Logo

घुमफिर

रारा आउने पर्यटक चालिस प्रतिशतले घटे


GDP नेपाल
   १९ माघ २०७९, बिहिबार


विश्वकै सुन्दर रारातालमा गत वर्षभन्दा यो वर्ष चालिस प्रतिशतले पर्यटक घटेका छन् । मुगुको सदरमुकाम गमगढीस्थित रारातालमा यो वर्ष आन्तरिक तथा बाह्य पर्यटक चालिस प्रतिशतले घटेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

देशकै पर्यटकको मुख्य गन्तव्यको रूपमा रहेको रारामा पछिल्लो समय बाह्य देशका पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । यहाँको होटालका साथै कर्णाली राजमार्गको स्तरोन्नति नहुँदा पर्यटकलाई आवयक सुविधा दिन नसकिएकाले बाह्य र आन्तरिक पर्यटक पनि घटेको उहाँको भनाइ थियो ।

“रारातालको सौन्दर्यले पर्यटनलाई लोभ्याए पनि यहाँ आइपुगेका पर्यटकले राम्रोभन्दा नराम्रो कुराको सन्देश फैलाउँदा नयाँ आउने पर्यटकलाई पनि असर परेको छ । राजमार्ग हुँदै आउने पर्यटकले सडकको राम्रो व्यवस्था नहुँदा निकै सकस हुने गुनासो गरेका छन्,’’ प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भन्नुभयो । रारासम्म पर्यटकलाई सहजरुपमा पुर्‍याउन सके यहाँको आम्दानीमा निकै टेवा पुग्ने भएकाले स्थानीय र प्रदेश सरकारले यहाँको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो । राजस्व वृद्धिदर पनि यो आर्थिक वर्ष तीस प्रतिशतले घटेको निकुञ्ज कार्यालयले जनाएको छ ।

पर्यटकीय हबको रूपमा विकास भएको रारातालमा पर्यटकलाई आकर्षण गर्न यहाँका सरोकारवाला निकाय र स्थानीय सरकारको काँधमा जिम्मेवारी थपिएको स्थानीयवासीको भनाइ थियो । राराभित्र प्रवेशशुल्क नेपालीका लागि प्रतिव्यक्ति रु १००, सार्क मुलकका नागरिकलाई १३ प्रतिशत भ्याटसहित रु एक हजार पाँच सय र अन्य विदेशीलाई १३ प्रतिशत भ्याटसहित रु तीन हजार लाग्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

तालको सुन्दरता

रारा पुग्ने सबैले यहाँको सुन्दरताको वर्णन गर्न थाल्छन् । समुद्री सतहदेखि दुई हजार नौ सय ९० मिटर उचाइमा रहेको तालको प्रत्यक्ष अवलोकन गर्ने ठूलो धोको सबैलाई हुन्छ । प्रकृतिको काखमा रहेको त्यहाँको अनुपम दृश्य नियाल्ने रहरले कर्णाली प्रदेशको राजधानीबाट सुर्खेत–दैलेख–कालीकोट–जुम्ला हुँदै राराताल पुग्न सडक मार्ग रोज्नेको यात्रा निकै रमालो र सकस पनि हुन्छ । जब रारा ताल भेटिन्छ तब बाटोमा भोगिएका कष्ट त्यो रमणीयस्थलले मेट्नाका साथै तालसँग फोटो खिच्नेको भीड लाग्ने गर्छ ।

प्रकाशित : १९ माघ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह