Logo

Banner-news

काठमाडौंको चुनावी समीक्षाः अस्थिर स्थापित र शालीन सिर्जना !


GDP Nepal
   १३ बैशाख २०७९, मंगलबार


काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि पाँचदलीय सत्ता गठबन्धनबाट सिर्जना सिंह तथा राप्रपा नेपाल र परिवार दलसहितको तीन दलीय गठबन्धनबाट नेकपा एमालेका केशव स्थापितबीचको प्रतिस्पर्धा हुँदैछ । महानगरमा मेयरका आकांक्षी झन्डै ५ दर्जनमध्ये मुख्य प्रतिस्पर्धा भने सिंह र स्थापितबीच नै हुनेछ ।

काठमाडौं महानगरपालिकाका लागि स्थापित ‘टेस्टेड मेयर’ हुन् भने सिर्जना अहिलेसम्म कुनै सार्वजनिक पदमा नपुगेकी तर लो प्रोफाइलमा बसेर सामाजिक काम गरिरहेकी पुरानो नेतृ हुन् ।

सर्वोच्च नेता गणेशमान सिंहको परिवार, आफ्नै पनि गौरवमय राजनीतिक इतिहास र स्वभावमा शालिनता र विनयशीलता नै सिंहका विशेषता हुन् ।

यसको ठीक विपरीत अस्थिर राजनीतिक चरित्र, हावादारी सपना बाँड्ने अनि विवादका पर्यायवाची हुन् स्थापित । आफ्नै कर्मचारी र महिला पत्रकारमाथि आशक्ति देखाएको आरोपका बारेमा उनले प्रतिवाद गर्न चाहेनन् र यसलाई आफ्नो चर्चामा आइरहने विशेषताका रुपमा प्रस्तुत गरिरहेका छन् ।

सिर्जना सिंह गोरखाबाट काठमाडौं आइ नेपाल विद्यार्थी संघको राजनीतिमा उचाई लिँदै गर्दा विवाहसँगै उनको राजनीतिक यात्रामा ‘ब्रेक’ लागेको देखिन्छ । तर, २०४६ सालको राजनीतिक आन्दोलनको केन्द्रविन्दु चाक्सीबारीकी बुहारी उनी आफैं राजनीतिक रुपमा सचेत भएकाले उनको राजनीतिक इतिहासलाई प्रतिपक्षबाहेक कसैले पनि पारिवारिक विरासतका रुपमा व्याख्या गरेको पाइँदैन ।

स्थापित भने राजनीतिक रुपमा अत्यन्तै अस्थिर छन् । २०५४ मा कांग्रेसका मनमोहन भट्टराईलाई पराजीत गर्दै मेयरमा विजयी भएपछि माइतीघर र रत्नपार्ककका संरचना भत्काएर चर्चामा आएका उनी त्यसपछि भने कहिले राजाको शासनकालमा मनोनित मेयरको नियुक्ति लिन दौडिए भने एमाले छाडेर माइतीघरमा कार्यालय खोली प्रजापरिषद पार्टी ब्युँताए ।

स्थापित यतिमा मात्र रोकिएनन् । उनले दरवारको विश्वासपात्र बनेर माओवादीका लागि समेत काम गरेका थिए । खासगरी महानगरका नाउँमा सञ्चार उपकरण आयात गरेर युद्धरत माओवादीलाई उपलब्ध गराउने उनको भूमिका रह्यो । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि उनले सोही पार्टीबाट सक्रियता अघि बढाए पनि राम्रो भूमिका भने पाएनन् र फलतः एमालेमै फर्किए ।

एमाले अध्यक्ष केपी ओली प्रजातान्त्रिक राष्ट्रिय युवा संघको अध्यक्ष रहँदा महासचिव रहेका स्थापित २०७४ को निर्वाचनपछि बागमती प्रदेश सरकारको भौतिक निर्माण मन्त्री रहे पनि मुख्यमन्त्रीसँगको विवादका कारण पदमुक्त गरिए । मन्त्री रहँदा गाँजालाई वैधता दिनुपर्छ भन्ने अभिव्यक्तिका कारण उनी बारम्बार चर्चा र विवादमा तानिए ।

सिर्जना र स्थापितबीच तुलना गर्नुपर्दा सिर्जना कम बोल्ने अन्तरमुखी स्वभावकी छन् भने स्थापित आवश्यकताभन्दा बढी बोल्ने स्वभावका छन् । स्थापितले आफूलाई अनुभवी मेयरका रुपमा बलियो भएको दावी गरिरहे पनि काठमाडौं नगरपालिकालाई महानगरपालिका बनाउने पीएल सिंहकै बुहारी हुन् सिर्जन । यतिमात्र नभै स्थापितलाई नै उपमेयरमा पराजीत गर्ने नवीन्द्रराज जोशीले समेत सधैँ आदर र सम्मान गर्दथे सिर्जनालाई ।

नेपालको पहिलो महानगर सञ्चालनको अनुभव चाक्सीबारीमै भएकाले सिर्जनालाई भोलिका दिनमा काम गर्न अनुभवको कमी हुने देखिँदैन । काठमाडौं–१ मा प्रकाशमान सिंहको लगातार तीन जित निकाल्न सिर्जनाको सामाजिक योगदानको भूमिका मुख्य रहेकाले पनि उनी नेवार र गैरनेवार दुवै समूहमा भिजेकी उम्मेदवार मानिन्छिन् ।

नेकपा एमाले विभाजनपछि काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ६ स्थान जितेको एमालेका सांसद आधा–आधा बाँडिएका छन् । कांग्रेस आफैंले ४ क्षेत्र जितेको र नेकपा एकीकृत समाजवादीका अन्य ३ सांसदसमेतको प्रभाव तथा माओवादीको समेत साथ र सहयोगका आधारमा आफ्नो जीत सुनिश्चित गर्न सिर्जना अग्रसर देखिन्छिन् भने स्व. गणेशमान सिंहको परिवारका रुपमा सदभाव त छँदैछ ।

विगतमा विद्यासुन्दर शाक्य नेतृत्वको चरम असफलता तथा उपमेयरमा पार्टी सदस्यसमेत नरहेकी सुनिता डंगोललाई उम्मेदवार बनाइएको कारण नेकपा एमालेलाई यसपटक काठमाडौंमा जित हासिल गर्न सहज नरहेको बताइन्छ । स्थापितमाथिको ‘मि टू’ आरोप अझै चर्कंदै जाने र विगतमा एमाले नेतृत्वको सरकारले ल्याएको गुठी विधेयकको तुष अझै रहेकाले पनि स्थापितमाथि चुनौती रहेको महानगरवासीको भनाइ छ ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह