Logo

मुख्य समाचार

मोबाइलको अनधिकृत आयात रोक्न भदौ ३० गतेबाट ‘एमडीएमएस’ लागू गर्ने प्रतिवद्धता


GDP Nepal
   ३० श्रावण २०७९, सोमबार


काठमाडौं । मोबाइलको अनधिकृत आयात रोक्न भदौबाट ‘मोबाईल डिभाइस म्यानेजमेण्ट सिस्टम’ (एमडीएमएस) लागू हुने भएको छ । सरकार र व्यवसायीबीच सहमतिसँगै यो व्यवस्था लागू हुने भएको हो ।

नेपाल दुरसञ्चार प्राधिकरण तथा मोबाइल फोन इम्पोर्टस एसोसियसनले आयोजना गरेको एक कार्यक्रममा दुवै पक्षले यस्तो सहमति जनाएका हुन् ।

नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनधिकृत आयात नियन्त्रण गर्न नेपाल दुरसञ्चार प्राधिकरणले आउँदो भदौ ३० बाट मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम सुरु गर्ने निर्णय सहित कार्यक्रम सम्पन्न भएको थियो । एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाईल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि होे ।

नेपाल मोबाइल वितरक संघ तथा अन्य विभिन्न संघ संस्थाहरुको सहभागितामा सम्पन्न सो गोष्ठीमा मोबाइल फोन इम्पोर्टस एशोसियसनका अध्यक्ष दिपक कुमार मलहोत्राले अहिलेको समयमा यसलाई गाँस, बास र कपास पछिको अति आवश्यकीय बस्तुको रुपमा मोबाइल फोन मानिन्छ तर हाल पछिल्लो समय सरकारले विलासिताको बस्तुको रुपमा वर्गीकरण गरी मोबाइल फोन आयातमा प्रतिबन्ध लगाएकोमा दुख व्यक्त गरे ।

सरकारले विदेशी मुद्रा सञ्चितिमा कमी नहोस् भन्ने उद्धेश्य राखेर मोबाइल आयतमा प्रतिबन्ध लगाउन खोजे पनि गैरकानूनी मार्गबाट भन्सार छलीका फोनहरु लाखौँको सङ्ख्यामा भित्रिदा रेमिट्यान्स मार्फत स्वदेश भित्रिने डलरमा समेत नकारात्मक असर पुग्नुका साथै सरकारले अरवौँ राजश्वसमेत गुमाउनु परेको तथ्यप्रति सरकार उदासिन बनेको उनको भनाइ छ ।

गैरकानुनी रुपमा भित्रिने फोनहरु मध्ये चोरीका, रिफर्बिस फोनहरु समेत आउने हुँदा एकातिर आम उपभोक्ताहरु ठगीमा पर्ने गरेका छन् भने अर्कातिर राजस्व घट्ने तथा मोबाइल व्यवसायीको व्यापारमा व्यापक गिरावट आई कर्मचारीहरुको कटौती सम्म गर्नुपर्ने वाध्यताले हजारौँको सङ्ख्यामा बेरोजगारी दर वृद्धि हुने अवस्था आएको मल्होत्रा बताउँछन् ।

मोबाइल फोनको व्यवसायमा देखिएको यो अनधिकृत आयातबाट उत्पन्न भयावह स्थितिले नेपाल प्रहरीको अनुसन्धान कार्यमा समेत कठिनाइ भइरहेको हुँदा एमडीएमएस लागु गर्न अब ढिला गर्न नहुने उनले बताए ।

कार्यक्रममा संघ का उपाध्यक्ष श्री सञ्जय अग्रवालले आउँदो भदौ ३० देखि औपचारिक रुपमा एमडीएमएस शुरुवात हुने र यसको दुई देखि तीन महिनामा सतःप्रतिशत लागु हुने बताए ।

यो दुई–तीन महिनाको समयमा पुराना फोनलाई दर्ता गर्ने समयावधि प्रदान गर्ने हो र भदौ ३० उप्रान्त नेपालमा अनधिकृत आयातित मोबाईल सुचारु हुने वा चल्ने छैनन् । “यो कुरामा नेपाल दुर सञ्चार प्राधिकरणले सतःप्रतिशत प्रतिबद्वता दिएको छ त्यसकारण यसमा कुनैपनि शंका उपशंकाको ठाउँ रहने छैन,” उनले भने, “यो व्यवस्था नेपाल दूरसञ्चार प्राधिकरण र सम्पूर्ण मोबाईल व्यवसायीहरुलाई मात्र नभई देशका सुरक्षासँग पनि जोडिएको कारणले गर्दा हामी सबैले यसलाई सफल तुल्याउने दायित्व वहन गर्नुपर्दछ ।”

एमडीएमएस लागू भएबाट अर्थमन्त्रालयको राजस्व वृद्विमा ठूलो योगदान पु¥याउने भएकाले देशलाई नै चाहिने अति आवश्यक बृहत योजनालाई सबै मिलेर अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सुरेन्द्र लाल हाडाले एमडीएमएसको महत्व, विशेषता र प्रबिधिक पक्षबारे व्यापक विश्लेषण गर्दै यसको व्यावहारिक कार्यान्वयनका बारेमा महत्वपूर्ण जानकारी दिए ।

प्राधिकरणका निर्देशक रेवती राम पन्तले एमडीएमएस नियमावली २०७५का बारेमा बुँदागत रुपमा व्यख्या विश्लेषण गर्दै यसको औचित्य र आवश्यकता प्रष्ट पारेका थिए ।

कार्यक्रमका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले देशको नियम र कानुनभित्र रही सम्बन्धित सरोकारवाला सबैसँग सहकार्य गरी जतिसक्दो चाँडो एमडीएमएस लागु गर्नु पर्नेमा जोड दिए ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अब कुनै विशेष परिस्थिति बाहेक आगामी भदौ ३० बाट एमडीएमएस सिस्टम शुरु गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।

प्रकाशित : ३० श्रावण २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह