२९ औँ कार्गो दिवस सम्पन्न भएको छ । नेपालको लजेष्टिक क्षेत्रमा महत्वपूर्ण भूमीका निर्वाह गर्दै आइरहेको नेपाल फ्रेट फरवार्डरस एसोसिएसनले एक भव्य समारोहकाबीच कार्गो दिवस सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव मधुकुमार मरासिनीले कार्गो व्यवसायले नेपालको आयात तथा निर्यात व्यवसायमा महत्वपूर्ण भूमीका निर्वाह गर्दै आएकाे बताए । उनले कोरोना महामारी जस्तो कठिन परिस्थितिमा पनि कार्गो व्यवसायीले मुलकको अथतन्त्र चलाएमान बनाएको स्मरण गर्दै लजेष्टिक क्षेत्रलाई धन्यवाद दिए । यसका साथै पछिल्लो समय लजेष्टिक क्षेत्रमा उत्पन्न विभिन्न समस्या हल गर्न सरकार सधै प्रतिबद्ध रहने उनले जनाए ।
” रुस यूक्रेन युद्धले लजेष्टिक क्षेत्र केही महंगिएको बताउँदै उनले भने रुस यूक्रेन युद्धका कारण लजेष्टिक क्षेत्र महंगीदा यसले मुलुकको अर्थतन्त्रमा असर गरेको छ । यी विविधि समस्यालाई हल गर्न र यस व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धामा लैजान राज्यले सहजीकरण गर्नेछ ” उनले भने ।
यसका साथै सचिव मरासिनीले हालै मात्र उद्योग मन्त्रालय लजेष्टिक नीति बनाउन र सोही अनुसारको मास्टर प्लान तयार गर्न लागि परेको जानकारी दिँदै सो कार्यमा आवश्यक सहयोग गर्न लजेष्टिक क्षेत्रलाई आग्रह गरे । अन्तर्राष्ट्रिय बजारमा तिव्र प्रतिस्पर्धा बढेको जनाउँदै उनले भने,” अन्तर्राष्ट्रिय बजारमा तिव्र प्रतिस्पर्धा बढेको छ, यसका लागि हामीले हाम्रा वस्तु तथा सेवालाई गुणस्तरीय बनाउँदै लैजानुपर्छ । अब डीजीटल प्ल्याटफर्मको प्रयोग गरी कम लागतमा वस्तु तथा सेवाको निकासी एवं पैठारीमा ध्यान समेत पुर्याउनुपर्छ” उनले भने ।
यस्तै कार्यक्रममा अर्थ मन्त्रालयका सचिव अर्जुन पोखरेलले मुलुकको व्यापार र औद्योगीकरणमा कार्गो क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । उनले उद्योग व्यवसाय क्षेत्रमा देखिएका समस्या र चुनौती हल गर्ने सवालमा मन्त्रालयले व्यवसायीहरुसँग छलफल गरेर नै नीति बनाउँदै आएको जनाए ।
“अहिले अर्थतन्त्रमा केही समस्या देखिएपनि समयक्रमसँगै त्यो हल हुन्छ अर्थतन्त्रको विषयमा अहिलेनै आत्तिहाल्नुपर्ने अवस्था छैन”, उनले भने ।
सचिव पोखरेलले व्यवसायीलाई कानुनी दायराभित्र रहेर काम गरेमा सरकारका तर्फबाट जस्तो सुकै काममा पूर्ण रुपमा सहयोग प्राप्त हुने जनाए ।
यस्तै, कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले भुक्तानी सन्तुलनलाई सुधार गर्ने नीति लिँदा निकासी एवं पैठारी व्यापारमा ठुलो असर परेको गुनासो व्यक्त गरे । उनले अर्थतन्त्र संकुचनको दिशातर्फ गएको र भन्सारबाट उठ्ने राजस्वमा समेत कमी आएको स्मरण गराए ।
“आज अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको संकुचनको असर लजेष्टिक क्षेत्रमा पनि परेको छ । यसका साथै कार्गो व्यवसायीलाई हेर्ने दृष्टिकोण पनि संकुचित छ”, उनले भने । त्यस्तै, यस क्षेत्रलाई चलायमान बनाउन लजेष्टिक कस्ट घटाउनुपर्ने श्रेष्ठ बताए ।
“आज २० प्रतिशत निर्यात हवाई सेवाबाट हुन्छ भने, १०/१५ प्रतिशत स्थलमार्ग र सामुन्द्रिक मार्गबाट भइरहेको अवस्थामा ढुवानी कस्ट भने ४० प्रतिशतसम्म लाग्ने गरेको छ । यो अन्य भूपरिवेष्टिक मुलुक भन्दा १२ प्रतिशत महंगो पर्न गएको छ “, उनले भने । श्रेष्ठले यस सम्बन्धि नीति नियम तयार गर्दा सरोकारवाला निकायसँग बसेर छलफल गर्न सरकालाई सुझाव दिए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्र निर्माणमा लजेष्टिक क्षेत्रको योगदान निकै महत्वपूर्ण रहेको बताए ।
उनले नेपालको भौगोलिक परिवेशले सामान आयात एवं निर्यातमा व्यवसायीले ठूलो चुनौतीको सामना गर्नुपरेको जानकारी दिए ।
“नेपाल भूपरिवेष्टिक मुलुक भएको कारणले सामाना आयात एवं निर्यातमा ठूलो चुनौतीको सामना गर्नुपरेको छ,” उनले भने “यसका लागि नीजि क्षेत्रको तर्फबाट सरकारले अन्तर्राष्ट्रिय क्षेत्रसँग समन्वयन गर्नुपर्छ र विश्वबाट प्राप्त हुने विभिन्न सुविधालाई पनि व्यवसायीले अवसरको रुपमा लिनुपर्छ ।”
यस्तै, उनले कार्गो यातायात पारदर्शी र सुरक्षित बनाउनु पर्नेमा जोड दिए । यसलाई आधुनिक प्रविधिको प्रयोग मार्फत लागत कम गर्ने, व्यवसायीक बनाउनुपर्ने लगाएतका कार्यमा जोड दिन सरकारलाई आग्रह गरे । यसका साथै नेपालको अर्थतन्त्रलाई सुधारतर्फ लान बढ्दो व्यापार घाटा कम गर्नुपर्ने, निर्यात मुलक उद्योगको प्रवर्द्धन गर्नुपर्ने र निर्यात बढाउनुपर्ने जरुरी रहेको अग्रवालले जनाए ।
“स्वदेशी निर्यात मुलक उद्योगहरुको प्रवर्द्धन गरी नेपाली मौलीक कला, संस्कृति, परम्परा र पहिचान कायम राख्दै निर्यातलाई विशेष प्राथमीकतामा राखेर विदेशी मुद्रा आर्जन गर्ने तर्फ लाग्नुपर्छ । यसका लागि सिंगो नीजी क्षेत्र र सरकारबीच सहकार्य हुन अत्यन्त आवश्यक छ”, उनले भने ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले नेफाले मुलुकको आयात निर्यातलाई सहजीकरण गर्दै आइरहेको बताए । उनले अर्थतन्त्र जटील मोडमा रहेको आजको अवस्थामा सबैतिर निरासा मात्र छाएको जनाए । यस्तै, मल्लले सरकारले नीति नियम बनाएपनि कार्यान्वयन गर्ने पाटोमा भने जटिलता उत्पन्न हुँदा सोच अनुरुपको काम हुन नसकेको बताए ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले लजेष्टिक व्यापारलाई उद्योगको मान्यता दिनुपर्ने माग राखे । उनले लजेष्टिक कम्पनीहरुलाई प्रार्थमिकता नदिँदा,व्यवसायीहरुले हैरानी बेहोर्नु परेको बताए । ढकालले लामो समय बेथित हुँदा पनि चोभार सुख्खा बन्दरगाह प्रयोगमा आउन नसक्नु दुखको कुरा भएको जनाए ।
कार्यक्रममा सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डिराज ढकालले लजेष्टिक क्षेत्रमा देखिएका समस्या र चुनौतीका विषयमा आफ्नो धारणा राखेका थिए ।
यस्तै, संघका अध्यक्ष मनोज अधिकारीले नेफाले नेपालको निर्यात व्यापारमा पुर्याएको योगदान, लजेष्टिक व्यवसायीको अहिलेको अवस्था र यस क्षेत्रमा देखिएका समस्या र चुनौतीका विषयमा आफ्ना धारणा राखेका थिए ।
सो अवसरमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौलाले आफूहरुले भोग्दै आएका समस्या र चुनौतीमा राज्यले उपयुक्त कदम चाल्नुपर्ने र व्यापार सहजीकरणमा भूमीका निर्वाह गर्नुपर्ने बताए ।
कार्यक्रममा उत्कृष्ट निकासी गरेवापत लुम्बीनी एयर फ्रेट प्रालिका प्रबन्ध निर्देशक हरी बहादुर श्रेष्ठलाई नेफा एनुअल २०२३ अवार्डबाट सम्मानित गरिएको थियो । यस्तै, सरकारी क्षेत्रबाट भन्सार विभागका महानिर्देशक सोमकान्त पौड्याल सम्मानित भएका थिए ।
प्रतिक्रिया