काठमाडौं । भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले मुटु र फोक्सो प्रत्यारोपणमा उच्च सफलता दर प्राप्त भएको जनाएको छ । अस्पतालले यस्तो सफलता दर ८० प्रतिशतसम्म रहेको जनाएको छ । शुक्रबार काठमाडौंमा गरिएको अन्तक्रियामा अपोलोका वरिष्ठ चिकित्सकहरुले युरोप र अमेरिकाको तुलनामा अपोलोमा कम खर्चमै मुटु र फोक्सो प्रत्यारोपण भइरहेको जानकारी दिए ।
अमेरिका र बेलायतको दाँजोमा भारतमा मुटु र फोक्सो प्रत्यारोपण १० गुणा कम खर्चमा हुने विज्ञले बताएका छन् । खर्च कम हुने भएकाले खाडी राष्ट्रसँगै पश्चिमी मुलुकका बिरामीसमेत भारत आउने गरेको उनीहरूको भनाइ छ ।
चिकित्सकहरुका अनुसार फोक्सो प्रत्यारोपण गराउनेको दाँजोमा मुटु प्रत्यारोपण गराएकाहरू बढी बाँच्ने गरेको पाइएको छ । पछिल्लो समय फोक्सो प्रत्यारोपण गराएकाहरू औसत ७.४ वर्ष र मुटु प्रत्यारोपण गराउनेहरू १३.३ वर्ष बाँच्ने गरेका छन् ।
अपोलोले नेपाली बिरामीलाई पनि भारतीय नागरिकसरह सुविधा उपलब्ध गराउने भएको छ । नेपाली बिरामीलाई अन्य उपचारमा जस्तै मुटु र फोक्सो प्रत्यारोपणमा पनि विशेष सुविधा उपलब्ध गराइने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । जसअनुसार भारतीयसहित नेपाली नागरिकले अन्य विदेशी नागरिकको तुलनामा १५ प्रतिशतसम्म सस्तोमा सेवा पाउनेछन् ।
“हामीले विगतदेखि नै नेपाली नागरिकका लागि विदेशीसरह शुल्क लिने गरेका छैनौं,” पत्रकार सम्मेलनमा अपोलोका पल्मोनोलोजी विभाग, क्रिटिकल केयर एण्ड स्लीप मेडिसिन विभागका वरीष्ठ सल्लाहकार डा. एमएस कँवरले भने, “मुटु र फोक्सो प्रत्यारोपणजस्तो जटिल र महँगो उपचारमा पनि हामी नेपाली बिरामीका लागि विशेष सुविधा उपलब्ध गराउन प्रतिबद्ध छौं ।”
डा. कँवरका अनुसार अस्पतालले मुटु प्रत्यारोपण सेवा दिन थालेको १५ बर्ष पुग्यो । यो अवधीमा ९० जनामा मुटु प्रत्यारोपण गर्न सफल भएको छ ।
अस्पतालले करीब ८ बर्ष देखि फोक्सो प्रत्यारोपण सेवा पनि सुरु गरेको छ भने अहिलेसम्म १९६ जनाको मात्रै फोक्सो प्रत्यारोपण गर्न सफल भएको छ । शुक्रबार आयोजित कार्यक्रममा डा. कँवरले भारतमा अंग प्रत्यारोपण सम्वन्धी नीति र आफ्नो अस्पतालले गरेको विकासका बारेमा जानकारी दिए ।
अपोलोका कार्डियोथोरासिक मुटु तथा फोक्सो प्रत्यारोपण शल्यक्रिया विशेषज्ञ डा मुकेश गोयलले फोक्सोको दीर्घकालिन बिरामी भएर बाच्नु बिरामी र परिवारका लागि निकै कष्टकर तथा खर्चिलो हुने भन्दै प्रत्यारोपण उपयुक्त बिकल्प भएको धारणा राखे । उनले फोक्सोको प्रत्यारोपण पछि बिरामीले गुणस्तरीय जीवन लिन सक्ने बताए ।
कार्यक्रममा कार्डियक इलेक्ट्रोफिजियोलोजिष्ट र इन्टरभेन्शनल कार्डियोलोजिष्ट डा विनिता अरोराले देब्रे मुटुले काम नगर्ने अधिकांश बिरामीहरुको उच्च मृत्युको कारण या त मुटुको पम्प फेल हुन्छ या त अचानक कार्डियाक अरेष्ट हुन्छ भन्दै यस्तो बेलामा सावधानीपूर्वक जाँच गरेर कार्डियाक रिसिंक्रोनाइजेसन थेरापी उपकरण स्वचालित प्रत्यारोपणयोग्य डिफिब्रिलेटर उपकरणहरु प्रयोग गरि बिरामीलाई बचाउन सकिने बताइन् ।
मिर्गौला, कलेजो जिवित मान्छेबाट प्राप्त गर्न सकिने भएपनि फोक्सो र मुटु भने ब्रेन डेथ भएका व्यक्तिबाट मात्रै झिकेर प्रत्यारोपण गर्न मिल्छ । भारत सरकारले मस्तिस्क मृत्यु भएका व्यक्तिहरुबाट संकलन गरेको अंगहरु प्राथमिकता निर्धारण गरेर प्रत्यारोपण गर्ने नीति लिएको छ । सरकारले सञ्चालन गरेको निकाय नेशनल अर्गान एण्ड टिस्यु ट्रान्सप्लान्ट अर्गनाईजेशन (नोट्टो)ले यसको व्यवस्थापन गर्दै आएको छ ।
केही समयअघि दुर्लभ कारणबाहेक सामान्यतया अन्तिम चरणको क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) अर्थात् दम भएका बिरामी र फोक्सोको फाइब्रोसिस भएका बिरामीका लागि प्रत्यारोपण आवश्यक हुन्थ्यो । पछिल्लो दिन कोभिडले गर्दा फोक्सोमा देखिने फाइब्रोसिसका केही केसमा फोक्सोको प्रत्यारोपणको आवश्यक देखिएको पल्मोनोलजी विभागका डा. एमएस कुँवर बताउँछन् ।
अन्तिम अवस्थामा पुगेका फोक्सो र मुटुका रोगीमा अंग प्रत्यारोपण नगरिए ६ महिनादेखि १ वर्षसम्ममा मृत्यु हुन सक्ने डा. गोयलको भनाइ छ । ६०–६५ वर्षभन्दा कम उमेरमा मुटु प्रत्यारोपण र ६५–७० भन्दा कम उमेरमा फोक्सो प्रत्यारोपण उपयुक्त देखिने विज्ञको भनाइ छ ।
प्रत्यारोपणमा नेपालीलाई करिब ७६ हजार अमेरिकी डलर खर्च हुने अपोलोले जनाएको छ । अपोलोमा ८ वर्षयता १ सय ९६ वटा फोक्सो प्रत्यारोपण र १५ वर्षको अवधिमा ९० वटा मुटु प्रत्यारोपण भएको छ ।
प्रतिक्रिया