Logo

बिजनेस होम

सेजन नेतृत्वका लागि तीन आकांक्षी, कसको पल्ला भारी ?


GDP Nepal
   १८ भाद्र २०७८, शुक्रबार


काठमाडौं । आर्थिक पत्रकारहरुको पुरानो संस्था नेपाल आर्थिक पत्रकार समाजको नेतृत्व चयनका लागि आज (शुक्रबार) निर्वाचन हुँदैछ । सेजन नेतृत्वका लागि क्लिकमान्डू डटकमका सम्पादक आशीष ज्ञवाली, नयाँ पत्रिका दैनिकका अर्थ ब्यूरो प्रमुख जनार्दन बराल र नेपाललाइभ टुडेका सम्पादक शिरोमणि ढुंगानाले मनोनयन दर्ता गराएका छन् ।

ज्ञवाली यसअघि सेजन कार्यसमिति सदस्य भइसकेका छन् । बराल र ढुंगानाको कार्यसमिति अनुभव नभए पनि आर्थिक पत्रकारमाझ दुवै लोकप्रिय छन् ।

निर्वाचनमा कसको पल्लाभारी हुन्छ भन्ने अहिल्यै एकीन गर्न नसकिए पनि उम्मेदवारहरु अन्तिम कसरतमा लागेका छन् । अध्यक्षका तीनवटै उम्मेदवारको सवल पक्ष भनेको उनीहरु सक्रिय पत्रकारितामा रहनु हो भने सबै सदस्यसम्म पहुँच पुर्याउन नसक्नु उनीहरुको दुर्वल पक्ष मानिएको छ ।

यो पटकको निर्वाचनमा रोचक पक्ष के छ भने अध्यक्षका तीनवटै प्रतिस्पर्धी आर्थिक पत्रकारितामा अभियान दैनिकका उत्पादनका रुपमा चिनिन्छन् ।

सेजनमा २७९ सदस्य रहेकोमा दर्जन हाराहारीमा सदस्यता नवीकरण भएको छैन भने एक सदस्यको निधन भइसकेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)मा आवद्ध पाँच पत्रकारले सदस्यबाट हालै राजीनामा दिएका छन् ।

प्रारम्भिक आकलनअनुसार २४० मत खस्ने अनुमान गरिएको छ । जसअनुसार अध्यक्षका लागि करिब ९० मत आवश्यक पर्ने देखिन्छ । आर्थिक पत्रकारितामा सक्रिय नरहेका कतिपय पत्रकारहरुको सदस्यता नवीकरण भएका कारण उम्मेदवारहरुलाई कठिन भइरहेको छ ।

शुक्रबार बिहान ११ बजेबाट हुने मतदानअघि सेजनको वार्षिक साधारणसभाका कार्यक्रमहरु हुनेछन् । साधारणसभाको सबै तयारी पूरा भइसकेको जनाइएको छ । कोभिडका कारण भीडभाड हुन नदिन व्यवस्थापनमा ध्यान दिइएको सेजन सचिवालयले जनाएको छ ।

सेजन उपाध्यक्षमा पनि नयाँ पत्रिका दैनिकका कृष्ण रिजाल र क्यापिटल बिजनेस म्यागेजिनका सुजन ओलीबीच तीब्र प्रतिस्पर्धा रहेको छ । रिजाल र ओलीले पनि अभियान दैनिकबाटै आर्थिक पत्रकारिता सुरु गरेका हुन् ।

महासचिवमा शिलापत्रका भागवत भट्टराई र अर्थपथ डटकमका विनय बञ्जारा तथा सचिवमा बाह्रखरी डटकमका हिमाल पौडेल, अभियान दैनिकका हिमा बिक र नेपाल टेलिभिजनका एलिजा उप्रेतीले प्रतिस्पर्धा गर्दैछन् । पौडेल अहिलेको कार्यसमितिका कोषाध्यक्ष हुन् भने बिक सदस्य र उप्रेती यसअघिको कार्यसमितिमा सदस्य थिइन् ।

कोषाध्यक्षमा कारोबार दैनिककी लक्ष्मी सापकोटा, लोकपथ अनलाइनकी कमला अर्याल र फिस्कलनेपाल अनलाइनका सुजन ढुंगाना प्रतिस्पर्धामा छन् । अर्याल र ढुंगाना हालको कार्यसमिति सदस्य र सापकोटा पनि पूर्वसदस्य हुन् ।

पाँच सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा अनलाइनखबरका अच्युत पुरी, बिजमान्डूका अमर बडुवाल, नेपालीपैसाका इशारा कोइराला, अर्थतन्त्र डटकमका सोभित थपलिया, राससका सीबी अधिकारी र अर्थको अर्थका शंकर पण्डित छन् । बाँकी दुई सदस्य कार्यसमितिले मनोनित गर्नेछ ।

प्रकाशित : १८ भाद्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह