Logo

कर्पोरेट-बजार

रियल इस्टेटमा जमेका ओम राजभण्डारीको नयाँ व्यवसायः डेन्युब र मिलानो एकसाथ !


GDP Nepal
   २ कार्तिक २०७८, मंगलबार


काठमाडौं । मुलुक कोभिड संकटबाट गुज्रेको डेढ वर्ष नाघेको छ । यो अवधिमा धेरै व्यवसाय बन्द भए भने अधिकांश व्यवसायी रक्षात्मक बने । मास्क, स्यानीटाइजरलगायत अत्यावश्यकीय क्षेत्रका नगण्य व्यवसाय निर्वाध सञ्चालन भए पनि अधिकांश व्यवसाय ठप्पप्रायः रहे । आम व्यवसायीलाई आफ्नो र परिवारको स्वास्थ्यमात्र नभै व्यवसायकै भविष्यको चिन्ताले पिरोलिरह्यो ।

भनिन्छ, हरेक संकटले अवसर पनि सँगसँगै लिएर आएको हुन्छ । संकटलाई अवसरमा बदल्न समयसँगै अघि बढ्ने चातुर्यता र दृढ इच्छाशक्ति पनि चाहिन्छ । कोभिड संकटलाई अवसरमा बदल्ने उद्यमी हामीकहाँ पनि नभएका होइनन् । यस्तै, चातुर्यता र इच्छाशक्ति प्रचुर भएका उद्यमी हुन्, ओम राजभण्डारी ।

ओम राजभण्डारी

रियल इस्टेट क्षेत्रमा अध्ययन र अनुसन्धान गरेर मात्र अघि बढ्ने राजभण्डारी पहिलो लकडाउन र भ्याक्सिन उत्पादन हुनुपूर्वको अवस्थामा अन्य व्यवसायीजसरी हात बाँधेर बसेनन् ।

आफ्नो व्यवसायमा अब्बल र खारिएका राजभण्डारीलाई नयाँ व्यवसायले आफैं पछ्यायो । दुई दशकदेखि उनको मेहनत र इमानदारितालाई नेपाली व्यावसायिक जगतले त पत्याएकै थियो, विदेशी व्यवसायीको आँखा पनि उनीमाथि पर्‍यो । फलतः उनका लागि कोभिड संकटको समय व्यर्थ रहेन । यूनाइटेड अरब इमिरेट्सको बहुप्रतिष्ठित कम्पनी डेन्युबले उनीसँग साझेदारीको हात फैलायो अनि जन्मियोः डेन्युब होम नेपाल ।

सुन्धारास्थित डेन्युब होम

उद्यमी राजभण्डारीलाई दुई दशकअघि रियल स्टेट व्यवसाय सुरु गर्दा नै आफ्ना उपभोक्तालाई पूर्ण प्याकेजसहितको घर वा अपार्टमेन्ट कसरी प्रदान गर्न सकिन्छ भन्ने सोच मनमा पलाउँथ्यो । जग्गाको मूल्य सस्तो तर घर बनाउन र त्योभन्दा पनि घरभित्रको इन्टेरियर नै महँगो पर्ने त्यो बेला आफ्नो सोच कार्यान्वयनमा ल्याउन त्यति सहज थिएन ।

दुई दशकमा अहिले स्थिति फेरिएको छ । पहिले घर निर्माणको लागत ६० देखि ७० प्रतिशत र जग्गाको लागत ३० देखि ४० प्रतिशत हुने गरेकोमा अहिले ठिक उल्टो भएको छ । अर्थात, जग्गाको मूल्य ६०–७० प्रतिशत र घर निर्माणमा ३०–४० प्रतिशत मात्र लागत पर्दछ । त्यसैले उपभोक्तालाई सोचेजस्तै गुणस्तरीय सामग्री उपलब्ध गराउन उनी डेन्युब होममार्फत आक्रामक रुपमा अघि बढेका छन् ।

“हामीले कम्फर्ट हाउजिङ सुरु गर्दा घरको लागतभन्दा फर्निचर र फर्निसिङ महँगो थियो भने जग्गा निकै सस्तो,” राजभण्डारी भन्छन्, “अहिले स्थिति उल्टो भएको छ, पहिले जग्गाबाट कमाउन सम्भव नै थिएन । घरको लागतबाटै नाफा जोड्नु पर्दथ्यो ।” आम उपभोक्तालाई उचित मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउनु नै डेन्युबको लक्ष्य हो ।

नेपालसहित दुई दर्जनभन्दा बढी मुलुकमा डेन्युबका सेवा उपलब्ध छन् र ति मुलुकमा यसका उत्पादन रुचाइएका पनि छन् । नेपालमा सुन्धाराको व्यस्त बजारमा ‘डेन्युब होम’ सुरु गरेका राजभण्डारीले सँगै निर्माणाधीन अपार्टमेन्टमा यसका उत्पादनहरुको ‘डेमो’ पनि राखेका छन् ।

एक वर्षमा तीनवटा आउटलेट स्थापना गर्ने लक्ष्यसहित अघि बढेका उनी कलंकी क्षेत्रमा मिलानो (बाथरुममा सामग्री) र टाइल तथा इलेक्ट्रिकहरुको शोरुम खोल्ने योजनामा छन् भने फर्निचर हबका रुपमा चिनिएको डिल्लीबजारमा डेन्युबका फर्निचरको अर्को शोरुम खोल्ने तयारी भइरहेको छ ।

डेन्युबका अन्य शोरुम पाटनको जावलाखेल वा भैंसैपाटी, बौद्ध चाबहिल वा कोटेश्वरमा विस्तार गर्ने लक्ष्य राखिएको छ भने पोखरा, चितवन, भैरहवालगायतका ठूला सहरलाई पनि उत्तिकै प्राथमिकतामा राखिएको छ ।

राजभण्डारीको वृहत ग्रुप नेपाली रियल इस्टेट क्षेत्रको अग्रणी कम्पनी हो । यसले गत वैशाखमाा स्यानिटरी तथा बाथ फिटिङ्समा प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड ‘मिलानो’लाई आधिकारिक रुपमा नेपाल भित्र्याएको छ । इटालियन ब्राण्ड मिलानो बाथरुम सम्बन्धी प्रिमियम रेन्जका प्रडक्टहरुका लागि संसारभर परिचित छ ।

वृहतले काठमाडौंको कलंकीमा मिलानोको एक्सक्लुसिभ शोरुम समेत आगामी डिसेम्बरबाट संचालनमा ल्याउनेछ । कम्पनीले गत अगष्ट अन्तिम साताबाट वृहतले काठमाडौं सुन्धाराको ताहगल्लीमा डेन्युब होम नेपालको एक्सक्लुसिभ शोरुम सञ्चालनमा ल्याएको छ ।

वृहत ग्रूपका कार्यकारी अध्यक्ष राजभण्डारी भन्छन्, “कोभिड–१९ मा व्यावसायिक जगत नयाँ लगानीका लागि सोच्न पनि मुस्किल भइरहेको बेला हामीले डेन्युबलाई नेपालमा सहकार्यका लागि प्रस्ताव गरेको आठ महिनाभित्र यसको शोरुम नै खोल्न सक्यौं । अब मिलानोलाई पनि नेपाल भित्र्याउँदै छौं ।”

त्यसो त वृहत ग्रुपले उपभोक्ताको बसोबासलाई व्यवस्थित, सहज र अपग्रेड गर्नमा आफूलाई केन्द्रित गर्दै आएको छ । त्यसैको क्रममा घरलाई सुन्दर र सुविधायुक्त बनाउने बेडरुम, किचेनदेखि बाथरुम र गार्डेन सम्मका लागि चाहिने सम्पूर्ण रेन्जका उच्च स्तरीय सामानको वान स्टप सलुशन दिनेगरी डेन्युब र मिलानोलाई नेपाल भित्र्याइएको राजभण्डारी बताउँछन् ।

वृहत ग्रुप अन्तर्गत वृहत इन्भेष्टमेन्ट, वृहत प्रोपर्टी सोलुसन्स, वृहत डेभलपर्स एन्ड बिल्डर्स र स्वयम्भू होटल एन्ड अपार्टमेन्ट्स लगायतका रियल इस्टेटसँग सम्बन्धित कम्पनीहरु र उद्यमशीलता विकास तथा प्रवर्द्धनमा केन्द्रित अन्तरप्रेरणा प्रालि नामका कम्पनीहरु सञ्चालनमा छन् ।

हरेक संकटमा व्यवसायको अवसर आउँछ । संकटमा कसरी ‘सरभाइभ’ गर्नेमात्र नभै कसरी अवसरको सदुपयोग गर्ने भन्ने प्रश्न महत्वपूर्ण हुने राजभण्डारी बताउँछन् ।

“हाम्रो पुस्ताले यो इकोनोमिक साइकलमा धेरै कठिन यात्रा गरिसकेको छ, माओवादी युद्धयताका २६ वर्षमा हामीले भूकम्प, नाकाबन्दी र कोभिड महामारीसम्म बेहोरिसक्यौं,” राजभण्डारी भन्छन्, “हरेक संकटले हामीलाई पाठ सिकाउँदै गएको छ र त्यहीबाट शिक्षा लिएरै हामी अघि बढिरहेका छौं ।”

राजभण्डारीको अनुभवमा रियल इस्टेट क्षेत्रमा सन् २०१५ को भूकम्पअघि मानिसलाई बाहिरी रुपमा राम्रो घर भए पर्याप्त हुन्थ्यो । कसैको घरको आउटलुक हेरेर आफ्नो घर पनि त्यस्तै बनाइदेऊ भनेर आउनेहरु नै धेरै हुन्थे ।

भूकम्पपछि भने राम्रो हैन बलियो र सुरक्षित घरको आवश्यकता सबैले महशुस गरे । संरचनागत रुपमा फेन्सी हैन कि बलियो घर सबैको प्राथमिकतामा रह्यो । हुन पनि भूकम्पको डरले अपार्टमेन्टहरुमा कति वर्षसम्म उपभोक्ता जानै डराएको अनुभव उनीसँग छ ।

कोभिड महामारीले फेरि अर्को शिक्षा दियो । सन् २०१९ मा यो महामारी सुरु भएपछि जसलाई पनि ‘तिमी घरभित्रै बस’ भन्यो । “विगतमा हामी यति व्यस्त थियौं कि आफ्नै घरलाई राम्रोसँग हेर्नसमेत पाएका थिएनौं, घरको स्वास्थ्य हामीलाई नै थाहा थिएन,” राजभण्डारी भन्छन्, “घरभित्र के सामान चाहिन्छ भन्ने नै हामीमध्ये धेरैलाई थाहा थिएन तर कोभिडले आफैंले खाना पकाउन सिक्यौं, कौसी खेतीको कुरा सिक्यौं र मुख्य कुरा छ घरभित्र केके आवश्यक रहेछ भनेर आफैंले महशुस गर्न सक्यौं ।”

महामारीमा वर्क फ्रम होमको अभ्यास सुरु भयो र अझै पनि यो कायमै छ । यसैले घर देख्नमात्र नभै बस्न पनि उत्तिकै सहज चाहन्छि भनेर यस्तै खोज्ने प्रचलन सुरु ग¥यो । यसका लागि घरभित्रका सामग्री सहज र आफ्नो बजेटअनुसार हुनुपर्छ भन्ने धेरैलाई महशुस पनि गरायो ।

नेपालमा गुणस्तरीय फर्निचर र किचन तथा बाथरुमका सामग्री नभएका होइनन् । तर, तिमध्ये कतिपय असाध्यै महँगो तथा कतिपय खरिद गर्नका लागि दर्जनौं स्थान चहार्नुपर्ने बाध्यता थियो । राजभण्डारी स्वयं लामो समयदेखि रियल इस्टेट क्षेत्रमै रहेकाले उनले आफैं र आफ्ना उपभोक्ताबाट पनि यो गुनासो सुन्ने गरेका थिए । कोभिड अवधिमा उनी स्वयंलाई पनि यो महशुस भइरहेको थियो ।

“ठ्याक्कै यही बेलामा डेन्युबले मलाई अफर गर्‍यो, तर मलाई त्यतिबेलासम्म डेन्युब कस्तो ब्रान्ड हो भन्नेसमेत थाहा थिएन,” उनी भन्छन् ।

राजभण्डारीले सोधे– किन मलाई नै रोज्यौ ?
उनीहरुले भने– हाम्रो प्रडक्ट रियल इस्टेटको अनुभव भएकालाई उचित हुन्छ भनेर तपाइँलाई नै रोजेका हौं ।

“मैले व्यवसाय सुरु गर्दादेखि नै यस्तो व्यवसाय सोचेको थिएँ कि कम्प्लिट रियल स्टेट प्याकेज नै दिऊँ । नेपालीको बस्ने शैली कसरी स्तरवृद्धि गर्ने त भन्नेमा लागिपरेका कारण म उनीहरुको कुरामा कन्भिन्स थिएँ । मैले कम्पनीका अन्य साथीहरुसँग कुरा गरेँ, हाम्रो बेष्ट बिजनेस बन्न सक्छ भनेर सल्लाह गरेँ र सहमति पछि अघि बढेँ ।”

अघिल्लो वर्षको सेप्टेम्बरमा सल्लाह सुरु भएदेखि अप्रिलसमको ८ महिनामा शोरुम नै लञ्च गर्नेगरी तीब्र गतिमा काम भयो । वैशाखमा सुरुवात गरे पनि लकडाउनले गर्दा एग्रेसिभ्ली प्रचार प्रसार गर्न नसकिएको उनी बताउँछन् । केही मोडल र व्यवसायीलाई छुट्टाछुट्टै बोलाएर सामान्य ढंगले लञ्च गरेलगत्तै दोस्रो लकडाउनले उनी रोकिए ।

“अझै पनि एक्टिभ प्रमोसन गरिसकेको छैन । यतिञ्जेल स्टोर भिजिट गर्नेहरुको रेस्पोन्सबाट म उत्साहित छु किनकी यो सर्टटर्म बिजनेस हैन,” उनी भन्छन् ।

डेन्युबमा के छ ? भन्ने प्रश्नमा उनको जवाफः क्वालिटीको सामान र प्राइस रिजनेबल । मलाई मोर प्रोफिट नभै प्रोफिट मेन्टेन भएमात्र पुग्छ ।

उनको अनुभवमा अहिले पनि कस्टमरले सोरुममा गएर सामानसँगै मूल्य हेर्दा पत्याउनै गाह्रो मान्छन् । “क्वालिटीको चिन्ता मलाई छैन, डेन्युबको थाप्लोमा जान्छ,” उनी भन्छन्, “ मुख्य कुरा त सामान फ्रेस छ । यस्तै सामान किन्न धेरै ठाउँ जानै परेन । घर बनाएर सकिन लागेको छ भने यहिँ आएमात्र हुन्छ । वेबसाइटबाट इ कमर्स हेरेर पनि सपिङ गर्न सक्नेछन् । स्टोर आएर हेरेर अनलाइनबाट अर्डर गर्न पनि सहज बनाएका छौं ।”

सुन्धाराको आफ्नै भवनमा १० हजार वर्गफिटमा फैलिएको सोरुम सहरी क्षेत्रमा भएकाले सबै प्रडक्ट प्रदर्शनीमा नराखिए पनि अनलाइनबाट हेर्न सकिने व्यवस्था छ । सँगै निर्माणाधीन अपार्टमेन्टमा राखिएको डेमो भिजिट गरेर पनि आफ्नो निर्माणाधीन घरलाई कस्तो र कति बजेटको इन्टेरियर चाहिन्छ भनेर सहजै अनुमान गर्न सकिन्छ ।

प्रकाशित : २ कार्तिक २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह