Logo

अर्थनीति

कर आतंक बढेपछि निजी क्षेत्रले विश्व बैंंक गुहार्यो


appharu
   १३ भाद्र २०७५, बुधबार


काठमाडौं । नेपालमा पछिल्लो समय कर आतंक बढ्दै गएपछि निजी क्षेत्र निकै ठूलो त्रासमा छ । स्थायी सरकार गठनपछि मुलुकमा लगानीमैत्री वातावरण निर्माण हुने अपेक्षामा रहेको निजी क्षेत्र संघीय सरकारदेखि प्रादेशिक र स्थानीय सरकारले सिर्जना गरेको कर आतंक तत्काल समाप्त नहुने निष्कर्षमा समेत पुगिसकेको छ ।

निजी क्षेत्रले प्रधानमन्त्रीलगायतका मन्त्रीहरुलाई कर आतंक अन्त्य गर्न आग्रह गरे पनि आश्वासनमात्रै पाएको छ । त्यसैले महासंघले सरकारमाथि दवाव सिर्जना गर्न रणनीतिक रुपमा दातृ निकायसमेत गुहार्न थालेको छ ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले विश्व बैंकका देशीय निर्देशकलाई टेकुस्थित सचिवालयमा आमन्त्रण गरेरै कर आतंक बढेको विषयमा गुनासो गरेको छ । महासंघ अध्यक्ष भवानी राणाले करमैत्री र लगानीमैत्री वातावरण निर्माणमा विश्व बैंकको महत्वपूर्ण भूमिका हुनसक्ने बताएको महासंघले जारी गरेको विज्ञप्तिमा पनि उल्लेख छ ।

राणाले विश्व बैंकका कन्ट्रि म्यानेजर फेरिस हादाद जर्भसलाई करमैत्री वातावरण निर्माणका लागि सहजीकरणमा सहयोग गर्न आग्रह गरिन् । झट्ट सुन्दा यो कुरा सामान्य लागे पनि महासंघले विश्व बैंकलाई रणनीतिक रुपमा उपयोग गर्न चाहेको देखिन्छ ।

यसको कारण हो– नेपालको आर्थिक नीति निर्माणमा विश्व बैंकलगायतका शक्तिशाली दाताको प्रभाव । अझ करसम्बन्धी अधिकांश नीति तथा कानुन विदेशी दाताकै सहयोग र सुझावमा बनेका हुन् भने उनीहरुको प्रभाव अझै उस्तै छ ।

महासंघलगायतका निजी क्षेत्रको कुरा सुने पनि सरकारले कहिल्यै गम्भीर रुपमा लिँदैन । तर, विश्व बैंकलगायतका दातृ निकायले दवाव दिने हो भने जुनसुकै नीति रातारात परिवर्तन भएका नजिर छन् । त्यसैले पनि महासंघले विश्व बैंकलाई उपयोग गरेर कर आतंक समाधान गर्न खोजेको देखिन्छ ।

महासंघले जारी गरेको विज्ञप्तिमा पनि निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था महासंघको देशव्यापी संजाल रहेकोले विश्व बैंक र महासंघ बीच अझ बढी सहकार्यको आवश्यकता रहेको अध्यक्ष राणाले औल्याएको उल्लेख छ । महासंघले विश्व बैंकसँग नीतिगत विषयमा सहकार्य गर्न चाहेको राणाले स्पष्ट संकेत गरिन् ।

यद्यपि सो भेटवार्तामा विश्व बैंक र निजी क्षेत्र बीचको सहकार्यलाई पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास लगायतका क्षेत्रमा केन्द्रीत गर्नुपर्नेमा जोड दिइएको उल्लेख छ ।

यस्तै, भेटमा विश्व बैंकका कन्ट्रि म्यानेजर फेरिस हादाद जर्भसले महासंघसंगको भेटवार्ता निकै महत्वपूर्ण रहेको र नेपालको विकास प्रयासमा निजी क्षेत्रसंग मिलेर कार्य गर्ने विश्वास दिलाएका थिए । उनले विश्व बैंकद्वारा नेपाल सरकार अर्थ मन्त्रालय समेतको सहभागितामा छिट्टै एक कार्यशाला आयोजना गर्ने कार्यक्रम रहेकाले उक्त कार्यक्रममा महासंघ लगायत अन्य सरोकारवालाहरूलाई सहभागी गराएर छलफलका माध्यमबाट योजना बनाउने आश्वासन दिएका छन् ।

प्रकाशित : १३ भाद्र २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह