Logo

विकास / पूर्वाधार

आजदेखि सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा सुरु


GDP नेपाल
   ३ आश्विन २०८०, बुधबार


भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आजदेखि ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने द्रुत बस सेवाको उद्घाटन गरेका छन् ।

बुधबार दु्रत सार्वजनिक बस सेवाको उद्घाटन गर्दै उनले हाल सूर्यविनायकदेखि रत्नपार्क पुग्न ४५ मिनेट लाग्ने उल्लेख गर्दै त्यसलाई थप सुधार र व्यवस्थित गरी आधा घण्टामै सूर्यविनायकदेखि रत्नपार्क पुग्ने व्यवस्था गर्ने बताए ।

मन्त्री ज्वालाले भने, ‘सूर्यविनायकदेखि रत्नपार्कसम्म आउने र जाने समय अहिले करिब दुई घण्टा लाग्छ । पहिलो पटक यसलाई हामी ४५ मिनेटमा झार्छौं । अझै व्यवस्थित र सुधारहरू गर्दै जाँदा आधा घण्टामा रत्नपार्कसम्ममा समय निर्धारण हुनेगरी हामी यसलाई व्यवस्थित गर्दै छौं ।’

मन्त्री ज्वालाले सूर्यविनायकबाट अगाडि बनेपा–धुलिखेलसम्म नै दु्रत बस सेवा विस्तार गर्ने प्रतिबद्धता गरेका छन् ।

उनले भने, ‘सूर्यविनायकदेखि अगाडि पनि विस्तार गर्दैै जान्छौं । बनेपा–धुलिखेलसम्म पनि यसलाई विस्तार गर्ने छौं ।’

यो सेवा सुरूमा २५ वटा बसबाट सुरू गरिनेछ । यो बस गुड्नका लागि अहिले सरकारले सडकका दुबै भागमा छुट्टै लेन बनाइसकेको छ । छुट्टै लेन (रातो रङले छुट्टयाइएको) छ । सोही लेनबाट सेवा सञ्चालन हुनेछ । आज उद्घाटन गरिए पनि यात्रुहरूले भोलिदेखि मात्रै सेवा उपयोग गर्न पाउनेछन् ।

यातायात व्यवस्था विभागले द्रुत सेवाअन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्ने जानकारी गराएको छ । त्यो समयमा यी बस गुड्ने डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन निषेध गरिएको छ । यद्यपि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने बताइएको छ ।

मन्त्री ज्वालाले यातायात क्षेत्रमा सुशासन कायम गर्न अनलाइन प्रणालीबाट सेवा सुरुवातको थालनी गण्डकी प्रदेशबाट गरेको उल्लेख गर्दै त्यसलाई यही असोज १५ गतेभित्र बागमतीमा विस्तार गर्नेसमेत बताए ।

‘अब दोस्रो पटक केही दिन १५ गते भित्र नै यो बागमती प्रदेशमा पनि अनलाइन सेवा सुरु गर्दैछौं । र यो महिनाभरी कमसेकम देशभरी अनलाइन सिस्टम सुरु गर्ने अनलाइन पेमेन्ट प्रारम्भ गर्ने गरी अगाडि बढाउने गरी हामी काम गरिरहेका छौं,’ मन्त्री ज्वालाले भने ।

प्रकाशित : ३ आश्विन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह