Logo

राजनीति

कानूनतर्फ स्नातक प्रथम वर्षमा कोटा प्रणाली लागू नहुने, बुधबारदेखी भर्ना सुरू


appharu
   २२ श्रावण २०७५, मंगलबार


काठमाडाैं ।  त्रिभुवन विश्वविद्यालयको कानून संकायअन्तर्गत स्नातक प्रथम वर्षमा (एलएलबी) नयाँ विद्यार्थी भर्नाका लागि कोटा प्रणाली लागू नहुने भएको छ । 

त्रिवि कानून संकाय डिनको कार्यालय र विद्यार्थीसंगठनबीच प्रवेश परीक्षामा सामेल भएका सबै विद्यार्थीलाई भर्ना गर्ने सहमति भएपछि कोटा प्रणाली लागू नगरिने भएको नेपाल ल क्याम्पसका प्रमुख डा दीनानाथ पराजुलीले जानकारी गराएका छन् ।

उनका अनुसार डिन कार्यालयले सबै क्याम्पसलाई बुधबारदेखि भदौ २५ गतेसम्मका लागि भर्ना गर्न निर्देशन दिइसकेको छ । ‘‘प्रवेश परीक्षामा सामेल भएका सबैलाई डिन कार्यालयले भर्ना गर्न निर्देशन दिएको छ’’ उनले भने ।

डिन कार्यालयले प्रवेश परीक्षामा सामेल भएका सबैलाई भर्ना गर्न पाउने गरी योग्यताक्रमले नतिजा प्रकाशित गरेको थियो ।

‘‘अहिलेलाई प्रवेश परीक्षामा सामेल भएकाले मात्र भर्ना गर्न पाउँछन्’’ क्याम्पस प्रमुख डा पराजुलीले भने  ‘‘त्यसपछि अन्य विद्यार्थीको भर्ना गर्ने वा नगर्ने भन्नेमा प्रवेश परीक्षा दिएका विद्यार्थीको भर्ना सकिएमात्र थाहा हुनेछ ।’’

डिनको कार्यालयले क्याम्पसको भौतिक पूर्वाधार र प्राध्यापकको संख्या हेरि यस वर्षदेखि राजधानीकाे नेपाल ल क्याम्पसमा ८०० जना र अन्य उपत्यकाबाहिर नेपालगन्ज, विराटनगर, पोखरा, बुटवल, धरान, वीरगञ्ज र राजविराजस्थित त्रिविका आंगिक क्याम्पसमा १५० जनाको कोटा तोकेको थियो ।

कोटा प्रणालीको आधारमा करिव चार हजार ७०० विद्यार्थीले गत जेठ १९ गते प्रवेश परीक्षासमेत दिएका थिए । कोटा प्रणाली लागू गरेपछि विद्यार्थी संगठन आन्दोलित भएका थिए ।

कोटा प्रणालीको विरोध गर्दै स्वतन्त्र विद्यार्थी समूहले कानून संकाय डिनको कार्यालयमा प्रवेश गरी प्राध्यापकले परीक्षण गरिरहेको बेला गत असार २७ गते उत्तरपुस्तिका नियन्त्रणमा लिई च्यातेका थिए ।

क्याम्पस प्रमुख डा पराजुलीले भदौदेखि नै कक्षा सञ्चालन गर्ने बताउनुभयो । नेपाल ल क्याम्पस अनेरास्ववियु कमिटीका अध्यक्ष हरि पँगेनीले आफूहरुले पहिलेदेखि कोटा प्रणालीको विरोध गर्दै आएको भन्दै अब सबै विद्यार्थी भर्ना हुने वातावरण बनेको बताउनुभयो ।

उहाँले पहिलो चरणमा प्रवेश परीक्षामा सामेल भएकाको भर्ना गरेपछि दोस्रो चरणमा अन्य विद्यार्थीको भर्ना लिइने बताउनुभयो ।

कोटा प्रणालीमा विवाद हुदाँ चैतदेखि हुने एलएलबी प्रथम वर्षको पढाइ पाँच महिना ढिला भएको छ ।

प्रकाशित : २२ श्रावण २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह