काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा नयाँ पत्रिका दैनिकका जनार्दन बराल निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा बरालले निकटतम प्रतिद्वन्द्वी क्लिकमान्डू डटकममा आशीष ज्ञवालीलाई ३४ मतले पछि पार्दै नयाँ कार्यकालको अध्यक्षमा निर्वाचित भएका हुन् ।
कुल २४३ मत खसेकोमध्ये बरालको पक्षमा १ सय १४ मत खसेको थियो भने ज्ञवालीको पक्षमा ८० मत खसेको थियो । अर्का प्रतिस्पर्धी शिरोमणि ढुंगानामो पक्षमा ४८ मत आएको थियो ।
अध्यक्षसँगै सेजनको १० सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा क्यापिटल नेपाल अनलाइनका सुजन ओली, महासचिवमा शिलापत्र डटकमका भागवत भट्टराई, सचिवमा बाह्रखरी डटकमका हिमाल पौडेल र कोषाध्यक्षमा कारोबार दैनिककी लक्ष्मी सापकोटा निर्वाचित भएका छन् ।
त्यस्तै, कार्यसमिति ससदस्यहरुमा अनलाइनखबर डटकमका अच्युत पुरी, अर्थतन्त्र डटकमका सोभित थपलिया, बिजमाण्डूका अमर बडुवाल, नेपाली पैसाकी इशारा कोइराला र राष्ट्रिय समाचार समितिका सीबी अधिकारी निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ । नयाँ नेतृत्वसँगै भीम गौतम नेतृत्वको कार्यसमिति निवर्तमान भएको छ ।
प्रतिक्रिया