Logo

मुख्य समाचार

सिस्टम ह्याक भएर रकम चोरी भएको समाचार आधारहीन रहेको इसेवाको दावी


gdpnepal
   ९ पुस २०८१, मंगलबार


काठमाडौं । इसेवाको सिस्टम ह्याक भई रकम चोरी भएको भनी प्रकाशित खबरहरुमा सत्यता नरहेको कम्पनीले दावी गरेको छ ।

इसेवा प्रयोगकर्ताहरुमा अनावश्यक त्रास र भ्रम सिर्जना भएको भन्दै इसेवाले ग्राहकको रकम आफूहरुसँग नभै बैंकसँग राखिएको हुने भएकाले पूर्ण सुरक्षित रहेको जनाएको छ ।

“पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालहरू तथा केहि समाचार पोर्टलहरूमा इसेवाबाट रकम चोरी भएको तथा इसेवामा रकम असुरक्षित रहेको जस्ता भ्रामक र आधारहीन समाचारहरू प्रकाशित भइरहेकोले त्यस्ता समाचारहरुको पछि नलाग्न समस्त ग्राहक तथा प्रयोगकर्तालाई अनुरोध गर्दछौं,” इसेवाले भनेको छ ।

इसेवाको १६ वर्षको इतिहासमा इसेवाले आफ्नो सिस्टममा सुरक्षा प्रणालीलाई लिएर कुनै कमी नराखेको दावी गर्दै इसेवा लगायतका नेपालका कुनै पनि डिजिटल वालेट कम्पनीहरूले ग्राहकहरु त्था मर्चेन्टहरुको रकम आफ्नो कम्पनी वा कम्पनीको कुनै मातहतमा राख्न पाउने व्यवस्था नरहेको स्मरण गराइएको छ ।

“भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ अनुसार इसेवाजस्ता डिजिटल वालेटहरुको कुनै ‘क’ वर्गको वाणिज्य बैंकमा सेटलमेन्ट खातामा हुनु पर्ने प्रावधान रहेको छ,” कम्पनीले भनेको छ, “सोही प्रावधान अनुसार प्रयोगकर्ताहरुको रकम डिजिटल वालेटमा नभएर उक्त सेटलमेन्ट बैंक खातामा जम्मा हुन्छ ।”

यस प्रणालीले ग्राहकको रकमको दुरुपयोग हुन वा कुनै पनि प्रकारको अनधिकृत पहुँचबाट सुरक्षित राख्ने कम्पनीले जनाएको छ ।

“इसेवाको हकमा पनि यहीँ कुरा लागू हुने भएकोले हाल सामजिक सञ्जालहरूमा भ्रम सिर्जना गर्ने उद्देश्यले प्रकाशित गरिएको खबरहरुलाई दुरुत्साहन गरिन्छ,” विज्ञप्तिमा उल्लेख छ ।

आम जनतालाई यस्ता भ्रामक समाचारहरूको विश्वास नगरी सत्य तथ्यमा विश्वास गर्न आग्रह गर्दै इसेवाले इसेवामा रहेको ग्राहकको रकम पूर्ण रुपमा सुरक्षित रहेकोमा विश्वस्त पारेको छ ।

प्रकाशित : ९ पुस २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह