Logo

अर्थनीति

चिनी आयात रोक्न प्रधानमन्त्रीको निर्देशनले चाडबाडमा मूल्य बढ्ने चिन्ता


appharu
   २३ भाद्र २०७५, शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उखु कृषकको समस्या समाधानका लागि भन्दै शुक्रबार तत्काल चिनी आयात रोक्न निर्देशन दिए । भन्सार दर दोब्बर वृद्धि गरेर ३० प्रतिशत पुर्याए पनि आयात रोक्न नसकेको सरकारले अन्ततः चाडबाडको मुखमा चिनी आयात रोक्ने अप्रिय निर्णय लिनुपर्यो ।

आयात रोक्ने निर्णयसँगै हालको बजार मूल्य नबढाउने शर्त स्वदेशी व्यवसायीलाई राखिनुपर्नेमा सरकारको ध्यान त्यसतर्फ भने गएको पाइँदैन । यसले चाडबाडमा चिनीको मूल्य बढ्ने हो कि भन्ने आशंका पैदा भएको छ । किनकी नेपालमा आयातित चिनीले बजार मूल्यमा हस्तक्षेप गरिरहेको अवस्था छ ।

प्रधानमन्त्री ओलीले स्वदेशी उद्योगीको आग्रहमा र उखु कृषकको समस्या समाधानका लागि यस्तो निर्देशन दिएका हुन् । उद्योगी र उखु कृषकका लागि यो निर्देशन कार्यान्वयन भएमा राहत नै दिए पनि चिनीको मूल्य बढ्ने भएकाले आम उपभोक्तालाई भने समस्या पार्नेछ ।

त्यसो त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आयात रोक्न प्रस्ताव यसअघि नै गरेको हो । स्वदेशी उद्योगीले उत्पादन गरेको चिनीले बजारभाउ नपाएर गोदाममा थन्किएको गुनासो गरेपछि सरकारले केही समय आयातमा प्रतिबन्ध लगाउने तयारी गरेको थियो ।

तर, प्रधानमन्त्री स्वयं अग्रसर भएर आयातमा प्रतिबन्ध लगाउने निर्णय गर्नुपर्यो । यसले उखु कृषकको समस्या समाधान गर्ला नगर्ला तर उखु उद्योगीको समस्या भने समाधान हुनेछ । किनकी उनीहरुको गोदाममा रहेको चिनी अब बिक्री हुनेछ ।

यससँगै उखु किसानको बाँकी भुक्तानी आगामी १५ दिनभित्र उपलब्ध गराइने बताइएको छ । १२ वटा चिनी उद्योगमध्ये अधिकांशले उत्पादित चिनी बिक्री नै नभएको दुखेसो गर्दै आइरहेका छन् ।
गत वर्ष १ लाख ७७ हजार ९२४ मेट्रिकटन चिनी उत्पादन भएको थियो भने यस वर्ष २ लाख ४० हजार मेट्रिकटन चिनी उत्पादन हुने जनाइएको छ । हरेक वर्ष चिनी उद्योगले उखु कृषकलाई करीब १० अर्ब भुक्तानी गर्ने गरेको बताइन्छ ।

प्रकाशित : २३ भाद्र २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह