेक्षा गर्दछौं । सरकार र निजी क्षेत्र एकले अर्कालाई निषेध गरेर अगाडि बढ्न सक्दैनन् । हामीबीच सहकार्यको विकल्प छैन । सरकार कहिलेकाहिँ गलत बाटोमा हिँड्न खोजेमा सच्याउने दायित्व आम नागरिकको जस्तै निजी क्षेत्रको पनि हो ।

हामीले खासगरी आर्थिक विषयवस्तुसँग सम्बन्धित नीति नियम तर्जुमाका सन्दर्भमा विगतमा सरकारको आलोचना पनि गरेका छौं र सडकमै ओर्लिएको अवस्था पनि छ । तर पछिल्लो समय निजी क्षेत्र र सरकारबीच सम्बन्ध सुमधुर छ । निजी क्षेत्र र ट्रेड यूनियनबीच पनि विश्वासको वातावरण बनेको अवस्था छ । तातेको बेला फलामलाई आफूले चाहेको आकारमा बदल्न सकिएजस्तै अहिले सरकार, निजी क्षेत्र र श्रमिकबीच विश्वासको वातावरण बनेकाले आर्थिक सुधारलाई नयाँ उचाईमा पु¥याउने उचित अवसर छ । यसका लागि अग्रसरता लिन म सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष विनम्रतापूर्वक आग्रह गर्दछु । मुलुकको समृद्धिका लागि सम्माननीय प्रधानमन्त्रीज्यूको दृढ इच्छाशक्ति कार्यान्वयनमा अब ढिलो गर्नु हुँदैन भन्ने म आग्रह गर्न चाहन्छु ।

सम्माननीय प्रधानमन्त्रीज्यू
नेपाल चेम्बर अफ कमर्सको अध्यक्षका हैसियतले यो मेरो अन्तिम मन्तव्य पनि हो । निजी क्षेत्रको जेठो संस्थाको नेतृत्वमा लामो समयसम्म रहँदा चेम्बरलाई जुन उचाईमा पु¥याउन सकेँ, मुलुकको शासकीय स्वरुप र शासन प्रणालीअनुसार चेम्बरलाई पनि अघि बढाउन सफल भएँ । यसको श्रेय म सम्पूर्ण चेम्बर सहकर्मी, निजी क्षेत्र र नेपाल सरकारलाई दिन चाहन्छु ।

सबैको साथ र सहयोगकै कारण नेपाल चेम्बर आज नीति निर्माणदेखि व्यवसायीका समस्यामा सहजीकरण, प्रवद्र्धन तथा भोलिको सुनौलो भविष्यका किरण देखाउने सारथि बनेको छ । व्यवसायीको प्रतिनिधिमूलक संस्था भए पनि चेम्बर नेपाली समाजलाई संकटमा पर्दा मल्हमपट्टी लगाउने सामाजिक संस्था पनि हो । भिन्न विचारका राजनीतिक नेतृत्वसँग समान दूरी राख्दै आर्थिक विकासमैत्री बनाउन उत्प्रेरित गर्ने यो संस्थाको गरिमासँग म भोलिका दिनमा पनि अवश्य नै जोडिनेछु ।

मेरो कार्यकालमा चेम्बरलाई सधैँ साथ सहयोग गर्नुहुने र चेम्बरको सल्लाह सुझावलाई गम्भीरतापूर्वक मनन गर्नुहुने सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू, सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनज्यू, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू लगायत वर्तमान सरकार र यसअघिका सबै सरकारका प्रधानमन्त्री तथा मन्त्रीज्यूहरूप्रति हार्दिक आभार प्रकट गर्दछु । नेपाल सरकार अन्तर्गत रहनुभएका विभिन्न मन्त्रालय तथा निकायका पदाधिकारीज्यूहरू, नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधिज्यूहरू, सरकारका संवैधानिक अंग, सुरक्षा निकाय, विभिन्न राजनीतिक दल, विदेशस्थित चेम्बरका साझेदार संघ संस्था लगायत निजी क्षेत्रका अन्य संघ संस्थालाई पनि सहकार्यका निमित्त धन्यवाद ज्ञापन गर्न चाहन्छु । सञ्चार क्षेत्रले पनि चेम्बर लाई धेरै माया गर्ने गरेको छ । यसका निमित्त सबै सञ्चारकर्मीप्रति कृतज्ञ छु । यस्तै, चेम्बरको सचिवालयका मित्रहरू र मेरो कार्यसमितिका सदस्यहरूका साथै देशैभरका साथीहरूप्रति पनि आभारी छु ।


म चेम्बरको प्रत्यक्ष नेतृत्वमा नरहे पनि चेम्बरभित्रै छु । मेरो जीवनका उर्वर समय चेम्बर अफ कमर्समै बितेको छ र आज मेरो जुन पहिचान बनेको छ, त्यसमा चेम्बर पनि जोडिएको छ । त्यसैले यसबाट म कहिल्यै टाढा हुन सक्दिनँ । अब आउने नयाँ नेतृत्वलाई पनि म शुभकामना दिन चाहन्छु र मलाई झैँ नयाँ नेतृत्व लाई पनि पूर्ण सहयोग रहने अपेक्षा गरेको छु । चेम्बरको यो गरिमा जोगाउँदै आउँदा दिनमा यसलाई नयाँ उचाईमा पु¥याउन निरन्तर प्रयत्न गर्नु आवश्यक छ । हामीलाई अग्रजले नासोका रुपमा छाडेर गएको यो गौरवमय संस्थाको लाभ भोलिका पुस्ताले पनि पाउनु पर्छ ।


अन्त्यमा, नेपालको निजी क्षेत्रलाई हौसला दिनुहुने सबैैमा हार्दिक आभार व्यक्त गर्दछु । आफ्नो अमूल्य समय दिएर नेपाल चेम्बर अफ कमर्सको ७० औँ साधारण सभामा पाल्नुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीज्यू, अन्य विशिष्ट अतिथिगण तथा महानुभावहरूमा पुनः हार्दिक आभार व्यक्त गर्दछु ।
धन्यवाद । नमस्कार ।
मिति: २०७७ चैत २६ गते बिहीबार

चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभामा अध्यक्ष राजेशकाजी श्रेष्ठको सम्बोधन

प्रकाशित : २६ चैत्र २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह