Logo

अन्तर्वार्ता

नाडाको पिन लगाएको बेला व्यावसायिक स्वार्थ बिर्सने गरेको छु: करण चौधरीको अन्तर्वार्ता


GDP Nepal
   २१ मंसिर २०७८, मंगलबार



अटोमोबाइल क्षेत्रसँग सम्बन्धित व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४५ औं वार्षिक साधारणसभा बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ । संस्थाको नेतृत्वका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष तथा सवारी समितिका सभापति करण चौधरी प्रत्याशी छन् । सिजी मोटोकर्पका कार्यकारी निर्देशक समेत रहेका चौधरी अटोमोबाइल क्षेत्र र नाडाभित्र आफ्नो कर्मलाई नै जित्ने आधार रहेको बताउँछन् । चौधरीसँग नाडा नेतृत्वमा उनका दावेदारीका कारण, टीम र एजेन्डा निर्माणका आधार तथा व्यावसायिक स्वार्थ लगायतका विषयमा जीडीपी नेपालले गरेको कुराकानीः

तपाइँले आफ्नो एजेन्डा र टीम सार्वजनिक गरिसक्नुभएको छ । आफ्नो टीम छनोट र एजेन्डाप्रति कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?


म भन्नेभन्दा गर्ने कुरामा बढी विश्वास गर्दछु । मैले अहिलेसम्म गरेको कर्मलाई देशैभरका आम अटोमोबाइल व्यवसायी साथीहरुले मूल्यांकन गर्नुहुनेछ भन्ने मलाई लाग्दछ । मैले राम्रो गरेको भए पुरस्कार र हौसला दिनुहुनेछ र नराम्रो गरेको भए सजाय दिनुहुन्छ भने म त्यसलाई सहर्ष स्वीकार्न तयार छु । मैले गल्ती गरेकोमा माफी पनि मागिसकेको छु र म भोलि कुनै गल्ती गर्दै गर्दिन भन्न पनि चाहान्न किनकी गल्ती मानिसबाटै हुन्छ । तर, म जानाजान गल्ती वा लापरवाही गर्ने छैन । यसकारण नाडा निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा भए म आफूलाई कमजोर ठान्दिनँ ।

उम्मेदवारी घोषणापछि भेटघाटमा व्यस्त हुनुहुन्छ । अटोमोबाइल क्षेत्रमा काम गर्ने देशैभरका सानाठूला व्यवसायीको रेस्पोन्सचाहिँ कस्तो आएको छ ?


मलाई देशैभरका साथीहरुको रेस्पोन्सले उत्साहित बनाएको छ । यसले पनि मैले अघि भनेजस्तै म बलियो र निर्वाचनमा जित्ने उम्मेदवार हो भन्ने लागेको छ ।

उमेरका हिसाबले त तपाइँ अलि छिटो अध्यक्षको दौडमा अघि सर्नुभयो, केही वर्ष धैर्य गरेको भए हुने थियो पनि भनिरहेका छन् नी ?


यो एकदम सही कुरा हो । उमेरमा म युवा नै हुँ तर मेरो कार्यजीवन भने १६ वर्ष भएछ । उमेरमा युवाकै कुरा गर्ने हो भने विदेशमा ३२ वर्षमै प्रधानमन्त्री हुनसकेका उदाहरण छन् र हाम्रो नाडामा पनि विधानले नै त्यो सुविदा दिएको छ भने किन नहुने भन्ने पनि छ । यसकारण उमेरभन्दा मेरो कार्यानुभव र क्षमता नै महत्वपूर्ण हो भनेर बुझ्न आग्रह गर्दछु र त्यसकै आधारमा म निर्वाचनमा होमिएको छु ।

तपाइँ मुलुकको ठूलो व्यावसायिक घरानाको प्रतिनिधित्व गर्नुहुन्छ । ठूलो घरानाबाट नाडाजस्तो गतिशील संस्थाको नेतृत्व तहमा पुग्न खोज्दा सहज हुने रहेछ कि चुनौती ?


ठूलो घरानामा जन्मिएँ त्यो मेरो भाग्य हो तर त्यसपछि मैले जे गरेँ त्यो भने मेरो कर्म हो । किनकी म कर्ममा विश्वास गर्ने मान्छे हो । सबैलाई म आग्रह गर्छु कि घरानाको कुरा छाडेर कर्मको कुरा गरौं र यसैका आधारमा स्वस्थ प्रतिस्पर्धा गरौं, म नतिजा स्वीकार्न तयार छु ।

ठूलो घरानामा जन्मिएकै कारण दुःख के हो, संघर्ष के हो भन्ने थाहा हुँदैन भन्ने आरोप वा टिप्पणी नाडामा मात्र नभइ अन्य फोरमहरुमा पनि हमेशा भइरहेकै हुन्छ नी ?


संघर्षको कुरा गर्ने हो भने मेरो कार्यजीवन मेकानिकबाट सुरु भएको हो । त्यतिमात्र नभइ ठूलो कम्पनी चलाउँदा जोखिम पनि ठूलै हुन्छ र आफूमात्र नभइ कम्पनीमा कार्यरत हजारौं मानिसको रोजीरोटी कसरी सुरक्षित गर्ने भन्ने चुनौती पनि हुन्छ । यसैले ठूलो कम्पनी भन्नेवित्तिकै आफैं सबै कुरा म्यानेज भइहाल्छ भन्ने सोच्नु गलत हो ।

नाडाको आयतन हिजोभन्दा निकै फराकिलो भएको छ । देशैभरका व्यवसायीको हकहित संरक्षण र व्यवसाय प्रवर्द्धनका लागि तपाइँका कार्ययोजना के छन् ?


नाडा स्थापना भएकै व्यवसायीको हकहित संरक्षण र अटोमोबाइल व्यवसायलाई सुरक्षित र मर्यादित तथा व्यवस्थित बनाउनकै लागि हो । व्यवसायीको हकहितको लागि मैले काम गर्न सकिनँ भने म त्यो कुर्सीमा बस्नुको कुनै अर्थ रहँदैन र नाडाले हेर्न सकेन भने यो संस्थाको पनि कुनै काम छैन । नाडाले सरकार व्यवसायीबीच पुलको काम गर्ने हो ।

विगतको अनुभव हेर्ने हो पुलको भूमिका त्यति सहज छैन किनकी राज्य नै तपाइँहरुप्रति त्यति उदार देखिँदैन । भोलिका दिन झन् चुनौतीपूर्ण छैन र ?


अहिले समय नै यस्तो छ कि मुलुकको पहिलो प्राथमिकता अटोमोबाइल हुन सक्दैन भन्ने हामीले स्वीकार्नु पर्छ । पहिलो प्राथमिकता भनेको कोभिडको खोप सहज उपलब्धता र जनताको जीउज्यान सुरक्षा नै हो । मलाई विश्वास छ कि मेरै कार्यकालमा यो त्रासदीबाट मुक्ति पाएर पुनः जनजीवन लयमा फर्किनेछ र हामीले अटोमोबाइल क्षेत्रको दिगो विकास र विस्तारका लागि काम गर्न पाउनेछौं । सरकारसँग हातेमालो गर्दै यो क्षेत्रलाई माथि उठाउन सक्नेमा हामी आशावादी छौं ।

अटोमोबाइल क्षेत्र आवश्यकता हो वा विलाशिता भन्ने विवाद वर्षौंदेखि छ, तपाइँहरुले यस विवादलाई कसरी समाधान गर्नुहुन्छ ?


पहिलो कुरा त यसमा वर्गीकरण जरुरी छ । विलाशिताको विषय हो वा होइन भन्ने निक्र्योल गरिनुपर्छ । यसको वर्गीकरण नाडाले गर्दा विवाद हुनसक्छ भन्नेमा पनि हामी सचेत छौं । यसैले सरकारलाई यसका निमित्त स्वतन्त्र र विश्वसनीय ढंगले वर्गीकरणका लागि दबाब दिने हाम्रो योजना छ ।

पछिल्लो समय विद्युतीय सवारीसाधन (ईभी)का विषयमा अटोमोबाइल व्यवसायीहरुबीच मतैक्यता छैन । नाडाले सबैको आवाजको प्रतिनिधित्व कसरी गर्न सक्छ ?


आज व्यवसायीहरुबीच ईभीका विषयमा मतैक्यता हुनुमा स्वयं उनीहरुको ईभी हुनु र नहुनु मात्र कारण हो भन्ने जो कोहीले पनि बुझेको छ । नाडाको धारणाको कुरा गर्ने हो भने ईभीमा जानुपर्छ भन्नेमा हामीबीच विवाद छैन । यसमा कसरी अघि बढ्ने भन्नेमा हामीले नै सरकारलाई डोर्याउनुपर्ने अवस्था छ । मेरो एजेन्डा यो पनि छ ।

नाडाको नेतृत्वमा पुगेपछि तपाइँले आफ्नो व्यावसायिक स्वार्थलाई कसरी बाहिर राख्नुहुन्छ ?


मैले यसको अभ्यास गत चार वर्षदेखि गर्दै आएको छु । आजसम्म सफल नै भएको छु । म नाडाको गेटभित्र वा नाडाको पिन लगाएको दिन व्यावसायिक स्वार्थ विर्सने गरेको छु । मैले चार वर्षसम्म जुन प्रयास गरेँ, त्यो अबका दुई वर्षसम्म जारी राख्नेछु ।

तपाइँले जुन टिम बनाउनुभयो, त्यसको आधार के थिए ?


मैले नयाँ टिम बनाएको भन्दा पनि नाडामा अहिले काम गरिरहेका साथीभाइको टीममा केही थप गरेको मात्र हो । यसको मूल आधार भनेको नै काम गर्ने इच्छाशक्ति तथा क्षमता हो । काम गर्ने इच्छा र आकांक्षा भए मेरो टिममा १७ जना नभइ सय जना भए पनि टिमवर्कले काम गर्न सकिन्छ ।

प्रादेशिक तहमा विस्तार हुनुभएको छ । प्रादेशिक तहमा जाँदा फाइदा के हुने रहेछ र बेफाइदा कति हुने रहेछ ?


प्रादेशिक तहमा जाँदा फाइदा भनेको सबैसँग सम्पर्कमा आउन पाइने रहेछ । सबै क्षेत्रका समस्याको सुनुवाई गर्न सहज हुने रहेछ । बेफाइदा चाहिँ यस्तो राम्रो काममा किन ढिलाई गरिएछ भन्ने नै हो ।

अन्त्यमा, तपाइँले अर्को टिमको निर्माण, एजेन्डा र रणनीतिलाई कसरी हेरिरहनुभएको छ ?


म समग्रमा समेटेर जाउँ भनेर लागिरहेको छु । हामी सबै नाडा परिवारका सदस्य हौं । सकेसम्म निर्विरोध नेतृत्व चयन गरौं भन्ने नै मेरो धारणा छ र यसका लागि अन्तिमसम्म प्रयास गरिरहेको छु ।

निर्वाचन भइहालेमा अथवा तपाइँ विजयी भएमा अर्को टिमलाई कसरी समेट्नु हुन्छ ?


म खुला छु, उहाँहरुको प्रस्ताव पनि आउला । त्यसमा छलफल गरेर अघि बढौंला ।

उहाँहरुलाई समेट्ने तपाइँको पनि कुनै योजना छ कि ?


म कसैसँग पनि मनमुटाव गरेर जाने पक्षमा छैन । संस्था उहाँहरुको पनि हो, हाम्रो पनि हो । नेतृत्वमा आज एउटा पुग्छ भोलि अर्को भने व्यर्थमा विवाद गरिरहनु आवश्यक छैन । सबै मिलेर अटोमोबाइल व्यवसायलाई गतिशील बनाउने हो ।

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह