Logo

बिजनेस होम

सर्वसम्मत नेतृत्व चयन नभए महासंघ अध्यक्ष ढकाल हेमराज प्यानलमा खुल्ने !


gdpnepal
   १७ चैत्र २०८२, मंगलबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघमा सर्वसम्मत नेतृत्व चयन हुन नसके आफू हेमराज ढकाल नेतृत्वको प्यानलका लागि खुलेर भोट माग्ने घोषणा गरेका छन् ।

सोमबार वरिष्ठ उपाध्यक्षका दावेदार हेमराज ढकाल निकट बस्तुगत समूहका सदस्यका उम्मेदवारहरुको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आफू अन्तिमसम्म पनि सहमतिकै पक्षमा रहेको बताए ।

“प्रदेश उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्वको सुरुवात भइसकेको छ,” अध्यक्ष ढकालले भने, “हामीले विधान संशोधन गरेर पदहरु पनि बढाइसकेको अहिलेको अवस्थामा केन्द्रमा पनि सर्वसम्मत गर्न चाह्यौं भने असम्भव छैन ।”

अध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको नाउँमा प्यानल बनेको भन्दै असन्तुष्टि जनाए । आउँदो साधारणसभाबाट स्वतः अध्यक्ष बन्न लागेका श्रेष्ठले सबैलाई समेटेर लैजानुपर्नेमा आफ्नो प्यानल घोषणा गरेको उल्लेख गर्दै सहमतिमा नआए आफूले पनि यो टिम (हेमराज ढकाल)लाई सहयोग गर्ने उनको भनाइ छ ।

“म सहमतिका लागि अन्तिमसम्म पहल गर्नेछु,” उनले भने, “केही गरी सहमति हुन नसके मैरो समर्थन यही टिमलाई हुनेछ र यसैलाई जिताउन लाग्नेछु ।”

ढकालले वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र पूर्वअध्यक्ष शेखर गोल्छाको गतिविधिप्रति असहमति जनाए पनि नाम भने उल्लेख गरेनन् ।

श्रेष्ठले अघि सारेको समूहको घोषणासभामा समेत उपस्थित भएका अध्यक्ष ढकालले सहमतिको संस्कार विकास हुनुपर्ने उल्लेख गर्दै आफू र वरिष्ठ उपाध्यक्षबीच समन्वय भएमा उक्त समूहलाई खुला रूपमा समर्थन गर्ने संकेत पनि दिए ।

आफ्नो कार्यकालको सुरुवातमा लिएका पाँच वटा प्रमुख एजेन्डा अधिकांश पूरा भइसकेको उल्लेख गर्दै नयाँ कार्यसमितिका लागि सहज वातावरण बनाएको उनको भनाइ छ ।

प्रकाशित : १७ चैत्र २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह