Logo

राजनीति

श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरले दिए राजीनामा


GDP नेपाल
   २१ चैत्र २०७८, सोमबार


श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरले पनि सोमबार पदबाट राजीनामा दिनुभएको छ ।

गभर्नर अजिथ काब्रालले मुलुकको आर्थिक सङ्कट आफूले सम्हाल्न नसक्ने अवस्थामा पुगेको भन्दै राजीनामा दिनु परेको उल्लेख गर्नु भएको छ ।

उहाँले राष्ट्रपति गोटाबय राजापाक्षे समक्ष राजीनामा दिएको जनाउनु भएको छ । श्रीलङ्कामा यसअघि सबै मन्त्रीहरूले पनि राजीनामा दिएका थिए ।

देशमा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि गहिरिदै गएपछि जिम्मेबार पदाधिकारीहरूले धमाधम राजीनामा दिन थालेका छन् ।

जिम्मेबार पदाधिकारीहरूले नै धमाधम राजीनामा दिन थालेपछि राष्ट्रपति गोटाबाय राजापाक्षे र प्रधानमन्त्री महेन्दा राजापाक्षे थप सङ्कटमा पर्नु भएको छ ।

आर्थिक सङ्कटका कारण मर्कामा परेपछि असन्तुष्ट नागरिकले सरकारका विरुद्धमा प्रदर्शन गर्न थालेपछि राजनीतिक सङ्कट सुरु भएको हो ।

आन्दोलनकारीले राष्ट्रपति राजापाक्षेको निवास घेर्न थालेपछि सरकारले शनिबार बेलुका ६ बजेदेखि ३६ घण्टे कफ्‌र्यु आदेश जारी गरेको छ ।

आर्थिक संकटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरूविरुद्ध सर्वसाधारणले आक्रोश व्यक्त गर्दै आन्दोलित भएपछि सरकारले श्रीलङ्कामा देशव्यापी सुरक्षाका लागि भन्दै सङ्कटकालको घोषणा गरेको छ ।

चरम आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्कामा हिंसात्मक गतिविधिहरू बढ्न थालेकोले सङ्कटकालको घोषणा गर्नु परेको सरकारी अधिकारीहरूले जनाएका छन् ।

सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवाहरूको मर्मतका लागि भन्दै आपतकालीन अवस्थाको घोषणा गरिएको सरकारले जनाएको छ ।

सरकारको विरोधमा प्रदर्शन गर्नेहरूलाई नियन्त्रणमा लिएर हिरासतमा राख्न पनि सरकारले आदेश जारी गरेको छ ।

आर्थिक मन्दीसँगै अत्यधिक मूल्यवृद्धि र विद्युत आपूर्तिसमेत बन्द हुँदा सर्वसाधारण थप मारमा परेकाले उनीहरु आन्दोलित भएका हुन् ।

सन् १९४८ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको श्रीलङ्का पछिल्लो समय चरम आर्थिक सङ्कटका कारण अत्यावश्यक वस्तुको समेत आपूर्ति गर्न नसक्दा आम सर्वसाधारण मर्कामा परेका छन् ।

प्रकाशित : २१ चैत्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह