काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा यतिबेला बेलायतको लन्डनमा छन् । उनी चैतमा हुने नेपाल लगानी सम्मेलनको तयारीका लागि त्यहाँ पुगेका हुन् ।
तर, मुलुकभित्र लगानीमैत्री वातावरण सिर्जना हुन नसकेको तथा खासगरी पुँजीबजारका सम्बन्धमा उनले लगानीकर्तालाई भड्काएको आरोप लागिरहेको छ ।
अर्थमन्त्रीकै कारण मुलुकको धितोपत्र बजार विगत तीन वर्षयताकै कम बिन्दुमा झरेको छ । बरु, मन्त्रिमण्डल पुनर्गठनमा अर्थमन्त्री फेरिने हल्लाकै भरमा सेयर बजार बढिरहेको छ ।
सेयर बजारमा मात्र होइन, अन्य क्षेत्रको अवस्था पनि उस्तै छ । यसरी मुलुकभित्रै लगानीको वातावरण सुधार्न नसकेका अर्थमन्त्री हतारमा घोषणा गरिएको लगानी सम्मेलनमा विदेशी लगानीकर्ता डाक्न लन्डन पुगेका हुन् ।
लन्डन पुगेर उनले एनआरएनलाई सामूहिक लगानी कोष स्थापना गरेर नेपालमा लगानी गर्न आग्रह गरे । “तपाइँका केही समस्या छन् भने आउनुस्, सामूहिक छलफल गरौं, नेपालमा यतिबेला उपयुक्त सरकार बनेको छ । तपाइँहरू सामूहिक लगानी कोषमार्फत लगानी बढाउनुस्,” उनले भने ।
खतिवडा बेलायतस्थित नेपाली राजदूतावासले आयोजना गरेको ‘नेपाल विकास सम्मेलन’मा सहभागी हुन लन्डन पुगेका हुन् । गैरआवासीय नेपाली संघ यूकेले बेलायतमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गैरआवासीय नेपालीका समस्या र सम्भावनाबारे छलफल गर्न आफू आएको प्रष्ट पारे ।
अर्थमन्त्रीसमक्ष एनआरएन यूकेका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरूले नेपालमा लगानीका बारेमा चासो राखेका थिए ।
प्रतिक्रिया