काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) मा आउँदो ३ वर्षका लागि जलविद्युत उद्यमी गणेश कार्कीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । निर्वाचन निर्देशिका अनुसार योग्यता नपुगेको भन्दै अध्यक्षका अर्का प्रत्यासी किरण मल्लको उम्मेदवारी रद्द गरिएपछि कार्की निर्विरोध भएका हुन् ।
अध्यक्षसहित पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्षहरू आशिष गर्ग, उत्तम भ्लोन लामा, आनन्द चौधरी, भरतबहादुर खत्री र रामप्रसाद आचार्य पनि निर्विरोध चयन भएको जानकारी दिइएको छ ।
यस्तै, महासचिवमा बलराम खतिवडा, उप–महासचिवमा प्रकाशचन्द्र दुलाल चयन भएका छन् भने ५ जना सचिवमा हिमप्रसाद पाठक, विक्रम विष्ट, भरतकुमार खड्का, कविता पोखरेल कँडेल र भरतप्रसाद नेपाल चयन भएको जनाइएको छ । उता, कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त पनि निर्विरोध चयन भएका छन् ।
यसैगरी, ३ जना महिला सदस्यहरू सुसन कर्माचार्य, सुमनकुमारी जोशी र ईशा श्रेष्ठलाई यसअघि नै निर्विरोध चयन भएको घोषणा गरिएको थियो । ७ जना खुल्ला कार्यसमिति सदस्यका लागि १४ जनाको उम्मेदवारी परेकोमा मतदानमार्फत चयन गरिएको छ ।
निर्वाचित सदस्यहरूमा उत्तरकुमार श्रेष्ठ, टिएन आचार्य, भरतमणि नेपाल, विजयमोहन भट्टराई, भरत पराजुली, शंकर बस्याल र मिथुन चक्रवर्ती प्रसाद पौडेल, रहेका छन् । श्रेष्ठले सबैभन्दा धेरै २७३ मत पाउँदा बस्यालले २५४, नेपालले २२५, पराजुली र पौडेलले समान २१७, आचार्यले २१६ र भट्टराई १९३ मत सहित पाएका थिए ।
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानको हालकै विधान कायम रहिरहे आगामी ३ वर्षपछि डाँगी अध्यक्ष हुनेछन् ।
प्रतिक्रिया