Logo

विकास / पूर्वाधार

देशभर यस वर्ष सात सय ३१ झोलुङ्गे पुल निर्माण गरिने


GDP नेपाल
   २६ आश्विन २०८०, शुक्रबार


देशभरमा यस वर्ष सात सय ३१ पुलको निर्माण गरिने भएको छ । यीमध्ये कतिपय गत वर्षका निर्माणाधीन झोलुङ्गे पुलका योजना रहेको र कतिपय अहिले थप भएका रहेका स्थानीय पूर्वाधार विभागले जनाएको छ । पुराना सम्पन्न हुने र नयाँ योजना थपिँदै जानु नियमित नै हुने विभागका प्रवक्ता महेशचन्द्र न्यौपानेले बताउनुभयो । 

गत वर्ष सात सय ४१ को निमार्ण पूरा भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । गतवर्ष सात सय २० निर्माण गर्ने लक्ष्य लिइएकामा त्योभन्दा २१ बढी पुल सम्पन्न भएका थिए । सङ्घ, प्रदेश र स्थानीय सरकारबाट सम्पन्न भएका थिए । प्रदेश र स्थानीय तहबाट पुल निर्माणका लागि पनि सहजीकरण भने सङ्घीय सरकारले गर्दै आएको छ । 

गत वर्षहरुमै सुरु भएका धेरै पुलहरु रहेकामा तीमध्ये सात सय २० सकिन्छ भन्ने भए पनि त्यसमा बढी भएको प्रवक्ता न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “समग्रमा झोलुङ्गे पुलको प्रगति राम्रो रहेको छ ।” अहिलेसम्म कम्तीमा प्रत्येक घण्टामा झोलुङ्गे पुल वा पुल हुने गरी निर्माण गरिरहेको उहाँले बताउनुभयो । सरकारले एक घण्टाको फेरो (पैदल यात्रा गर्ने दूरी) मा झोलुङ्गे पुल हुनुपर्ने मापदण्ड परिवर्तन गरेर अहिले आधा–घण्टामा हुने गरी बनाउन लागेको छ । नागरिकले सजिलै र छिटो सेवासुविधा पाउनुपर्ने मान्यताका आधारमा गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलेको मापदण्डानुसार नै अझै केही बनाउन बाँकी छ ।”

सरकारले खासगरी ग्रामीण क्षेत्रमा नागरिकलाई नदी पार गर्नका लागि झोलुङ्गे पुल निर्माण गरिरहेको छ । सडकको सुविधा नपुगेको वा पुगे पनि तत्काल सडक पुल निर्माणको सम्भावना नरहेको ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेको छ । नागरिकलाई आवतजावतका लागि बनाइएका दुर्गम स्थानका कतिपय पुल पछिल्लो समयमा पर्यटन प्रवद्र्धनको माध्यमसमेत बन्दै गएको पाइएको छ । 

विगतमा नदी वारपार गर्न धेरै नदीमा तुइनको प्रयोग हुने गरेको थियो । सरकारले तुइन विस्थापित गरेर पहिले तुइन भएको सबै ठाउँहरुमा झोलुङ्गे पुलको निर्माण गरिसकेको छ । कतिपय स्थानमा व्यक्तिगत रुपमा सामान ओसार्न तुइन रहेको भए पनि नागरिकले ओहोरदोहोर गर्न तुइन चढ्नुपर्ने बाध्यता भने अहिले छैन । 

प्रकाशित : २६ आश्विन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह