Logo

बिजनेस होम

पर्यटन व्यवसाय ‘गोरे’हरुका कारण बदनाम, मजदुरद्वारा ठप्प पार्ने चेतावनी


appharu
   ३१ असार २०७५, आइतबार


काठमाडौं । सुन तस्करीमा बदनामी कमाएका चुडामणि उप्रेती अर्थात गोरेलाई नचिन्ने अब सायदै कोही होलान् । साढे ३३ किलो सुन हराएपछि पार्टनर सनम शाक्यको हत्या गरेका कारण हाल पुर्पक्षका लागि थुनामा रहेका गोरे अब अपराध र अपराधीको बिम्ब नै बन्न थालेको छ ।

पर्यटन मजदुरहरुको एक कार्यक्रमको समापन समारोहमा पनि पर्यटन क्षेत्र गोरेहरुकै कारण बदनाम भएको चर्चा चल्यो । पर्यटन क्षेत्रमा हिजोआज नक्कली उद्दारका नाउँमा इन्स्योरेन्स दाबी गर्ने प्रवृत्ति बढिरहेकाले यसमा संलग्न व्यवसायीहरुलाई नै गोरेको संज्ञा दिइएको हो ।

पर्यटन बोर्डका पूर्व सदस्य राजेन्द्र सापकोटाले पर्यटन श्रमिकलाई फेक रेस्क्यूको नाममा अवैध सुन बोक्ने गोरेजस्तै बनाउन खोजिएको बताए । उनले सबै व्यवसायी खराब नरहे पनि केही गोरेका कारण बदनाम भइरहेको बताए ।
टान अध्यक्ष नवराज दाहालले पनि सापकोटासँग सहमति जनाउँदै पर्यटन क्षेत्रमा एकताको खाँचो रहेको भन्दै फेक हेलिकप्टर रेस्यु गर्ने सिमित व्यवसायीका कारण पुरै पर्यटन क्षेत्रलाई बद्नामी गर्न नहुने बताए ।

मजदुरद्वारा ठप्प पार्ने चेतावनी

कार्यक्रममा पर्यटन श्रमिकहरुले पर्यटन श्रमिकको नियमसंगत पाउनुपर्ने मागको बेलैमा सम्बोधन हुन नसके यो क्षेत्र नै ठप्प पार्ने चेतावनी दिएका छन् । काठमाडौंमा संचालित पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुको सेवा सम्बन्धी क्षमता अभिवृद्धि तालिमको समापन कार्यक्रममा पर्यटन क्षेत्रका श्रमिक नेताहरुले व्यवसायीका कारण पर्यटन क्षेत्र नै टिक्छ कि टिक्दैन भन्ने अवस्थामा पुगेको आरोप लगाए ।

नेपाल पर्यटन बोर्डको प्रायोजन र पर्यटन क्षेत्रका तीन मजदुर संगठन यूनिट्राभ, नेपाल पर्यटन श्रमिक संघ र अखिल नेपाल पर्यटन मजदुर संघको संयुक्त आयोजनामा भएको तालिमको समापन गर्दै नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले अब चप्पल लगाएर काम गर्ने मजदुरको माग खान देउ भन्ने मात्र होईन नीति निर्माण गर्ने तहमै सहभागीता हुनुपर्ने बताए ।
नेपाल ट्रेड यूनियन काँग्रेसका महासचिव योगेन्द्र कुँवरले जिम्मेवार भएर श्रमिकले कार्य गर्नुपर्ने बताउँदै आफ्ना अधिकारका विषयमा नडराई माग उठाउन श्रमिकहरुलाई आग्रह गरे ।

यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले पर्यटन क्षेत्र नियमसंगत ढंगले चल्नुपर्ने भन्दै गलत काम गर्ने व्यवसायी र सरकारी निकायका पदाधिकारीलाई पर्यटन श्रमिकले साथ नदिने बताए । उनले ट्रेकिङ क्षेत्रका समस्या बेलैमा समाधान नगर्ने हो भने यो क्षेत्र नै धरापमा पर्ने भन्दै पर्यटन मजदुरका समस्या बेलैमा समाधान भएन भने श्रमिकले यो क्षेत्र नै ठप्प पार्ने चेतावनी दिए । त्यस्तै व्यवसायीका कारण अहिले पर्यटन क्षेत्र नै टिक्छ कि टिक्दैन भन्ने अवस्थामा पुगेको भन्दै बेलैमा सचेत हुन उनले व्यवसायीको ध्यानाकर्षण गराए । उनले टिम्सको रकम श्रमिकको पक्षमा नहुने हो भने यसलाई बन्द गर्नुपर्ने वा श्रमिकको सामाजिक सुरक्षा कोषमा हाल्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष दीपेन्द्र पाण्डेले नेपालको पर्यटनबारे अन्तर्राष्ट्रिय मिडियामा नकारात्मक प्रचार किन भयो भन्नेबारे सबै व्यवसायी र सरकारले विचार पुर्याउनुपर्ने भन्दै बेलैमा नेपालको पर्यटन सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने खाँचो औंल्याए । कार्यक्रममा अखिल नेपाल पर्यटन मजदुर संघका अध्यक्ष रामचन्द्र ढुंगानाले पर्यटन क्षेत्रका सबै श्रमिकहरु एक भएर गलत कामको भण्डाफोर गर्नुपर्ने बताए ।

कार्यक्रममा पर्यटन व्यवसायी दिपक महत मजदुरको समस्या समाधान गर्न व्यवसायी र राज्य लाग्नुपर्ने र टिम्सको रकम श्रमिकको हितमा लागाईनुपर्ने बताए । त्यस्तै पर्यटन व्यवसायी ज्योति अधिकारीले पर्यटन क्षेत्रमा इमान्दारिता देखाउनुपर्ने भन्दै पर्यटन श्रमिकको बीमाको कुरा व्यवसायी स्वयंले नै बहोर्नुपर्ने र टिम्सको रकममा र्याल चुहाएर सरकारको भर पर्न नहुने बताए । राज्यको रकम आपत विपदका बेला प्रयोग गर्नुपर्ने उनको सुझाव थियो ।

६ दिनको क्षमता अभिवृद्धि तालिम कार्यक्रममा १५० जना पर्यटन श्रमिकहरु सहभागी भएका थिए । आयोजकले सहभागीहरुलाई प्रमाणपत्र उपलब्ध गराएको थियो ।

प्रकाशित : ३१ असार २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह