Logo

अर्थनीति

वैदेशिक व्यापारमा नेपाललाई प्रत्येक दिन ३ अर्ब ६६ करोड घाटा, निर्यातभन्दा १७ गुणा बढी आयात


appharu
   १६ आश्विन २०७५, मंगलबार


काठमाडौं । वैदेशिक व्यापारमा नेपालको घाटा दिनहुँ बढ्दै गइरहेको छ । चालू आर्थिक वर्षको पहिलो महिनामै नेपालको व्यापारघाटा झन्डै सवा खर्ब पुगिसकेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा १ खर्ब १३ अर्ब ६९ करोड व्यापारघाटा भएको छ । साउनमा नेपालले ६ अर्ब ९२ करोडको सामान बिक्री गरेर १ खर्ब २० अर्ब ६१ करोडको आयात गरेको छ ।
निर्यातको तुलनामा आयात १७ गुणाभन्दा बढी हो । ३१ दिनको साउन महिनामा यस हिसाबले प्रत्येक दिन ३ अर्ब ६६ करोडको व्यापारघाटा भएको छ ।

तथ्यांकअनुुसार नेपालले साउन महिनामा निर्यात गरेको रकमले जम्मा २ दिनको आयात धान्नसमेत पुग्दैन । यस्तै आयात निर्यात यही अनुपातमा रहने हो भने चालू आर्थिक वर्षमा वर्षको अन्त्यसम्ममा १३ खर्ब ७४ अर्ब व्यापारघाटा हुने देखिन्छ । जुन संघीय सरकारको बजेटभन्दा बढी हुनेछ ।

प्रतिशतका आधारमा अघिल्लो साउनमा कुल वस्तु आयात ५४.३ प्रतिशतले बढेको छ भने निर्यातको वृद्धिदर ३.२ प्रतिशतमा सीमित छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ४३ प्रतिशत, चीनबाट भएको आयात ३९.५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ९४.९ प्रतिशतले बढेको छ ।

यस्तै, वस्तुगत आधारमा हवाईजहाज तथा पार्टपूजा, अन्य मेशिनरी तथा पार्टपुर्जा, पेट्रोलियम पदार्थ, एम.एस. बिलेट, सवारी साधन तथा पार्टपूर्जा, लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दुरसञ्चारका उपकरण तथा पार्टपुर्जा, रसायनिक मल, यातायातका साधन तथा पार्टपूर्जा, स्वास्थसम्बन्धी उपकरणलगायतका वस्तुहरुको आयात घटेको छ ।

निकासीतर्फ भारततर्फको निर्यात ९.६ प्रतिशतले बढे पनि चीनतर्फको ४४.८ प्रतिशत र अन्य मुलुकतर्फको २.३ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, जुस, दाल, जडिबुटी, लगायतका वस्तुको निर्यात बढेको छ भने तयारी पोशाक, जुटका सामान, रोजिन, अलैंची, पश्मिना, लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

प्रकाशित : १६ आश्विन २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह