Logo

विकास / पूर्वाधार

अवरुद्ध लोकमार्ग एकतर्फी खुल्यो, कोरिडोर अझै ठप्प


GDP नेपाल
   १८ आश्विन २०८०, बिहिबार


दुई दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । 

निरन्तर वर्षाको कारण सडक माथिदेखि खसेको पहिरोले लोकमार्गअन्तर्गत बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्डको निसीखोला गाउँपालिका–१ पाखुतेमा अवरुद्ध भएको थियो । मङ्गलबार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म पनि दुईतर्फी सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । 

सडकमा ठूलो पहिरो झरेका कारण दुईतर्फी खुलाउन नसकेको उहाँको भनाइ छ । अहिले पनि दुईतर्फी सञ्चालनका लागि मेसिन प्रयोग गरेर काम गरिरहेको केसीले जानकारी दिनुभयो । आज दिउँसोसम्म पूर्णरुपमा सञ्चालनमा आउने उहाँको भनाइ छ ।

सडक ठप्प भएपछि अलपत्र परेका यात्रु तथा सवारी साधन गन्तव्यतर्फ लाग्न थालेको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो । काठमाडौँ, पोखरादेखि पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम र रोल्पा जाने सवारी साधान पनि सडकमा रोकिएका थिए ।

यता पहिरोले अवरुद्ध बनेको कालिगण्डकी कोरिडोर अहिलेसम्म सञ्चालनमा आएको छैन । मङ्गलबार कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा माथिदेखि खसेको लेदोसहितको पहिरोले सडक पूर्णरुपमा ठप्प भएको थियो । अहिले बागलुङ नगरपालिकाको डोजर प्रयोग गरेर सडक खुलाउने प्रयास गरेको केसीले जानकारी दिनुभयो ।

प्रकाशित : १८ आश्विन २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह