Logo

मुख्य समाचार

गगन थापा भन्छन्ः अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाउनुपर्छ


GDP Nepal
   २० असार २०७९, सोमबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय छानबिनको माग गरेकै दिन सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्री शेरबहादुर देउवाले नै शर्मालाई पदबाट हटाउनुपर्ने धारणा राखे ।

प्रतिनिधि सभाको बैठकपछि सोमबार सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्रीमाथि संसद भित्र र बाहिर प्रश्न उठेको भन्दै राजीनामा दिनुपर्ने बताएका हुन् ।

अर्थ मन्त्रालयको सिसिटिभी फुटेजका सन्दर्भमा पनि अर्थ मन्त्रालय गैरजिम्मेवार बनेको थापाको भनाइ छ ।

‘अहिले अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडि मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानुपर्छ । यत्रो विषय संसदमा उठ्यो । बाहिर उठ्यो । हो, होइन मलाई थाहा छैन । तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ । कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनु पर्छ र तत्काल छानबिन गर्नुपर्छ’ उनले भने ।

कम्तीमा तीन महिनासम्मको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने नियम रहेको तर अर्थ मन्त्रालयले त्यो नियम पनि नमानेको थापाले बताए । थापाले अर्थमन्त्रीमाथि लागेको आरोप त्यत्तिकै सेलाउन दिन नहुने बताए ।

‘अब यो उठ्यो, यत्तिकै गयो भनेर हुँदैन । यस्तो गर्‍यौँ भने अत्यन्त यसको एउटा नजिर बस्छ । र जे गरेपनि हुन्छ भन्ने कुरा रहन्छ’ उनले भने, ‘वा हुँदै नभएको कुराको आरोप पनि कसैले खेप्नुपर्ने हुन्छ । त्यसैले मलाई लागेको यो अर्थमन्त्रीजीको पनि हितमा छ । तत्काल उहाँले राजीनामा दिने । वा प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाएर यसको छानबिन गर्ने ।’

प्रकाशित : २० असार २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह