Logo

घुमफिर

पर्यटन बोर्डमा बेथितिः डब्लूटीएमको बजेट काटेर सगरमाथामा फेसन शो !


GDP Nepal
   ८ आश्विन २०७८, शुक्रबार


काठमाडौं । हिमाली क्षेत्रमा आयोजना हुने फेसन शो ‘माउन्ट एभरेष्ट फेसन रनवे’मा नेपाल पर्यटन बोर्डको सहभागितालाई लिएर पर्यटन वृत्तमा टिप्पपणी सुरु भएको छ । बोर्डले करिब २५ लाख खर्चेर फेसन शोमा सहभागिता जनाएको र यसबाट पर्यटन क्षेत्रमा कुनै उपलब्धि हासिल हुन नसकेको पर्यटन व्यवसायीहरुले बताएका छन् । बोर्डले विदेशी मोडलको अतिथि सत्कार र सीईओ धनञ्जय रेग्मी लगायतका उच्च अधिकारीहरुको भ्रमणका लागि यो परिमाणमा खर्च गरेको हो ।

पर्यटन बोर्डको वार्षिक बजेट पारित नभएको र पछि फाम ट्रिप शीर्षकमा खर्च मिलाउने गरी बोर्डले फेसन रनवेमा सहभागिता जनाएको जनाइएको छ । बिहीबार भएको फेसन रनवेमा बोर्डका सीइओ सहित पाँच अधिकारीहरुका लागि मात्र काठमाडौंबाट एउटा हेलिकप्टर चार्टर गरिएको थियो ।

बोर्ड सञ्चालक समिति अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई जानकारी समेत नदिइ सीइओले आफूखुसी बजेट उपलब्ध गराएको मन्त्रालय स्रोतले जनाएको छ । सगरमाथा क्षेत्रको आफैंमा प्रवर्द्धन जरुरी नभएका बेला सो क्षेत्रमा यसरी खर्च गर्नु अनावश्यक भएको पर्यटन व्यवसायीहरुको भनाइ छ ।

यता, नोभेम्बर १ देखि लन्डनमा हुने वर्ल्ड ट्राभल मार्टका लागि भने बोर्डले यस वर्ष बजेट घटाएको छ । करिब ८० देशका ट्राभल कम्पनी सहभागी हुने सो मार्टमा नेपालले सशक्त उपस्थिति देखाउनुपर्नेमा बोर्डले करिब ९० लाख मात्र बजेट विनियोजन गरेको छ । “यो रकमबाट एउटा सामान्य स्टल राख्न पनि पुग्दैन,” एक व्यवसायी भन्छन्, “प्रमोसन नै गर्नु नपर्ने एभरेष्ट रिजनमा २५ औं लाख खर्चने र डब्लूटीएममा बजेट नै नराख्ने प्रवृत्तिले कोभिडपछिको पर्यटन पुनरुत्थानमा हामी चुक्ने अवस्था बन्दैछ ।”

विभागीय मन्त्री नियुक्त नहुँदा पर्यटन बोर्डमा सञ्चालक समिति अध्यक्ष सचिवलाई गुमराहमा राखेर बोर्डका सीईओ धनञ्जय रेग्मी र उपाध्यक्ष चन्द्र रिजालले मनोमानी गरेको पर्यटन व्यवसायीहरु बताउँछन् । एक व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा भने, “बोर्डका सीईओ आफूलाई क्लाइमेट चेञ्जका अभियन्ता भन्नुहुन्छ तर एभरेष्ट रिजनमा अनावश्यक हेलिकप्टर उडाएर बोर्डको पैसा सिध्याउन उद्यत देखिनु अचम्मलाग्दो विरोधाभाष उहाँमा देखिएको छ ।”

बोर्डका सीईओ रेग्मीसँग यस विषयमा सम्पर्क गर्ने प्रयास भने सफल हुन सकेन ।

फेसन शोमा कासा बुटिक डिजाइन, आरबी डायमण्ड र के फिल्मसले नेपाल पर्यटन बोर्ड, स्टार अस्पताल, ग्लोबल आइएमई बैंक, चिभास, द सोल्टी काठमाडौं र इन्टरनेसनल सेरिकल्चर कमिसन लगायतका अन्य संस्थाको सहभागिता रहेको छ । जसमा बोर्डमात्र गैरनाफामूलक संस्था हो ।

फेसन रन वेको पहिलो संस्करण २०७६ पुसमा आयोजना भएको थियो। यो कार्यक्रमले गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट विश्व कीर्तिमान राखेको थियो ।

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह