काठमाडौँ । अबको तीन महिनाभित्र मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोल आयात हुने भएको छ । १२.२ किलोमिटर पाइप ओछ्याउने बाँकी रहेको र सो काम सम्पन्न भई परिक्षण पश्चात पेट्रोल आयात गर्न ट्यांकर प्रयोग गर्नुपर्नेछैन ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३६ दशमलव दुई किलोमिटर भूभागमध्ये २४ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भइसकेको छ ।
परियोजना कार्यालय सिमराका इञ्जिनीयर शरदप्रसाद पौड्यालले कुनै ठुलो विपद् वा अप्ठेरो स्थिती सिर्जना नभए अबको तीन महिनामा पाइनलाइनबाट पेट्रोल आउने बताएका छन् ।
परियोजनाअन्तर्गत बाराको जीतपुर बजारदेखि उत्तरतर्फको क्षेत्रमा केही औद्योगिक प्रतिष्ठानले सडक छेउमै ब्लक निर्माणको काम भएको छ । सडक विभागले ६ लेनको सडक विस्तार गरिरहेकाले सो ब्लक हटाउने काम भइरहेको छ ।
नेपालतर्फ पाइप ओछ्याउन बाँकी रहेको भूभागमध्ये पर्सा राष्ट्रिय निकुञ्जमा ९ किलोमिटर बाँकी रहेको छ भने वीरगञ्जको रजत जयन्ती चोक, गण्डक चोक बाइपास क्षेत्रमा पाइप क्रसिङकोे काम सम्पन्न भएको छ । यसैगरी गण्डक क्षेत्रको उत्तरतर्फ ४६८ मिटर क्षेत्रमा ड्रिलिङ गरी पाइप ओछ्याइएको छ ।
उता भारतको मोतिहारीदेखि रक्सौल नाकासम्म ३३ दशमलव सात किलोमिटर भूभागमध्ये ३० किलोमिटर क्षेत्रमा पाइप ओछ्याउने काम सम्पन्न भएको छ । भारततर्फ तीव्र गतिमा काम भइरहेकाले बाधा अवरोध नआए चाँडै नै बाँकी क्षेत्रमा समेत काम सम्पन्न गरिने भारतीय आयल कर्पोरेशन रक्सौलले जनाएको छ ।
नेपालको ‘लाइफलाइन’का रूपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइपलाइन निर्माणका लागि भारत सरकारले ३५० करोड भारतीय रुपैयाँ लगानी गर्ने संझौता भएको थियो ।
प्रतिक्रिया