काठमाडौं । नेपाल पर्यटन बोर्डका एक निर्देशकले नक्कली प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको खुलासा भएको छ । बोर्डमा कार्यरत रहे पनि शक्तिकेन्द्र रिझाएर मन्त्रीको सचिवालयमा काम गर्दै रजगज गर्दै आएका लक्ष्मण गौतम तेस्रोपटक विभागीय मन्त्रीको सचिवालयमा जाने प्रयाश गरिरहँदा यो तथ्य खुलासा भएको हो
गौतमले यसअघि पर्यटनमन्त्रीहरु स्व. रवीन्द्र अधिकारी तथा योगेश भट्टराईको सचिवालयमा रहेर काम गरेका थिए । अधिकारीको निधनपछि पनि लामो समयसम्म सचिवालयमै रहेर सेवा सुविधा लिइरहेको भन्दै उनको आलोचनासमेत भएको थियो ।
निर्देशक गौतमको योग्यतासम्बन्धी प्रमाणपत्रका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा आयोगले ‘पर्यटन बोर्ड सञ्चालक समितिले नै छानबीन गर्नू’ भनेर लेखिपठाएको छ ।
तर, गौतम बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीनिकट भएका कारण उक्त पत्र लुकाइएको र सञ्चालक समितिमा पेश नगरिएको स्रोतले जनाएको छ । नक्कली प्रमाणपत्रको कारबाहीबाट गौतमलाई बचाउन सीईओ रेग्मीसहित गौतमले नेकपा एमालेको च्यानल प्रयोग गरेको पाइएको छ ।
यस्तो छ नक्कली प्रमाणपत्रको नालीबेली
वि. सं. २०६४ सालमा प्रवन्धक पदको पदपूर्तिका लागि गरेको विज्ञापनको लागि खुलेको दरखास्त अनुसार संचालन भएको परीक्षाको नतिजा अनुसार छनौटमा परी नेपाल पर्यटन बोर्डको प्रवन्धक पदमा नियुक्ति भएका गौतमले बोर्डको प्रवन्धक पदमा आवेदन दिंदा पेश गरेको अनुभवको प्रमाण पत्र नक्कली भएको खुल्न आएको छ ।
नेपाल पर्यटन बोर्ड कर्मचारी सेवा विनियमावली, २०६४ को विनियम ६ मा नेपाल पर्यटन बोर्डमा कर्मचारी पदपूर्तिको आधारहरुको सम्बन्धमा व्यवस्था गरिएको छ । सोही विनियमको उपविनियम (३) को (ङ) मा प्रवन्धकस्तरको पदका लागि ‘नेपाल सरकारबाट मान्यता प्राप्त विश्व विद्यालय वा सो विश्वविद्यालयबाट मान्यता प्राप्त अन्य शिक्षण संस्थाबाट स्नातकोत्तर स्तर वा सो सरह परीक्षामा उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा अधिकृतस्तरको पदमा कम्तिमा पाँच वर्ष अनुभव प्राप्त गरेको,’ हुनुपर्ने भनी योग्यताको व्यवस्था गरेको छ ।
नेपाल पर्यटन बोर्डले निर्देशक तथा प्रवन्धक पदको पदपूर्तिको लागि वि सं २०६५ सालमा सार्वजनिक सूचना मार्फत दरखास्त आव्हान गरी सोहि वर्ष नै संचालन गरेको छनौट परीक्षाको नतिजाका आधारमा लक्ष्मण गौतम प्रवन्धक पदमा नियुक्त भएका थिए ।
बोर्डमा पेश गरेको दरखास्त फारम साथ निज गौतमले जनवरी २, २००० देखि जनवरी २०, २००२ (वि सं २०५६ पौष १८ देखि २०५८ माघ ७ गते ) सम्म श्री कन्चन ट्राभल्स एण्ड टुर्स प्रा. ली., काठमाण्डौंमा करेस्पोन्डेन्ट पदमा २ वर्ष काम गरेको भनी अनुभवको प्रमाणपत्र पेश गरेका थिए ।
तर, उक्त अनुभवको प्रमाणपत्रसँग निजले कुनै पनि नियुक्ती पत्र भने संलग्न नगरेको बोर्ड स्रोतले जनाएकोछ । नेपालमा रहेका कुनै पनि सार्वजनिक निकायमा छनौटको लागि खुलेको विज्ञापन अनुसार आवेदन दिंदा अनुभवको प्राण पत्रको साथमा नियुक्तीको पत्र पनि अनिवार्य संलग्न हुनुपर्ने कुरा लोक सेवा आयोगको व्यवस्था छ ।
यसरी विना नियुक्ती पत्रको अनुभवको पत्रलाई मान्यता दिनु हचुवाको निर्णय हुने कुरा सार्वजनिक प्रशासनका जानकारहरु बताउँछन् ।
लक्ष्मण गौतमले बोर्डमा दरखास्त फारमसाथ पेश गरेको अनुभवको प्रमाणपत्र हेर्दा जनवरी २५, २००२ मा उक्त कञ्चन कन्चन ट्राभल्स एण्ड टुर्स प्रा. ली.बाट निज गौतमले ‘To Whom It May Concern’ शिर्षकमा जनवरी २, २००० देखि जनवरी २०, २००२ सम्म करेस्पोन्डेन्ट पदमा कार्य गरेको भनी एउटा पत्र जारी गराएका रहेछन् र सो पत्रमा कम्पनीका म्यान्जिङ डाइरेक्टर श्रीप्रसाद बस्ताकोटीको हस्ताक्षर रहेको छ ।
नेपाल पर्यटन बोर्डको नियम अनुसार प्रवन्धक पदमा अधिकृत स्तरको पदमा पाँच वर्षको अनुभव चाहिने हुनाले बोर्डमा प्रवन्धक पदमा दरखास्त आव्हान भएपछि निज गौतमले पुनः सोही कम्पनीबाट ‘To Whom It May Concern’ शिर्षकमा जनवरी २, २००० देखि जनवरी २०, २००२ सम्म करेस्पोन्डेन्ट पदमा निजले कार्य गरेको र उक्त करेस्पोन्डेन्ट पद ‘अफिसर’ सरह रहेको भनी मिति मे ७, २००८ तद अनुसार २०६५ बैशाख २५ मा बोर्डमा दरखास्त हाल्ने प्रयोजनार्थ जवरजस्त तवरमा करेस्पोण्डेन्ट पदलाई ‘अधिकृत पद’ सरहको रहेको भनी गलत व्याख्या गराई फेरी अनुभवको प्रमाणपत्र जारी गराएका थिए ।
बोर्डको प्रवन्धक पदमा दरखास्त पेश गर्न न्युनतम पाँच वर्षको सम्बन्धित क्षेत्रको अधिकृतस्तरको अनुभव हुनु पर्ने भएकोले उक्त करेस्पोण्डेन्ट पदलाई फेरि ‘अधिकृत स्तर’को भएको भनी गलत ब्याख्या गराई उक्त कम्पनीमा काम गरेको भनेको समय भन्दा करीब सात वर्ष पछि वि. सं. २०६५ सालमा प्रमाण पत्र लिनुले उक्त कम्पनीका उल्लिखित दुईवटै अनुभवको प्रमाणपत्रहरु नक्कली र झुठा रहेको आशंका उब्जिएको छ ।
जुन कुरा कम्पनी रजिष्ट्रार कार्यालयको रेकर्डले पनु पुष्टि गर्दछ । नेपाल सरकार कम्पनी रजिष्ट्रार कार्यालयको रेकर्डमा कन्चन टुर्स एण्ड ट्राभल्स नारायण प्रसाद सापकोटा, प्रेमप्रसाद कडेंल र श्रीप्रसाद बस्ताकोटीको संयुक्त नाममा मिति २०५८-०८-२५ मा दर्ता प्रक्रिया शुरु भई मिति २०५८ साल चैत्र १९ गते दर्ता स्वीकृत भएको देखिन्छ ।
यसरी मिति २०५८-१२-१९ मा दर्ता भएको कम्पनीमा लक्ष्मण गौतमले कसरी २०५६ पौष १८ देखि २०५८ माघ ७ सम्म काम गरेको भनी भन्न सकिन्छ ?
कम्पनी स्थापना नै नभएको समयमा उक्त कम्पनीमा काम गरेको फर्जी प्रमाणपत्र जारी गराएर उक्त प्रमाणपत्र बोर्डमा सार्वजनिक पद प्राप्त गर्न निजले पेश गरी यसैका आधारमा शक्तिको प्रयोग गरी पद प्राप्त गरेको देखिन्छ ।
त्रिभुवन विश्वविद्द्यालयबाट अंग्रेजी विषयमा एम फिल गरेका निज लक्ष्मण गौतम आफूलाई नेकपा एमालेको कार्यकर्ता रहेको र महासचिवलाई अंग्रेजी भाषा आफूलेनै पढाएको भन्दै बोर्डमा रवाफ दिने गर्छन् ।
धेरै सार्वजनिक पद धारण गरेका व्यक्तीहरुलाई कारवाहीको दायरामा ल्याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो समयमा लक्ष्मण गौतमको प्रमाण पत्रको विषयमा छानविन गर्न उजुरी परे पनि आयोगले कुनै प्रक्रिया नगर्नुमा निजको राजनीतिक आस्था र राजनीतिज्ञहरु सल्लाकार रहनुको भूमिका त होइन भन्ने प्रश्न उठेको छ ।
प्रतिक्रिया