रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले ‘रिसेस राइड’ आयोजना गर्ने भएको छ ।
कम्पनीका अनुसार आगामी फागुन १९ र २० गते सो राइड आयोजना हुन लागेको हो । पहिलो दिन विहान ६ बजे रोयल इन्फिल्डको नक्साल सोरूमबाट सुरु हुने सो राइड थान्कोट–नागढुङ्गा–नौबिसे–बैरेनी–बेनिघाट–कुरिन्टार–मुग्लिङ्–आबु खैरेनि–डुम्रे हुँदै सोही दिन बन्दीपुर पुग्नेछ ।
बन्दीपुर पुगेपछि राइडरहरूको मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम र अन्तरक्रियात्मक कार्यक्रमहरु हुनेछन् । दोस्रो तथा अन्तिम दिन बिहानको खाजा खाएपछि राइडरहरूको टोली अनुशासित ढंगले आ(आफ्नै गन्तव्य फर्किनेछन र कार्यक्रम समापन गरिने छ ।
रोयल इन्फिल्ड मोटरसाइकलका ग्राहकहरुले अनलाइन फर्म भरेर राइडमा सहभागी हुन सक्नेछन् ।
सडक सुरक्षा जागरुकता, सवारी सुरक्षा जागरुकता र आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले सो कार्यक्रम आयोजना गर्न लागेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया