Logo

राजनीति

विशिष्ट व्यक्तित्व र शीर्ष नेताको मतदान कहाँबाट ?


GDP नेपाल
   २९ बैशाख २०७९, बिहिबार


स्थानीय तह निर्वाचन सम्मुखमा आइपुगेको छ । भोलि वैशाख ३० गते देशभर एकै चरणमा निर्वाचन हुँदैछ । नगर, गाउँ बाहिर रहेका मतदाता निर्वाचनका लागि आ–आफ्नो मतदाता नामावली भएको स्थानीय तहमा पुगिसकेका छन् ।

मुलुकको विशिष्ट व्यक्तित्व, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्रिपरिषद्का सदस्य पनि मतदानका लागि आ–आफ्नो क्षेत्रमा पुगिसक्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मतदानका लागि डडेल्धुरा पुगिसक्नुभएको छ । प्रधानमन्त्री देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र ९ख० बाट मतदान गर्नुहुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुनेछ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । यसैगरी पूर्वप्रधानमन्त्री एवं नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिकाबाट, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलामबाट मतदान गर्नुहुनेछ ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण मावि र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडाँैको मध्यबानेश्वमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ को सत्यवती मावि केन्द्रबाट मतदान गर्नुहुनेछ । यस्तै एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले टोखा नगरपालिका–६ स्थित नमोबुद्ध मावि मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । एमाले उपाध्यक्ष रामबहादुर थापाले चितवनको भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमूना माध्यामिक विद्यालय र उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ भण्डारास्थित भण्डारा अस्पताल केन्द्रबाट मतदान गर्नुहुनेछ ।
यस्तै कांग्रेसका नेता शेखर कोइरालाले मोरङको विराटनगर महानगरपालिका–७ स्थित आदर्श मावि, माओवादीका नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरान्चोक गाउँपालिका–८ स्थित परोपकार माविबाट मतदान गर्नुहुनेछ । माओवादी नेता हरिबोल गजुरेलले सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित कमला माध्यामिकवि र नेता मातृकाप्रसाद यादवले धनुषाको सबैला नगरपालिका–२ स्थित रामप्रसाद उच्च माविबाट मतदान गर्नुहुनेछ ।

सत्ता गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले पकनाजोलस्थित युवक मावि मतदान केन्द्र, नेकपा ९एमाले० उम्मेदवार केशव स्थापितले बागबजारस्थित पद्यमकन्या बहुमुखी क्याम्पस र स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले गैरीगाउँस्थित अन्नपूर्ण विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।

यसैगरी भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादीका उम्मेदवार रेनु दाहालले भरतपुर महानगरपालिका–१४ स्थित आधारभूत विद्यालय सुन्दरवस्ती, एमालेका उम्मेदवार विजय सुवेदीले भरतपुर महानगरपालिका–१२ स्थित मोहन मावि र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले कृष्णपुर माविबाट मतदान गर्नुहुनेछ ।
देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु हुनेछ । मतदान कार्य अपराह्न ५ बजेसम्म जारी रहनेछ । ऐतिहासक निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख÷उपप्रमख, अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कूल ३५ हजार २२१ जना निर्वाचित हुनेछन् । जसअन्तर्गत छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा एक÷एक जना अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडामा वडाध्यक्ष, सोही सङ्ख्यामा महिला र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुनेछन् ।

स्थानीय तह सदस्य निर्वाचनमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । यसपटकको निर्वाचनमा बिहीबारसम्म १८ वर्ष उमेर पूरा भएका बालिक मतदाताले मतदानको अवसर पाएका छन् ।

उपराष्ट्रपतिले मतदान नगर्ने

उपराष्ट्रपति नन्दबहादुर पुनले स्थानीय तह निर्वाचनमा मतदान नगर्ने हुनुभएको छ । उहाँले उपराष्ट्रपतिमा निर्वाचित भएपछिका कुनै पनि निर्वाचनमा मतदान गर्नुभएको छैन । उपराष्ट्रपति पद राष्ट्रको साझा व्यक्तित्वका रुपमा रहेको र अभिभावकीय भूमिकामा रहनुपर्ने भएकाले उहाँले मतदान नगर्ने उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रकाशित : २९ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह