Logo

राजनीति

नवनियुक्त मन्त्रीहरुले लिए शपथ


GDP नेपाल
   ३ माघ २०७९, मंगलबार


नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनलगायतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गरी कार्य विभाजन गर्नुभएको हो । विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सर्वोच्च अदालतका कायममुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अङ्गका प्रमुखलगायतको उपस्थिति थियो ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिसमा मन्त्री नियुक्त भएकाहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

माओवादीबाट रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, सुदन किराती संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र सुशीला श्रीपालीले पर्यटन राज्यमन्त्रीको शपथ लिनुभएको छ ।

एमालेबाट डा विमला राई पौडेल परराष्ट्र, हरि उप्रेती रक्षा, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका तथा समाजकल्याण, ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास र शपथ लिनुभएको छ ।

त्यस्तै राप्रपाबाट धुव्रबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला र विक्रम पाण्डेले सहरी विकासमन्त्रीको शपथ लिनुभयो । त्यसैगरी दीपक सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको शपथ लिनुभएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । सोही दिन नै उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । एमालेका चार र जनमत पार्टीका अब्दुल खानले पनि सोही दिन मन्त्री पदको शपथ लिनुभएको थियो ।

प्रकाशित : ३ माघ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह