Logo

Uncategorized

मोदी भ्रमण: एक तिर दुई निशाना


appharu
   २७ बैशाख २०७५, बिहिबार


टिप्पणी : मोदीलाई स्वागत गर्न एमाले र मधेशवादी दल एउटै जुवामा नारिएका छन् ।

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण राजनीतिक वृत्तमा यतिबेला हटकेक बनेको छ ।
मोदीको आगमन नेपालको औपचारिक निम्तोबिना भएको र आफैंले मिति तय गरेर सरकारलाई त्यसको व्यवस्थापन मात्र गर्न दिल्लीबाट निर्देशन आएकाले यसलाई राष्ट्रिय स्वभामिान र सार्वोभौमिकतामाथिको प्रहार ठान्नेहरुको पनि कमी छैन ।

तर, अतिथि देवो भवः को संस्कृतिमा हुर्किएका नेपालीका लागि मोदीको स्वागत सत्कार गर्नुमा कुनै ठूलो आपत्ति छैन र त्यसमा पनि भूपरिवेष्ठित नेपालको दैनिक जीवनयापनका लागि भारतको बाटोमै भर पर्नुपर्ने भएकाले उनको भ्रमण आग्रहलाई अस्वीकार गर्ने त कुरै भएन ।

मोदीको भ्रमण घरको मूलढोकाबाट नभइ जस्केलाबाट हुँदैछ । अर्थात उनी काठमाडौंबाट नभइ जनकपुरबाट भ्रमण सुरु गर्दैछन् । धार्मिक पृष्ठभूमिका मोदीले धार्मिक हिसाबले मात्र पहिलो भ्रमणका लागि जनकपुर रोजेको भएसम्म त ठिकै मान्न सकिन्थ्यो तर निश्चय नै यसमा उनको नियत सफा देखिँदैन ।

प्रदेश २ अर्थात एक मधेश एक प्रदेशमा अघोषित रुपमा भारतीय प्रभाव खुला सत्य हो । यो प्रदेशमा भारतले जसलाई चाह्यो उसैले चुनाव जिताउन र हराउनसक्ने सामथ्र्य राख्छ । विगतमा महन्थ ठाकुरदेखि यसपटक बिमलेन्द्र निधिसम्मलाई भारतीयहरुकै रुचिमा हराइएको तथ्य जगजाहेर छ । तर, भारतसँग सम्बन्ध बिगार्दा झनै प्रत्युत्पादक हुनसक्ने भन्दै दुवै नेता भारतबाट आफूलाई टाढा राख्न सक्दैनन् ।

हो, यही प्रदेशको राजधानी जनकपुरमा मोदी नागरिक अभिनन्दनसहित नेपाल भ्रमणको सुरुवात गर्दैछन् । मोदीको स्वागतका लागि भारतका कुनै पनि सहरमा हुनेभन्दा ठूलो तयारी जनकपुरमै भइरहेको छ । यसका लागि महिना दिनदेखि मुख्यमन्त्री लालबाबु राउतमात्र नभइ सबै मधेशी नेताले जनकपुर छाडेका छैनन् । राजेन्द्र महतो आफैं झाडु लिएर सडकमा निस्केको त धेरैले देखेकै छन् ।

मोदीको यसरी सुरु हुने भ्रमणले सबैभन्दा रक्षात्मक भने नेकपा एमालेलाई बनाइदिएको छ । वाम गठबन्धन गर्दै झन्डै दुईतिहाईको सरकार बनाइसकेका केपी ओलीले विगतमा निकै चर्का राष्ट्रबादका कुरा गरे पनि अहिले उनी स्वयं लाचार बनिसकेका छन् ।

जनकपुर, काठमाडौं र मुक्तिनाथमा हुने मोदीको नागरिक अभिनन्दनले ओलीको लोकप्रियताको ग्राफ ह्वात्तै शून्यमा झारिदिएको छ । त्यसै पनि समृद्धिका गफमात्र दिने तर काम भने नगर्ने अल्छी नेताका रुपमा चित्रित हुँदै गर्दा ओलीले नेपालको विकास साझेदार भारतलाई बनाउन खोजेको अभिव्यक्तिलाई सबैले कलाबिहीन हास्यरसका रुपमा मात्र हेरेका छन् ।

नेपाली जनताले आफ्ना लागि आफैं संविधान बनाएरको र भारतको रुचिबमोजिम संशोधन गर्न नमानेको आरोपमा नेपालीलाई ६ महिनासम्म नाकाबन्दीको सजाय दिने मोदीलाई २ वर्षमै अभिनन्दन गर्नुपर्ने कारणबारे ओली सरकारले कुनै जवाफ दिन सकेको छैन ।
संयोग पनि कस्तो भने नाकाबन्दीको अढाइ वर्षसम्म यसबारेमा चुइँक्क नबोलेको नेपाली कांग्रेसले पहिलोपटक भारतीय नाकाबन्दीप्रति आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीमा दस्तावेजीकरण गरेको २ साता नबित्दै मोदी नेपाल आएर नागरिक अभिनन्दन पाउँदैछन् ।

यसरी मोदी भ्रमणले नेकपा एमालेको राष्ट्रबादको गहिराई त नापेको छ नै, सँगसँगै एमाले र मधेशी दलहरुबीचको खाडल पनि पुरेको छ ।
मोदीलाई स्वागत गर्न एमाले र मधेशवादी दल एउटै जुवामा नारिएका छन् । यससँगै कांग्रेस र भारतको दूरी झनै बढेको छ भने एमालेले ५ वर्षलाई ढुक्कले भारतकै छत्रछायाँमा शासन गर्न सक्ने देखिएको छ ।

प्रकाशित : २७ बैशाख २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह