Logo

विकास / पूर्वाधार

जटही–ढल्केबर सडक निर्माण अन्तिम चरणमा


GDP नेपाल
   ६ पुस २०७८, मंगलबार


काठमाडौँ ।

व्यापारिक मार्गका रुपमा रहेका जटहीदेखि जनकपुर हुँदै ढल्केबरसम्मको सडकको निर्माण अन्तिम चरणमा पुगेको छ ।

सो सडकमा अहिले झण्डै डेढ किलोमिटर मात्रै निर्माण बाँकी रहेकामा अबको केही महिनामा सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको सक्रियतामा सडक निर्माण द्रुतगतिमा अघि बढेको छ । डेडिकेडेट छ लेनमा सडकको निर्माण भइरहेको छ । सडकसँगै यहाँका निर्माणाधीन पुल पनि चैतसम्ममा सम्पन्न हुने बताइएको छ ।

जनकपुरको मुजेलियाबाट जिरो माइलसम्मको सडक मात्रै कालोपत्र बाँकी रहेको छ । झण्डै ४० किमी लम्बाईको सडक भारतीय सीमाबाट पूर्व–पश्चिम राजमार्गसम्म पुग्ने गरी निर्माण भएको व्यापारिक मार्ग विस्तार योजनाले जनाएको छ । बिसं। २०७१/७२ मा निर्माण सुरु भएकामा हालसम्म ३८ दशमलव पाँच किलोमिटर सम्पन्न भइसकेको योजनाका निमित्त प्रमुख रामटहल यादवले बताउनुभयो । उहाँका अनुसार चार ठेक्कामा निर्माण भइरहेकामा तीन ठेक्का सम्पन्न भइसकेको छ । उहाँले भन्नुभयो, “निर्माणाधीन खण्डमा पनि चाँडै सकिनेछ ।”

गत आबको अन्त्यसम्ममा साढे दुई किमी सडक कालोपत्र बाँकी रहेको थियो । एक किलोमिटर सडक साउनदेखि अहिलेसम्ममा सम्पन्न भएर अब डेढ किलोमिटर बाँकी रहेको प्रमुख यादवले बताउनुभयो । निर्माणाधीन ठेक्काको अवधि आगामी चैतसम्म रहेकामा त्यो अवधिमा सम्पन्न हुने उहाँको भनाइ छ ।

सडक निर्माणमा चार ठेक्कामध्ये दुई ठेक्का आब २०७१/७२ र अर्को दुई ठेक्का आव २०७३/७४ मा सम्झौता भएको थियो । पहिले भएका दुबै ठेक्का सम्पन्न भइसकेको र पछिल्लो पटक भएका दुई ठेक्कामध्ये एउटा सम्पन्न भइसकेको छ भने एउटा सम्पन्न हुने क्रममा छ । सो सडक निर्माणमा पनि निर्माणस्थल खाली गराउँदा केही समय लागेको थियो । व्यक्तिगत सम्पत्ति नभएपनि सार्वजनिक सम्पत्तिलाई हटाउनका लागि प्रक्रियामा लामो समय लाग्दा निर्माण सुरु गर्न केही समय ढिलाइ भएको योजनाले जनाएको छ । विद्युत्को पोल, खानेपानीको पाइप, टेलिफोनको तार सार्नमा समय लागेको निमित्त प्रमुख यावदले बताउनुभयो । “त्योसँगै त्यहाँ रहेका सरकारी घरटहरा र शौचालय हटाउन पनि समय लागेको थियो”, उहाँले भन्नुभयो, “अहिले काम गर्न बाँकी एक किलोमिटरमा निर्माणस्थल खाली गराउन समस्या छैन ।”

सो सडकको अधिकांस स्थानमा ५० मिटर चौडाइ रहेको योजनाले जनाएको छ । विशेषगरी बस्ती क्षेत्रमा ५० मिटर चौडाइ गरिएको छ भने अरु ठाउँमा साढे ३७ मिटर चौडा बनाइएको छ ।

यो सडकको निर्माणले खासगरी उद्योग व्यवसायको क्षेत्रमा फाइदा पुग्ने अपेक्षा गरिएको छ । भारतीय सीमा क्षेत्रमा रहेको भन्सार कार्यालयलाई देशको पुरानो सडक पूर्व–पश्चिम राजमार्गसँग जोड्नेछ । त्यससँगै यहाँ रहेका झण्डै एक दर्जनभन्दा बढी गाउँमा पनि त्यहाँको जनजीवन सडक निर्माणले सजिलो बनाउने अपेक्षा गरिएको छ । सडक निर्माणसँगै सडकले समेट्ने क्षेत्रमा उद्योग र व्यवसायहरु फस्टाइरहेका छन् ।

सो सडकमा जम्मा सात पुल निर्माण गर्नुपर्नेमा अहिलेसम्म दुई पुल मात्रै सम्पन्न भएका छन् । पाँच पुल निर्माणाधीन अवस्थामा रहेका छन् । ती पुलको निर्माण कार्य पनि अन्तिम चरणमा रहेको र आगामी चैतसम्ममा नै सम्पन्न हुने योजनाले जनाएको छ ।

भारतीय सीमानाका जटहीलाई प्रदेश नं २ को राजधानी जनकपुर हुँदै पूर्व–पश्चिम राजमार्गसँग जोडिने हुँदा यसलाई भौतिक पूर्वाधार मन्त्रालयले पनि विशेष महत्वका साथ अघि बढाउन चाहेको छ । मन्त्री यादव, भौतिक पूर्वाधार सचिव रबिन्द्रनाथ श्रेष्ठ र सडक विभागका कर्मचारीले सडकको निरीक्षणका लागि पटक पटक पुग्ने गरेका छन् ।

प्रकाशित : ६ पुस २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह