Logo

बिजनेस होम

जग्गा हदबन्दीको व्यवस्था हटाउनु पर्ने अध्यक्ष मल्लको भनाइ


GDP नेपाल
   १३ पुस २०८०, शुक्रबार


काठमाडौँको भृकुटीमण्डपमा आठौं रियल इस्टेट एक्स्पो सुरु भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरी सो मेलाको उद्घाटन गर्दै संघबाट प्रकाशित “आवास स्मारिका—२०८०”नामक स्मारिकाको विमोचन गरेकी छन् ।

सो अवसरमा मन्त्री चौधरीले घरजग्गा मेलाले आगामी दिनमा घरजग्गा कारोबार र विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पुग्न गई अर्थतन्त्र चलायमान बनाउन समेत सहयोग पुग्ने बताइन् ।उनले सबै सरोकारवाला तथा सहभागीहरुको सामुहिक प्रयास, समर्पण, समन्वय र सहयोगबाट आयोजित सो एक्स्पोले मुलुकको रियल इस्टेट क्षेत्रमा अपार सम्भावना रहेको पुष्टि गरेको उल्लेख गरिन् ।

सोही क्रममा मन्त्री चौधरीले भू-उपयोग ऐन, २०७६ लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नेपाल सरकारबाट जारी भएको भू-उपयोग नियमावली, २०७९ मा पहिलो संशोधन गरी कित्ताकाट प्रकृयालाई सहजीकरण गरिएकोले यसले रियल ईस्टेट क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्ने बताइन् ।

कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास संघका वरिष्ठ उपाध्यक्ष दीपक कुँवरले मेलाका अवलोकनकर्ताहरुले नेपालमा घर जग्गाको क्षेत्रमा के-कस्ता घर तथा घडेरीहरु विकास भएका छन् भन्ने करा प्रत्यक्ष रुपमा बुझ्न सक्ने बताए । उनीहरुले जग्गा व्यवसायीहरुले निर्माण गरेका घरहरु सुरक्षित छन्/छैनन् र त्यस्ता घरघडेरीहरु के कति मूल्यमा कसरी खरीद-विक्री गर्न सकिन्छ भन्ने सम्बन्धमा पनि थप जानकारी लिनसक्ने कुँवरले जनाए ।

सो अवसरमा कार्यक्रमका विशेष अतिथि तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मेला सफलताको शुभकामना दिँदै नेपालमा हाल विद्यमान रहेको जग्गा हदबन्दीको व्यवस्थालाई हटाईनु पर्ने माग राखे । उनले देशको अर्थतन्त्र चलायमान भई लगानीमैत्री वातावरण सिर्जना गर्न रियल इस्टेट व्यवसायमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी जोखिम भारको व्यवस्थालाई सत प्रतिशत नै कायम गर्नुपर्ने जनाए ।

यस्तै, कार्यक्रमका विशेष अतिथि तथा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले सरकारले जग्गाको कित्ताकाट खुलाएर अर्थतन्त्र थप सहज बनाएता पनि अर्थतन्त्रलाई चलायमान बनाउन थप सुविधाहरु दिनु पर्नेमा जोड दिए ।

सो अवसरमा कार्यक्रमका सभापति एवं नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले समारोहमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै मेलामा प्रदर्शकहरुले घर घडेरीका नवीनतम् उत्पादनहरु प्रदर्शन गर्ने र उपभोक्ता तथा अवलोकनकर्ताले नेपाली रियल इस्टेट व्यवसायको वास्तविक स्थिति, यसका उत्पादनको सही छनोट तथा समुचित मूल्यका बारेमा जानकारी प्राप्त गर्ने बताए ।

धमलाका अनुसार कम्तीमा ६५ हजार भन्दा बढी दर्शकहरुले मेलाको अवलोकन गर्ने अपेक्षा राखिएको छ । मेलामा ६० भन्दा बढी स्टलहरु रहेका छन् ।

प्रकाशित : १३ पुस २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह