काठमाडौं । नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त उमेश श्रेष्ठको योगदानको अवमूल्यन गर्दै अनर्गल प्रचार भएको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
शिक्षा, स्वास्थ्य, ऊर्जा, कृषिजस्ता महत्वपूर्ण क्षेत्रमा आफूलाई कुशल व्यवस्थापकको रुपमा स्थापित गर्न सफल तथा लामो समयदेखि कांग्रेस पार्टीको संगठन सुदृढीकरणमा सक्रिय श्रेष्ठको योगदान अवमूल्यन गर्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत सुनियोजित ढंगले अनर्गल टिकाटिप्पणी र दुष्प्रचार गरिएको विभागको ठहर छ ।
विभागका प्रमुख चीनकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा आधुनिक विश्व राजनीतिमा सबै पेशा, वर्ग, क्षेत्र र समुदायको योग्यता, क्षमता, र दक्षताका आधारमा विश्वका धेरै मुुलुकहरुले सहभागितामुलक शासन पद्धतीलाई आत्मसात गर्दै जनअपेक्षाअनुसार सफलता हासिल गरेको प्रशस्तै उदाहरण भएको उल्लेख छ ।
कोभिड १९ ले मुलुकको स्वास्थ्यसहित सबै क्षेत्र जर्जर बनाएको वर्तमान अवस्थामा व्यवसायीको क्षेत्रबाट स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठ नियुक्त हुनुभएकोमा स्वागत गर्दै विभागले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा महत्वपूर्ण व्यवस्थापकीय भूमिका निर्वाह गरिसक्नुभएका व्यक्तिले विभागीय मन्त्रालयको जिम्मा पाउनुले मुलुककै हितमा हुने उल्लेख गरेको छ ।
लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले सवै वर्ग क्षेत्रलाई समेट्ने क्रममा व्यवसायिक क्षेत्रबाट स्वास्थ्य राज्यमन्त्री नियुक्ती हुनु गौरवको विषय भएको विभागको ठहर छ ।
श्रेष्ठको कार्यकालमा मुलुक जटिल स्वास्थ्य अवस्थाबाट गुज्रिएको अवस्था नियन्त्रणमा ल्याएर सबै नेपालीलाई खोप लगाउने अभियान सफल हुने विभागले विश्वास व्यक्त गरेको छ ।
प्रतिक्रिया