Logo

विकास / पूर्वाधार

उत्तरी म्याग्दीमा दुई लेनको सुरूङमार्गको अध्ययन


GDP नेपाल
   ७ पुस २०७८, बुधबार


पटकपटक कालिगण्डकी नदी र दोवा खोलाको कटानले सडक साँघुरिएपछि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकोटमा सुरुङमार्ग निर्माण गर्न अध्ययन थालिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने उक्त सडकखण्डमा कालिगण्डकी नदीको धार नै परिवर्तन भएपछि कालिगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले करिब ३०० मिटर सुरुङमार्ग निर्माण गर्ने निष्कर्षमा पुगी अध्ययन सुरु गरेको छ ।

अन्नपूर्ण–१ दोबाको सुनारी गाउँ हुँदै बग्ने ठाडो खोलाको बेगको असरले हरेक वर्ष तीव्ररुपमा भइरहेको कटानका कारण थप चट्टान काट्न असम्भव जस्तै भएपछि सुरूङमार्गको आवश्यकता देखिएको आयोजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो ।

“सुरुङमार्ग बनाउन तीन वर्ष अगाडि नै प्रारम्भिक अध्ययन गरिएको थियो, यस वर्ष उच्च प्राथमिकतामा राखी फेरि अध्ययन अगाडि बढाइएको छ”, प्रमुख प्रजापतिले भन्नुभयो । बेनी–जोमसोम सडकखण्डको सबैभन्दा चुनौतीपूर्ण स्थानमध्येमा पर्ने भिरकोटको समस्या समाधानको उपयुक्त विकल्प नै सुरुङमार्ग भएको प्रमुख प्रजापतिको भनाइ छ ।

एक मिटर सुरूङमार्ग बनाउन रु १७ लाख अनुमान गरिएकाले करिब रु ५० करोड लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । “लागत अझै पनि थपघट हुनसक्छ, सवारीसाधन आउन र जानका लागि दुई वटा लेन हुनेछ”, प्रमुख प्रजापतिले भन्नुभयोे । सुरुङमार्ग दोबा गाउँ जाने बेलिब्रिज नजिकको पहाडबाट पोखरेबगरतर्फको सडकखण्डमा छुने गरी बनाइने सुरुङमार्ग सवारीसाधन आवतजावत गर्ने मिल्ने गरी दुई लेनको ११ मिटर फराकिलो हुनेछ ।

सडकखण्डको म्याग्दीतर्फ नदी कटान, प्राकृतिक विपत्तीलगायतका कारण ढिलाइ भइरहेकाले अति जोखिम स्थानमा खर्चिलो विकल्पको प्रयोग गरेर भए पनि स्तरोन्नतिको काम अगाडि बढाउने नेपाल सरकारको योजना छ ।

रु सात अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको १८६ किमी दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत सडक तथा पुल निर्माणमा हालसम्म रु चार अर्ब ७३ करोड खर्च भइसकेको लेखा अधिकृत शेखरचन्द्र सापकोटाले बताउनुभयो ।

बेनी–जोमसोम खण्डको ६५ र जोमसोम–कोरला खण्डको ८५ प्रतिशत काम सम्पन्न भएको छ । तेह्र वटा खण्डअन्तर्गत आयोजनाको कार्यक्षेत्र बागलुङ र पर्वतको सिमानामा रहेको मालढुङ्गादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हँुदै कोरला नाकासम्म पर्छ ।

म्याग्दी खण्डमा डिबिएसडी र मुस्ताङमा आक्सपाल्ट प्रविधिको कालोपत्र भइरहेको छ । सडकखण्डको सबैभन्दा जोखिम मानिने म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा १.२ किमी सडक विस्तारका लागि डोजरको सहायताले मात्रै ट्रयाक निर्माण नभएपछि विष्फोटक पदार्थको प्रयोगले भिर फुटाउन ५० टन विष्फोटक पदार्थको प्रयोग गरिने र थप १० टनका लागि आवश्यक प्रक्रियामा रहेको आयोजनाले जनाएको छ ।                                        

प्रकाशित : ७ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह