रुद्राक्ष व्यवसायी संघको आठौँ साधारण सभा सम्पन्न भएको छ । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभामा बोल्दै मन्त्री किराँतीले रुद्राक्ष व्यवसायले ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएको बताएका छन् । उनले यस व्यवसायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन जरुरी रहेको समेत औल्याए । बौद्धिक सनातन धर्मावलम्बीहरुले हजारौँ वर्षदेखि यसको प्रयोग गर्दे आइराखेकाले यसको महत्व अधिक रहेको मन्त्री किराँतीले बताए ।
यस्तै, रुद्राक्ष व्यवसायलाई कुन वर्गको हो भनेर छुट्याउन कठिन भएकोले यसको लागि छुट्टै अध्ययन कार्यदलको गठन गर्नुपर्ने उन बताए । मन्त्री किराँतीले भने “यो कृषि या जडिबुटी कुन वर्गमा पर्छ, यस विषयमा सुक्ष्म अध्ययन गरी अगाडि बढ्नुपर्छ।”
उनले पूर्वका धनकुटा र भोजपुरमा यसको उत्पादन हुने गरेकाले यसको सम्वर्द्धन र प्रवर्द्धनमा जोड दिन र विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण वस्तुको रुपमा लिन आग्रह गरे । उनले आगामी दिनमा आफूले रुद्राक्ष व्यवसायको विकास विस्तारमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले आजको दिनमा उद्योगी व्यवसायीहरु इतिहासको कठिन परिस्थितिबाट गुज्रीराखेकाे बताउँदै व्यवसायलाई अघि बढाउन समेत गाह्रो भएको गुनासो पोखे । उनले रुद्राक्ष व्यवसायीलाई संगठित र एकताबद्ध भएर आफ्ना मागका सन्दर्भमा दह्रो ढंगबाट प्रस्तुत गर्न आग्रह गरे ।
उपाध्यक्ष श्रेष्ठले २० वटा बैंकरहरुकाे स्वच्छाचारी प्रवृत्तिका कारण आज ऋणिहरुले दुख पाएको समयमा पनि नेपाल राष्ट्र बैंक मुकदर्शक बनेर बस्दा आफूहरु अचम्मित बनेको बताए । उनले व्यवसायीको पक्षमा जोडदार आवाज उठाउँदा आफू नितिनिर्माताहरुको आँखाको तारो बनेको जनाए ।
सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले रुद्राक्ष व्यवसायलाई भ्याट (मूल्य अभिवृृद्धि कर) मा समावेश गर्नु अचम्म भएको भन्दै त्यसलाई भ्याटबाट हटाएर प्यानमा मात्र आवद्ध गर्नुपर्ने बताए ।
“रुद्राक्षमा भ्याट किन चाहियो ?” उनले प्रश्न गरे “यो सनातन धर्मावलम्बीहरुले लगाउने बस्तु हो । कृषिजन्य वस्तुमा लाग्दैन यसमा किन ?”
श्रेष्ठले बैंक ब्याजदर एकल विन्दूमा नआउँदासम्म व्यापार व्यवसाय गरेर अघि बढ्न निकै कठिन रहेको बताए ।
यस्तै, कार्यक्रममा कुचो संघका अध्यक्ष राजकुमार कार्की, एफएनसीसीआईका केन्द्रिय सदस्य तथा महासंघद्धारा गठित सिप विकास फाेरमका सभापति हेमराज ढकाल, केन्द्रिय सदस्य मनिषलाल प्रधान, नरेशलाल श्रेष्ठ, कुरिएर संघका अध्यक्ष देवेन्द्र खड्का लगाएतले रुद्राक्ष व्यवसायको विकास, विस्तारमा देखिएका समस्या र चुनौतीका विषयमा आफ्नो धारणा राखेका थिए ।
सो कार्यक्रममा संघका पूर्व अध्यक्ष सुरेश चापागाँईले रुद्राक्ष व्यवसायलाई कृषकले तिरो तिरेको जग्गामा उत्पादन गर्ने भएकाले यसलाई नगदे बालिको रुपमा लिदैँ कृषिमा समावेश गर्नुपर्नेमा जोड दिए । उनले यस व्यवसायलाई भ्याटको व्यवसायबाट हटाई प्यानमा समावेश गर्नुपर्ने, अन्तराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुपर्ने र यर्थाथ रोयाल्टिको प्राप्तीको सुनिश्चितता हुनुपर्ने माग गरे ।
त्यस्तै, रुद्राक्ष व्यवसाय विदेशी मुद्रा आपूर्तिको स्रोतको रुपमा रहेकाले यसको योगदान, समस्या र चुनौतीलाई बुझिदिन नेतृत्व वर्गलाई समेत आग्रह गरे । उनले यस व्यवसायलाई अलग्गै प्याटेन्ट राईट्सका रुपमा दर्ता गरी कारोबार गर्नुपर्ने वातावरण बनाउन माग गरे । हजारौँ वर्षदेखि चल्दै आएको र भगवान् महादेवसँग जोडिएकाले पनि रुद्राक्षको महत्व अधिक रहेको उनले बताए ।
प्रतिक्रिया