Logo

अर्थनीति

निजी क्षेत्र कठिन परिस्थितिमा छ, सबै मिलेर अघि बढ्नुको विकल्प छैनः उपाध्यक्ष संघई


GDP नेपाल
   १९ भाद्र २०७९, आइतबार


मोरङ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले मुलुकको निजी क्षेत्र इतिहासकै अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै निजी क्षेत्रको सुरक्षा र लगानी प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्र एक भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

उपाध्यक्ष संघईले आन्तरिक उत्पादनलाई बढावा दिएर मुलुकलाई आत्मनिर्भर बनाउन सक्ने खालका वस्तुहरुको उत्पादनमा लाग्न व्यवसायीलाई आग्रह गरे । उर्लाबारी उद्योग वाणिज्य संघको साधारणसभालाई शनिबार सम्बोधन गर्दै संघईले आफूले रबर प्लान्टको विकास र विस्तार गर्दै स्थानीय स्तरमा रोजगारी र उत्पादनमा जोड दिएको बताए ।

“मुलुकमा जलविद्युत् र सिमेन्ट जस्ता क्षेत्रमा लगानी गर्न सके एकातिर मुलुकभित्र रोजगारी सिर्जना हुने र अर्कोतिर निकासी वृद्धिबाट विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने अवस्था छ,” उनले भने ।

उपाध्यक्ष संघईले महासंघले १० वर्षे भिजन पेपर २०३० तयार पारेको र त्यसलाई सरकारले समेत स्वीकार गरेकाले अब कार्यान्वयनमा अघि बढ्नुपर्ने धारणा राखे । भिजन पेपर कार्यान्वयनको दिशामा सरकारसँग हातेमालो गर्दै अगाडि बढ्ने उनको भनाइ छ ।

उर्लाबारी उद्योग वाणिज्य संघका समस्या र चुनौती हल गर्न आफू सदैव तयार रहेको पनि उनले बताए ।

कार्यक्रममा संघीय संसद्का सांसद घनश्याम खतिवडाले नेपालका निजी क्षेत्र राज्यका नीतिका कारण अत्यन्त अप्ठ्यारो स्थितिमा रहेको बताए । केन्द्रीय, स्थानीय र प्रदशको दोहोरो तेहोरो करका कारण व्यापार व्यवसाय सञ्चालनमा कठिनाई उत्पन्न भएका कारण सरकारको निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण उत्साहजनक नभएको सांसद खतिवडाको भनाइ छ ।

राज्यले लिने व्यापार नीति स्पष्ट हुनुपर्ने र पर्यटन प्रवर्द्धन मार्फत अहिले देखिएका समस्या हल गर्न सके निजी क्षेत्र तथा मुलुक दुवैको हित हुने खतिवडाको भनाई थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधानले नेपाल राष्ट्र बैंकले जारी गर्न लागेको चालु पूँजी कर्जाले मध्यस्तरको व्यापार व्यवसाय गर्ने उद्योगी व्यवसायीलाई हतोत्साहीत गर्ने बताए ।

प्रधानले व्यापार व्यवसायलाई सहयोग भन्दा पनि बन्द गर्ने खालको नीति राष्ट्र बैंकले ल्याउन लागेकोले २५ प्रतिशत सीमादरलाई बढाएर पहिलेकै अवस्थामा फर्काउन आग्रह गरे । यसलाई समयमा रोक्न नसक्ने हो भने यसले सिंगो निजी क्षेत्र उठ्न नसक्ने गरी तहसनहस हुने प्रधानले बताए ।

सो अवसरमा उद्योग वाणिज्य संघ प्रदेश १ का उपाध्यक्ष भिम पौड्यालले ७/८ प्रतिशत ब्याजदरमा लिइएको बैंक ब्याजदर आज १६ प्रतिशत भन्दा माथि रहँदा उत्पादनमुलक उद्योगको विकास र विस्तारमा कठिनाई उत्पन्न भएको बताए । उनले बैंकले पैसा दिन नसकिरेहेको अवस्था, कोभिडका कारण परेको समस्या र बढ्दो बैंक व्याजदरका कारणले गर्दा आज मझौला व्यवसायी घर न घाटको स्थितिमा पुगेको बताए ।

राष्ट्र बैंक र सरकारले चाहे पैसा कहाँ गयो कसले लुकायो भन्ने जस्ता प्रश्नको उत्तर पत्ता लगाउन सक्ने क्षमता हुँदाहुँदै पनि जनता र व्यवसायीलाई किन समस्या पारेको भन्दै उनले प्रश्न गरेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष शंकर बहादुर भण्डारीले स्थानीय स्तरमा संघले भाग्नुपरेको समस्या र चुनौतीका विषयमा आफ्नो धारणा राखेका थिए ।

सो अवसरमा उर्लाबारी उद्योग वाणिज्य संघलाई सहयोग गर्ने विभिन्न संघ संस्था र नागरिक अगुवालाई सम्मान गरिएको थियो ।

 

 

 

 

 

 

प्रकाशित : १९ भाद्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह