विराटनगर । मोरङ व्यापार संघको आयोजना आज शुक्रबारदेखि विराटनगरमा ट्रेड एक्स्पो–२०२३ व्यापार मेला सुरु हुँदैछ । एक्स्पो ११ दिनसम्म सञ्चालन हुनेछ ।
विराटनगर–२ शंकरपुरमा आयोजना हुने एक्स्पोको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ । एक्स्पोमा कृषिजन्य उत्पादन, पर्यटन, हस्तकला, अटोमोबाइल र औद्योगिक प्रदर्शनी हुने आयोजकले जनाएको छ ।
एक्सपोमा जर्मन प्रविधिमा निर्मित ह्यांगरमा २४० वटा स्टल रहने ब्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए ।
एक्स्पो आयोजना गर्न करिब ४ करोड खर्च हुने र १० दिनमा १५ करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको आयोजकको भनाइ छ ।
एक्स्पोलाई ५ लाखभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । प्रदेशका कृषि उत्पादन, अन्तरप्रादेशिक व्यापार संभावना र सेवालाई अन्तरराष्ट्रिय बजारसम्म विस्तार गर्ने एक्स्पोको लक्ष्य छ ।
एक्स्पोले आर्थिक क्षेत्रमा ऊर्जा दिने अपेक्षा गरिएको उल्लेख गर्दै रिजालले स्वदेशी र विदेशी उत्पादनहरुको व्यापार आकर्षण बढाउने उद्देश्यले एक्स्पोलाई क्रिसमस र अंग्रेजी नयाँ वर्षको फेस्टिभल मुभमेन्टका रुपमा पनि आयोजना गरेको बताए ।
संघका निवर्तमान अध्यक्ष प्रकाश मुण्दडाले एक्स्पोले शिथिल अवस्थामा रहेको सुनसरी मोरङ औद्योगिक क्षेत्र चलायमान बनाउने अपेक्षा पनि गरिएको बताए । एक्स्पोलाई शिथिल अर्थतन्त्रले कुनै प्रभाव नपारेको भन्दै उनले एक्स्पोमा औद्योगिक उत्पादन, कृषि उत्पादन, सवारी साधन, व्यापारीक साधन र घरेलु वस्तुको उल्लेख्य कारोबार हुने अपेक्षा रहेको बताए ।
महोत्सवमा २०० वटा स्टल राख्ने तयारी गरेकोमा औद्योगिक र व्यापारिक घरानाको माग बढेसँगै ४० वटा स्टल थप गरिएको एक्स्पोका संयोजक अनिल साहले बताए ।
एक्स्पोमा स्वदेशी औद्योगिक र कृषि उत्पादनसहित भारत, बंगलादेश र पाकिस्तानका औद्योगिक उत्पादनको प्रदर्शनी हुने बताइएको छ । पाकिस्तानको लेदर उद्योग, बंगलादेशको गार्मेन्ट उद्योग, भारतको कृषि उद्योग र नेपालको हिमाल, पहाड र तराईको औद्योगिक उत्पादनको सामान एक्स्पो स्टलबाट ५ देखि १० प्रतिशतसम्म छुटमा बिक्री हुने जनाइएको छ ।
प्रतिक्रिया