देवेन्द्र खड्का, नेपाल कुरियर सेवा संघको केन्द्रीय अध्यक्ष हुन् । लामो समयदेखि कुरियर व्यवसायमा संलग्न खड्का २०७९ चैत २८ र २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभा तथा निर्वाचनमा वस्तुगत तर्फको केन्द्रीय कार्य समिति सदस्यको उम्मेदवारी दिने घोषणा गरेका छन् । खड्कासँग गरेको कुराकानी :
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्य समिति सदस्यमा यहाँको उम्मेदवारी केका लागि ?
म लामो समयदेखि कुरियर व्यावसायमा संलग्न छु । विगत ४०/४५ वर्षदेखि नै हामी यो व्यावसाय गर्दै आइरहेका छौं र २९ वर्षदेखि संगठित भएर नेपाल कुरियर सेवा संघ कृयाशील छ । यो व्यावसायलाई व्यवस्थित गरेर सातै प्रदेश, विश्वको २२० राष्ट्रमा सेवा दिइरहेका छौं । विशेष गरी आयात र निर्यात दुईवटै काम हुन्छ ।
हाम्रो आन्तरिक काम ७७ जिल्लाको मुख्य मुख्य शहरमा काठमाडाैंबाट बाहिर पठाउने र बाहिरबाट यहाँ पठाउनेलाई डेलिभरी सेवा दिएका छौं । कुरियर सेवा भनेको छिटो छरितो एक ठाउँबाट अर्को ठाउँमा मान्छेले बोकेर जाने वस्तुहरू चिठीहरू हामी कुरियरमार्फत गर्दा सबैको समय बचत र लागत पनि न्यूनमा यो सेवा दिइरहेका छौं । यसले गर्दा सबै व्यावसाय क्षेत्रका एउटा अभिन्न अंगको रूपमा अगाडि बढेको छौं ।
हामीले दिएको सेवाबाट व्यापार व्यावसाय विस्तार गर्न र लागत मूल्य कम गरेर व्यावसाय बढ्नमा सहयोग पुगेकोे छ ।
नेपाल कुरियर सेवा संघको तर्फबाट विगत ६/७ ओटा कार्यकालदेखि नै नेपाल उद्योग वाणिज्य महासंघमा उम्मेद्वारी दिँदै आएको छ ।
हाम्रा पूर्वअध्यक्षहरू पवनकिशोर राठी र निवर्तमान अध्यक्ष गोविन्द ढुङ्गेल विगतमा महासंघमा निर्वाचित भइसक्नुभएको छ । देशभर १२३ ओटा वस्तुगत संघ छन् । हामीले हाम्रो कुरियर व्यावसायको बारेमा हाम्रो हकहितको कुरा, व्यावसाय प्रवद्र्धनको कुरा, रोजगारीका कुराहरू राख्छौँ ।
हामी कुरियरको कुरा मात्र पनि राख्ने होइन, सबै व्यावसायको समस्या केही न केही देखिएका छन् । ती सबै समस्यालाई त्यो प्लेटफर्ममा सबै व्यावसायहरूको कुरा सुन्छौँ ।
त्यहाँबाट सकेको कार्यान्वयन गराउने र सँगसँगै नेपाल सरकार लगायत सम्बन्धित निकायहरूसँग ती मुद्धाहरूलाई लबिङ गरेर एउटा समस्याको समाधान पहल गर्छौं ।
व्यावसायीलाई सहजीकरण गरेर सबैलाई आगामी दिन अझ सहज बनाउँदै जाने प्रयास गर्छौं । एउटा लगानी र एउटा रोजगारको वातावरण सिर्जना गर्दै जाने, जसले गर्दा देशलाई राजस्व पनि आउँछ र स्वदेशमै बसेर केही गर्न पनि सकिन्छ ।
देशमा धेरै सम्भावना पनि छ तर लगानी आइरहेको छैन । त्यसको लागि लगानी आउनुभन्दा अगाडि धेरै कुराहरूको वातावरण तयार गर्नुपर्ने हुन्छ ।
यसले गर्दा पनि एफएनसीसीआईको नेतृत्वमा पुगी लगानी मैत्री वातावरण सिर्जना गरेर हाम्रो देशमै लगानी गर्नु पर्छ । देशभित्रै धेरै कुराको सम्भावना छ । ती कुराहरूलाई झक्झक्याउनका लागि मुख्य नेतृत्वमा गएर काम गर्ने मेरो लक्ष्य रहेको छ ।
उम्मेदवारी दिने तयारी गरिरहँदा तपाईंका ठोस् एजेण्डाहरू के के रहेका छन् ?
हाम्रा एजेण्डाहरू मुख्य रूपमा उद्योगी व्यावसायीहरूलाई लगानीमैत्री वातावरण बनाउने हो । त्यसका साथै महासंघमा अहिलेसम्म भएका कुराहरूमा कतिपय उद्योगी व्यावसायीहरूको एजेण्डाहरू उठ्न सकेका छैनन् । अहिलेसम्मको नेतृत्वले सरकार समक्ष पुर्याउन सकेको छैन । सरकारलाई बुझाउन सकिएको छैन ।
एफएनसीसीआईमा गएर एउटा व्यक्ति वा एउटा समूहको व्यापार बढाउने होइन । यो संस्था भनेको नेपाल सरकारपछि निजी क्षेत्रको सबैभन्दा ठुलो सञ्जाल भएको संस्थाको भएको कारणले त्यहाँ सबै शिरदेखि पाउसम्म हामी मानिसले प्रयोग गर्ने सबै वस्तु तथा सामानहरूको छाता संगठन भएकोले सबै क्षेत्रमा ध्यान दिन सक्नु पर्छ ।
हरेक वस्तुगत समस्याहरूको समाधान गर्ने, बुझाउने नीति नियम बनाउने, राय सुझाव दिने गर्नु पर्छ । सक्ने कुराहरूलाई तत्काल कार्यन्वयन गर्ने अनि समय लाग्ने कुरा छ भने सुझाव दिनु पर्छ । त्यसलाई केही समयलाई पाइप लाइनमा राखेर केही समयपछि कार्यन्वयन हुन्छ भन्ने सुनिश्चितता गर्नु पर्छ । निजी क्षेत्र, गैर सरकारी संस्थाहरू विभिन्न संस्थाहरू सम्बन्धित स्टेकहोल्डरहरू र सरकारलाई फोकस गरेर काम गर्नुपर्ने हुन्छ ।
हामी केन्द्रीय नेतृत्वमा गइसकेपछि त्यो लागु गर्न सक्यौं भने नेपालभर व्यावसायिक वातावरण बन्छ,जसले गर्दा आगामी दिनहरूमा धेरै अर्थिक उन्नति संभव छ । वस्तुगत भन्नाले १२३ ओटा संघ छ । त्यसमा हाम्रो खाद्यान्न, कृषि, औजार, आयात, स्वदेशी उत्पादन, ह्याचरी आदि धेरै कुराहरू रहेका छन् । हामी जुन कुरा नेपालमा भएर पनि आत्मनिर्भर हुन सकेका छैनौं । आगामी दिनमा वातावरण बनाएर यसमा लगानी गर्न सकियो भने भोलिको दिनमा आयात गर्नु पर्दैन ।
आयात गर्दा अन्य देशले सामानमा कोटा राखिदियो भने हाम्रो खाद्यमा ठुलो संकट आउन सक्छ । भोलिका दिनमा यस्ता कुराहरू पहिचान गर्नु पर्छ । खाद्य सुरक्षा अबको प्रमुख चुनौति हो । कुन कुन चिजमा हामीले उत्पादन गर्ने,त्यसमा स्पष्ट हुनु पर्छ ।
लगानी गर्दा खाद्य सुरक्षालाई ध्यानमा राख्नु पर्छ । के र कति उत्पादन भयो भने नेपाललाई वर्षभरि पुग्छ भनेर त्यो मैले देखेको छु । हामीले ८/१० अर्बको खसीको मासु भारतबाट आयात गर्ने गरेका रहेछौं तर खसी नेपालमा नहुने होइन । संख्यात्मक रूपमा कम भएको कारणले हामीले त्यो वस्तु किन्नु परिरहेको छ । हामी योजना बनाएर काम गर्न सक्छौं । विभिन्न कुराहरू रहेका छन् । हामीले दैनिक उपभोग्य वस्तुहरूको उत्पादनमा विकास गर्न सक्छौं ।
कृषिमा अनुदानका कुराहरू रिफर्म गर्नुपर्ने छ । वास्तविक कृषकले कहिल्यै पनि अनुदान पाएका छैनन् ।
तपाईंहरूको आँकडा अनुसार वार्षिक २० अर्ब रूपैयाँको कुरियर सेवा क्षेत्रमा कारोबार हुन्छ । यस क्षेत्रका समस्या के छन् ?
२०४८/०४९ सालमा हुलाकसँग प्रतिस्पर्धा हुन्थ्यो तर आजको दिनमा हुलाकको कुरा इमेल इन्टरनेटले खाइदिसकेको छ । हामीले सक्कली नै चाहिने डकुमेण्टहरू पठाउने गरिरहेका हुन्छौं । बैंक, वित्तीय संस्था, बिमा कम्पनीहरूको सक्कली पोलिसीहरूदेखि लिएर बुकलेटहरू जुन कपी गर्न मिल्दैन त्यस्ता वस्तु पठाउँछौँ । कर्मशियल आइटमहरू, मोबाइल फोनहरू, ल्यापटप कम्प्युटर, एसेसरिजहरू सानो सानो आइटमहरू पनि पठाउने गरेका छौं ।
हाम्रो समस्या के छ भने सामान डेलिभरीका लागि ट्राफिक महाशाखासँग धेरै कुरा गरिसकेका छौं । हामीलाई बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म डेलिभरी गर्न दिँदैन । जहाजबाट आएको हस्पिटलका ब्लड स्याम्पलदेखि ल्याबका रिर्पोटहरू तुरुन्तै लिएर जानुपर्ने हुन्छ तर ४ बज्ने वित्तिकै लैजान पाइदैन,भोलिपल्ट मात्र डेलिभरी गर्नुपर्ने अवस्था छ ।
अतिआवश्यक सेवा क्षेत्रमा परेको र एक्सप्रेस सेवा भनेको २४ सै घण्टा सेवा दिनुपर्छ भन्ने हाम्रो माग हो । परिचय पत्र लिएर अतिआवश्यक सेवामा चल्ने गाडीहरूलाई निर्वाध चल्न दिनु पर्छ । साना एक्सप्रेस भ्यानहरू ३०/३५ ओटा मात्र छन् । हामीले २४ सै घण्टाको समय माग गरिरहेका छौँ । यो एउटा जटिल समस्याको रूपमा रहेको छ ।
हामीले सामान बोक्दा भ्याट बिलहरू, बिल,बिजक सबै बोकेर हिँड्छौं तर समय समयमा चेकिङको समयमा कहिले नागढुंगा प्रहरीले र कहिले राजस्व अनुसन्धानले प्याकेट खोल्ने र च्यातिदिने गर्छन् । भिजिटिएस पनि भरेका हुन्छौँ, बिलहरू पनि लिएका हुन्छौँ तर त्यो लिदाँ पनि क्रेता र बिक्रेता बिचमा पनि केही समस्या छ भने त्यसलाई लिएर हाम्रो गाडीहरू लगेर राजस्व अनुसन्धानमा राख्ने र अनुसन्धान गर्दा त्यो व्यक्ति नआएसम्म हाम्रो गाडी नदिने समस्या छ ।
हामी के भन्छौँ भने केही त्यस्तो समस्या नै छ भने राज्यलाई हामी पनि सहयोग गर्छौं तर गाडी नै रोकेर त्यसको व्यक्तिलाई बोलाएर कारबाही होस् । हामी एउटा वस्तु बोक्ने व्यक्तिहरूको गाडी रोकेर कारबाही गर्नु भएन ।
सामान झारेपछि खुरुक्क जान पाउने नियम विश्वभरी नै छ । त्यो अवसर हामीले पाएका छैनौँ । त्यो समस्याबाट हामी गुज्रिरहेका छौँ । सम्बन्धित निकायलाई हामीले ध्यानाकर्षण गरेका छौँ । सम्बन्धित निकायको पनि नीति नियम र ऐनमै संशोधन हुनुपर्छ भन्ने हाम्रो माग छ । अगामी दिनमा यी कुराहरू संशोधन गरेर पनि सहज गर्यो भने व्यापार व्यावसायलाई सहज रूपमा अघि बढाउन सक्ने थियौं ।
त्यस्तै हामीले स्वदेशमा मात्र होइन २ सय २० राष्ट्रमा नै नेपालको मौलिक हस्तकलाका परम्परागत उत्पादनहरू पु¥याएका छौं । आधा किलोदेखि ५००, १००० किलोसम्म जति माग छ, त्योे प्याकिङ गरेर भन्सार तिरेर जहाजमा पठाएर विदेशमा पनि भन्सार तिरेर घर घरमै पुर्याएका छौं ।
यो सेवाले के हुन्छ भने यहाँ बस्ने निर्यातकर्ताहरूलाई इन्टरनेटबाट नै व्यापार गर्न सहज भएको छ । यदि हामीले त्यो नगेरको भए उहाँहरूलाई धेरै खर्च गर्नुपर्ने हुन्थ्यो । त्यो चिजमा हामीले व्यापार प्रर्वद्धन गर्न भूमिका निर्वाह गरेका छौं ।
यसलाई अझै छिटो छरितो ढङ्गले पुर्याउन हामी एकदमै लागी परेका छौँ । अहिले आएका डिजिटल प्रविधिको प्रयोग गरेर उहाँहरूको सामान कहाँ पुग्यो ? कति बेला पायो ? कुन समयमा बुझ्यो भन्ने जस्ता कुराको जानकारी पाउनको लागि हामीले त्यो सेवा दिएका छौं । अब विश्वमा नै हाम्रो संजाल भएको हुनाले कोभिड महामारीमा पनि एयरक्राफ्टहरू नेपालमा नआएको बेला डिओचौ, प्रोडेक्स, बहुराष्ट्रिय कुरियर कम्पनी हो । यसका आफ्नै जाहजहरू छन् । ती जहाजहरू नेपालमा पहिलो पटक आएका थिए ।
वस्तुगत संघहरूले आफैँ महासंघ बनाएर हिँडेका छन् । एकातिर आफैँ महासंघ बनाएर हिँड्नु भएको छ अर्कोतिर नेपाल उद्योग वाणिज्य महासंघमा प्रतिस्पर्धा गर्न खोज्दै हुनुहुन्छ यसले भोली समस्या आउला नि ?
यसले खासै समस्या ल्याउँदैन । विविध प्रकारका व्यापार व्यावसायको पहुँच सबै जिल्ला जोड्नु पर्छ भने त्यो महासंघको रूपमा जान्छ । जस्तो निर्माण व्यावसाय ७७ वटै जिल्लामा छ । उनीहरू पनि महासंघमा छन् । हामी पनि नाम मात्रै महासंघ नराखेको तर महासंघको संरचनामा गएका छौँ ।
सात प्रदेशमा सात स्तरको कार्यसमिति पनि बनाएका छौँ । ७७ जिल्लामा एक खालको सम्बन्ध पनि बनाएका छौँ। व्यवसायमा कुन कुन प्रदेश र जिल्लामा समस्या आउँछ त्यै तरिकाको समाधान गर्न बनाइएको संरचना हो ।
वास्तवमा नेपाल उद्योग वाणिज्य महासंघले कुनै पनि सदस्यको सबैकुरा सम्बोधन गर्न सक्दैन अर्कोतिर नेपाल उद्योग वाणिज्य महासंघमा सबै संगठन संलग्न भएको हुनाले कुनै समस्या सजिलै पहल पनि हुन सक्छ । बस्तुगत महासंघको पहलले,पहुँचले पुग्न नसक्ने भएकाले हाम्रो महासंघ र उद्योग वाणिज्य महासंघ मार्फत सरकारसँग नीति नियम,कार्यान्वयन,सुनुवाईका लागि एकजुट भएर काम गर्न सक्छौँ । यसका लागि पनि उद्योग वाणिज्य महासंघ आवश्यक छ ।
नेपाल उद्योग वाणिज्य महासंघका समस्या के के हुन र यसको समाधानका लागि के गर्न सकिन्छ ?
महासंघ आफैँमा एउटा अत्यन्तै राम्रो संस्था हो । २०२२ सालमा स्थापना भएदेखि कृयाशील छ । महासंघले लिएको अवधारणा गलत छैन तर महासंघको कमजोरी के देखियो भने महासंघ हाक्ने नेतृत्वहरूले गर्नुपर्ने र उठाउन पर्ने विषय पुगेको छैन ।
महासंघमा जिल्ला नगरबाट केन्द्रीय सदस्यहरू १९ जना, एसोसिएटबाट ८ जना, वस्तुगतबाट १४ जना निर्वाचित हुन्छन् । वस्तुगतबाट केन्द्रीय सदस्य हुन्छन् र उपाध्यक्ष हुन्छन् । एकजना वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ जसले सबै हुर्नुपर्ने हुन्छ ।
वस्तुगतको समस्या भनेको १२३ वटा संघबाट मध्ये १४ जनाको प्रतिनिधित्व हुने गरी कोटा छ । जहाँबाट आएपनि जित्ने १४ जनाले हो । अब १४ जनालाई १२३ वस्तुगत संघको जिम्माको भाग गरेर दिनुपर्छ । त्यसमा पनि वस्तुगत परिषद् सभापति उपाध्यक्ष हुन्छ र १५ जनाको बैठक बसेपछि जसको जुनमा संस्थाको ज्ञान छ त्यसै अनुसार जिम्मेवारी दिनुपर्छ ।
यससँगै आफूमा भएको ज्ञान र रुची भएको क्षेत्र पनि जोडिन्छ । यति गरेपछि वस्तुगत संघमा गएर केन्द्रीय सदस्यहरूले महासंघको अध्यक्षसँग छलफल गर्नुपर्छ । वस्तुगतको संघको समस्या के छ ? लिखित रुपमै संकलन गरेर वस्तुगत संघमा छलफल गर्ने र टिपोट गरेर अल्पकालीन,मध्यकालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कामहरूको टुंगो लगाउनुपर्छ । यति गर्न सकियो भने महासंघमा जोडिएका सबै संघसंस्थाको विश्वास बढ्छ । खासमा अहिले महासंघको नजर सबै क्षेत्रमा पुग्न सकेको छैन । भूमिका खेल्न सक्ने हैसियत हुँदा पनि काम गर्न सकेको छैन । केही त गरेको छ तर अब महासंघले सबैतिर ध्यान दिनुपर्छ ।
यसको मतलव महासंघमा पहुँचवालाको मात्रै चलखेल भयो ?
यसो भन्न पनि सकियो अर्को तर्फ हामीले सम्बन्ध नै बनाउन सकेनौँ । उदाहरणका लागि १२३ वटा वस्तुगत संघमा केही न केहीलाई समस्या त आउँछ यस्ता समस्या आएपछि कसले यसको समाधान गर्ने टुंगो छैन ।
वस्तुगत उपाध्यक्षलाई जिम्मेवारी दिइयो तर उहाँले फेरि कसलाई पठाउने ? कार्यविभाजन नै देखिएन । समस्या आउन भन्दा पहिला नै सम्बन्ध बनाएर यो संस्थाको समस्या आयो भने यसले हेर्ने भनेर नीति बनाउनुपर्छ, जसले गर्दा समस्या आउने वित्तिकै गहन अध्ययन हुन्छ, त्यसपछि परिषद्मा जान्छ,परिषद्बाट माथि कार्यसिमितिमा राख्न पर्यो भने राख्छ । त्यसबाट पारित गरे अध्यक्ष लगायत वस्तुगतको उपाध्यक्ष, बरिष्ठ उपाध्यक्ष, अध्यक्षका साथै मन्त्री, प्रधानमन्त्री तहमा पठाउनुपर्ने रहेछ भने पहल हुन्छ ।
यस विषयमा महासंघ अलमलिएको जस्तो छ । हाम्रो नेतृत्व आयो भने कार्य विभाजन गरेर कुन समस्या कसले समाधान गर्ने प्रष्ट रुपमा व्यवस्था गरिने छ । महासंघ अभिभावक हो भन्ने अनुभूति दिलाउने गरी काम गर्ने छौँ ।
अन्तमा यहाँको केही भन्नु छ कि ?
मुख्य विषय त हामी चुनावको तयारीमा छौँ र मेरो उम्मेदवारी किन ? भन्ने नै मुख्य प्रश्न हो । त्यसैले यसलाई म बुँदागत रुपमा नै उल्लेख गर्न चाहन्छु ।
मेरा प्राथमिकताहरू यसप्रकार छन् : १) वस्तुगत संघले भोग्दै आएको समस्याहरुको थप पहिचान गरी समाधानको प्रयासमा क्रियाशील रहने, २) मुलुकको बिग्रंदै गएको आर्थिक अवस्थाबाट पीडित व्यवसायीहरूको हितमा आवाज उठाउंदै सरोकारवालासंग समन्वयात्मक एवं दबाबमूलक भूमिका निर्वाह गर्ने ,३) सरकारी तथा सरोकारवालापक्षसंग एजेण्डासहित परामर्श गरेर हरेक समस्याको निकास दिन सक्दो प्रयास गर्ने,४) महासंघ सवैको साझा संस्था हो भन्ने भावनालाई अझ कसिलो बनाउंदै सचिवालयलाई बलियो र व्यवस्थित बनाउने हो ।
प्रतिक्रिया